सोलुखुम्बुमा भारी हिमपात, जनजीवन कष्टकर, यातायात अवरुद्ध, हवाई सेवा ठप्प

सोलुखुम्बुमा भारी हिमपात, जनजीवन कष्टकर, यातायात अवरुद्ध, हवाई सेवा ठप्प


सोलुखुम्बुमा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करिब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो ।

जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करिब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रज बास्तोलाले बताए । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो तापेर समय बिताइरहेका छन् ।

हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढाकेको छ भने सल्लेरीलगायतको क्षेत्रमा हिउँ खेल्नेहरूको चहलपहल पनि बाक्लिएको छ । बिहीबार बिहान करिब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रत्यक्षदर्शी प्रेमबहादुर बस्नेतले बताए । सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा करिब १० इञ्चभन्दा बढी हिउँ जमेको छ ।

जनजीवन कष्टकर

निरन्तर भएको भारी हिमपातको कारण सडक यातायातदेखि पैदलयात्रीसमेतलाई समस्या भएको छ । अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिए । ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्लाबाहिरका लागि छुटेको जिप तथा अन्य सवारीसाधन सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन् ।

जिल्ला भित्रिने अधिकांश सवारीसाधन ओखलढुंगाको ठाडेभन्दा यता कट्न सकेका छैनन् । सडकको विभिन्न क्षेत्रमा बस तथा जिपहरू फसेर बसेका छन् । फसेको सवारीसाधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इन्चार्ज चौधरीले बताए ।

हवाई सेवा ठप्प

सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा चिनिएको सोलुखुम्बुमा बिहीबार कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुईवटा मात्रै सञ्चालनमा रहेका छन् । सञ्चालित विमानस्थलमा हिउँ जम्नाका साथै मौसम प्रतिकूलताको कारण उडान तथा अवतरण हुन नसकेको हो ।