रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन

रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन


रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौँ महानगरपालिकाले तोकेका तीन जना जनप्रतिनिधि रहने जनाइएको छ ।

प्राधिकरणले तोकेका सम्बन्धित विषयका तीन जना विज्ञ प्रा डा प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की र काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार सदस्य थिए ।

प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख समितिको सदस्यसचिव हुनेछन् । समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ ।

पुनःनिर्माणका लागि सुझाव दिने, गुणस्तर हेर्ने, आवश्यक सहयोग पु¥याउने र काममा देखापरेका समस्याको समाधान गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई आवश्यकताअनुसार उपसमिति गठन गरी पुनःनिर्माणलाई अगाडि बढाउने अख्तियारी छ । समितिले पुनःनिर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन तथा नीतिगत व्यवस्थाका लागि प्राधिकरणलाई अनुरोध गर्न सक्नेछ ।

समितिको बुधबार पहिलो बैठक बस्यो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विशेष आमन्त्रितका रुपमा सहभागी थिए । रानीपोखरीको तल्लो भाग एवं पर्खाल निर्माण गर्दा कालीमाटी, बालुवा र इँटाजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गर्ने, उपभोक्ता समिति गठन गरी सिफारिश गर्न महानगरपालिकालाई पत्राचार गर्ने निर्णय भएको छ ।