पुस्तकप्रेमीहरूको दृष्टि पुग्नैपर्ने ‘बुकग्रास्प’

पुस्तकप्रेमीहरूको दृष्टि पुग्नैपर्ने ‘बुकग्रास्प’


कुनै पनि पुस्तकप्रेमीको हातमा कुनै नयाँ पुस्तक परेपछि स्वभावतः उसमा पुस्तकको मूल विषयवस्तु तथा त्यसभित्रका महत्वपूर्ण पङ्क्तिबारे जान्ने उत्सुकता जाग्न सक्छ । मन परेको कितावको बारेमा पाठक पूर्ण विवरण लिन चाहन्छ । तर, उसँग समयको अभाव हुनसक्छ जसले गर्दा उक्त पुस्तकमा भएका महत्वपूर्ण ज्ञान लिन या जान्नबाट उ वञ्चित हुन पुग्छ ।

पुस्तकप्रेमीहरूको यही समस्यालाई मनन गर्दै सफ्टवेयर डेभलोपर सिद्धार्थ सुवेदीले ‘बुक ग्रास्प’ (www.bookgrasp.com) नामको आकर्षक एवम् ज्ञानवर्द्धक वेभसाइट सञ्चालनमा ल्याएका छन् ।

सेन्ट जेभियर्स कलेजबाट इन्फर्मेसन म्यानेजमेन्टमा ब्याचलर गरेका सिद्धार्थले सूचना प्रविधिसम्बन्धी विधाहरूमा सिर्जनात्मक प्रतिभा प्रदर्शनका साथै विभिन्न कम्पनीमा आवद्ध रही टेक्निकल कन्सङिल्ट, वेव डेभलोपर लगायतमा विशेष अनुभव हासिल गरेका छन् भने हाल त्रिविमा एमबीए–आईटी अध्ययनरत छन् । आइटीसम्बन्धी ज्ञानलाई पुस्तकप्रेमीको सेवामा समेत प्रयोग गर्ने सोचबाट प्रेरित भई आफूले ‘बुक ग्रास्प’को अवधारणा अघिसारेको उनको भनाई छ ।

वास्तविक पाठकले पुस्तकको प्राक्कथन/भूमिका तथा लेखकीय अभिव्यक्तिको अध्ययन गरेर मात्र पुस्तकभित्र प्रवेश गर्नुको तात्पर्य पनि सम्बन्धित पुस्तकको ‘गुदी’ बुझ्न खोज्नु नै हो भन्ने तर्क अघि सार्दै सिद्धार्थ भन्छन्– ‘पुस्तकप्रेमी यस्तै पाठकहरूलाई लक्षित गरी विश्वप्रसिद्ध विभिन्न कितावका महत्वपूर्ण वाक्यहरू सङ्कलन गरेर मैले अनलाइन वेवसाइट ‘बुक ग्रास्प’ प्रस्तुत गरेको छु । यस वेवसाइटले नयाँ पुस्तक पढ्न इच्छुक व्यक्तिलाई आफूले चाहेको किताव कस्तो होला भन्ने जिज्ञासा मेटाइदिनुका साथै पढिसकेकालाई त्यस पुस्तकको सार वाक्यहरू हेरेर पुनः कथामा डुबाइदिने अपेक्षा गरिएको छ । र, यसलाई म ‘बुक इन्साइडर’ भन्न रूचाउँछु ।’

थप प्रष्टिकरण दिँदै उनले भने– ‘मेरो यो प्रयासबाट जुनसुकै पाठकलाई पनि पुस्तकको शीर्षक या सारांश हेर्ने वित्तिकै यसभित्र के–के महत्वपूर्ण कुराहरू रहेछन् भन्ने कुराको स्वतः जानकारी हुने हुँदा सम्बन्धित पाठकले आफ्नो आवश्यकताका विषयलाई लिएर रोजेको पुस्तक अध्ययन गर्न सक्छ, जसबाट उसको समय पनि बचत हुन्छ र ज्ञान आर्जन गर्ने अन्तरहृदयको चाहना पनि पूर्ति हुन्छ ।’

एक प्रतिभाशाली तथा उत्साही युवाले कितावप्रेमी पाठकको सहजताको लागि प्रस्तुत गरेको वेवसाइट तपाईंको निम्ति कति उपयोगी हुन सक्छ– एकपटक नियाल्ने कि ?

http://www.bookgrasp.com