वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा


वैदिक र आधुनिक विज्ञानबारे तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसन, नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर र महर्षि फाउन्डेसन फर वैदिक इन्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वानको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वैदिक र आधुनिक विज्ञानबारे छलफल हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।

सम्मेलनमा वेदलाई आधुनिक विज्ञानले प्रमाणित गरेका सन्दर्भमा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ ।
कार्यक्रममा विश्वशान्तिका लागि योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट पर्ने प्रभावबारे वैज्ञानिक रूपमा गरिएको अध्ययनबारे प्रस्तुतिसहित छलफल गरिनेछ । विश्वशान्तिका लागि हाल नेपालका ७५ गुरुकुलमा वैदिक रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउन्डेसनले जनाएको छ ।

वैदिक गुरु परम्पराबाट आएको यो ज्ञानको पछिल्लोपटक महर्षि महेश योगीले विश्वव्यापी रूपमा जागरण गरेकोले महर्षिका नाममा संस्था स्थापना गरी गतिविधि भइरहेको जनाइएको छ । हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ ।