अवैध सुन बोक्ने र मोटरसाइकल चोरी गर्ने पक्राउ

अवैध सुन बोक्ने र मोटरसाइकल चोरी गर्ने पक्राउ


महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चारजनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु. सात लाख ५१ हजार ९ सय ३५ मूल्यबराबरको २४९ ग्राम र रानासँग रु. पाँच लाख २६ हजार १८५ मूल्यबराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिइन् । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्यान्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गंगाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो ।

तामाङले बा.९८प ५०८६ नम्बरको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा.६५प ५६४० नम्बरको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।