अज्ञात समूहद्वारा मुक्त हलियाका घर तोडफोड

अज्ञात समूहद्वारा मुक्त हलियाका घर तोडफोड


कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काइदिएको छ ।

निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी रु. १० लाखभन्दा बढीको क्षति पुऱ्याइएको छ । तीमध्ये सातवटा घर पूर्ण रूपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउन जडान गरिएका ६ वटा नल पनि चोरी भएका छन् । निर्माण हुँदै गरेका ६ वटा घरका झ्यालसमेत चोरी भएको छ ।

भूमिसुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनर्स्थापन गराउन प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि रु. दुई लाख २५ हजार उपलब्ध गराएको थियो ।

‘कार्यालयले पुनर्स्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँटा, नल र झ्याल चोरी गरेर लगेको छ,’ मुक्त हलिया गणेश सुनारले भने, ‘घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पुऱ्याएपछि बिचल्लीमा परेका छौँ ।’ ‘पुनस्र्थापन हुन पाउँदा निकै खुसी थियौँ,’ उनले भने, ‘बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने चिन्ता थपिएको छ ।’

निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा बिहीबार लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताए । प्रहरीले घर भत्काउनेको खोजी गरी कारबाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए । अज्ञात समूहले भत्काएका घरको नगरप्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।