मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जली

मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जली


ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्त रूपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौँ सर्वसाधारण लामबद्ध रहेका छन् ।