प्रभावकारी बन्दै ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम

प्रभावकारी बन्दै ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम


पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् । बाध्य भएर जगमतीले नजिकैको दलित प्राथमिक विद्यालयमा उनलाई भर्ना गराइन् ।

बबुनीलाई पढ्ने हौसला दिलाइदिएको हो प्रदेश २ को सरकारले ल्याएको प्रभावकारी कार्यक्रम ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले । यो कार्यक्रमले बबुनी मात्र होइन पश्चिमी पर्साको ग्रामीण क्षेत्रका अधिकांश छात्रा यो कार्यक्रमबाट आकर्षित भएकाले सामुदायिक विद्यालयमा छात्राको संख्या बढ्दै गएको हो ।

सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित दलित प्राथमिक विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । दुई सय २१ विद्यार्थीमध्ये ११२ दलित छात्रा नै छन् । चमार, मुसहर, मुस्लिम, कानु, समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा चमार जातिका छात्राको संख्या बढी छ ।

प्रदेश २ को सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी–पढाऊ’ कार्यक्रमकै प्रभावका कारण विद्यालयमा छोराभन्दा छोरीको संख्या बढ्दै गएको हो । महुवनस्थित दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक जदुप्रसाद साहले भने, ‘३ देखि १३ वर्ष उमेरसम्मका विद्यार्थी रहेको यो विद्यालयमा छात्राको संख्या बढ्दै गएकाले कक्षाकोठाको अभाव भएको छ ।’

शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांकअनुसार जिल्लामा रहेको सामुदायिक विद्यालयमा छात्रभन्दा १० प्रतिशत बढी छात्रा छन् । जिल्लाका १ देखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९५ हजार २३६ विद्यार्थी रहेकामा सोमध्ये छात्राको संख्या ५२ हजार ४६७ छ भने छात्रको संख्या ४२ हजार ७६६ छ ।

‘दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनपछि गठन भएको प्रदेश सरकारले ल्याएको योजनामध्ये यो योजना प्रदेश २ मा प्रभावकारी बन्दै गएका कारण यहाँका सामुदायिक विद्यालयमा छात्राको संख्या बढ्दै गएको हो,’ सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका समाजसेवी कमलेशप्रसाद कलवारले भने ।
पश्चिमी पर्साको भारतीय सीमा सिक्टासँग जोडिएको छिपहरमाई गाउँपालिका– ५ भिस्वा बजारमा रहेको कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने मंगल माविमा करिब एक हजार दुई सय विद्यार्थी रहेकामा ६० प्रतिशत छात्राको संख्या छ । ‘सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढ्नाको कारण बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमको प्रभावकारिता नै भएको प्रधानाध्यापक शिवशंकर सिंहको भनाइ छ ।

‘विगतमा चेतनाको अभाव, छोरीलाई पढाउनुहुन्न भन्ने सोच तथा छोरीप्रति गरिने भेदभावका कारण कतिपय अभिभावकले आफ्ना छोरीलाई शिक्षाको अवसरबाट वञ्चित गराउँथे,’ वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका बुद्धिजीवी शेषमन पण्डित भन्नुहुन्छ, ‘देश संघीयतामा गइसकेपछि र प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमको प्रभावले अहिले सबैले छोरीलाई पढाउन थालेका हुन् ।’

सामुदायिक विद्यालयमा स्थानीय सरकारले निःशुल्क शिक्षा दिनाका साथै खाजा दिने र छात्रवृत्तिसमेत दिने गरेकाले छात्राको शिक्षाप्रति आकर्षण बढ्दै गएको सम्बन्धित निकायको भनाइ छ । छोरालाई निजी विद्यालयमा पढाउने, तर छोरीलाई पढाउँदा बढी दाइजो दिनुपर्ने संकीर्ण मानसिकताले ग्रस्त समाजले छोरीलाई पढाउनबाट हिचकिचाउने गरेकामा अहिले छोरी शिक्षाप्रति आकर्षण हुनु चेतनाकै प्रभाव भएको शिक्षाविदको भनाइ छ । पर्सामा ३६३ सामुदायिक छन् ।

वीरेन्द्र कर्ण (रासस)