शैक्षिक क्षेत्रमा परिवर्तनको खाँचो छ : वरिष्ठ नेता खनाल

शैक्षिक क्षेत्रमा परिवर्तनको खाँचो छ : वरिष्ठ नेता खनाल


नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको शैक्षिक क्षेत्रमा परिवर्तनको खाँचो रहेको औंल्याएका छन् । डल्लु छाउनी स्थित रेन्वो इन्टरनेशनल बोर्डिङ माध्यामिक विद्यालयको रजत महोत्सवको अवसरमा बोल्दै बरिष्ठ नेता खनालले नयाँ संविधान निर्माणपछि अब देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत नयाँ ढंगले परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

नेता खनालले १०/१० वर्ष लगाएर मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन आफुहरु सफल भएको भन्दै अब आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक विकासका लागि सबैले आ–आफ्ना क्षेत्रबाट सघाउनुपर्नेमा जोड दिए । मुलुकको शैक्षिक क्षेत्रलाई पनि गुणस्तरयुक्त बनाउन जरुरी रहेको भन्दै उनले त्यसका लागि भर्खरै उच्चस्तरीय शिक्षा आयोग गठन गरेर त्यसले प्रतिवेदन दिएको बताए । ‘अब त्यसमा छलफल गरेर कसरी मुलुकको शिक्षालाई आधुनिक शिक्षाका रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भएका छौं ।’ उनले भने ।

कार्यक्रममा पूर्वमन्त्री नविन्द्रराज जोशीले रेन्बो स्कुलले २५ वर्ष देखि शिक्षामा ठूलो योगदान दिएको चर्चा गर्दै अभिभावक र विद्यालय विचको समन्वय भएमा समग्र शिक्षाको गुणस्तर वृद्धि हुने बताए । उता, नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा.लेखनाथ शर्माले अब विद्यालय शिक्षादेखि नै ‘आइटी’ लाई प्रयोगमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका पूर्व प्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनालले रेन्बोको २५ वर्षको सफलतामा अभिभावक, शिक्षक र विद्यार्थी बीचको सहकार्यको परिणाम भएको चर्चा गदै राज्यले शिक्षा नीतिमा परिमार्जन गरि युवा शक्ति विदेश पलायन हुन बाट रोकी देशमा नै रोजगारी र सेवामा समर्पित हुने अवस्था सिर्जना गर्नु पर्ने धारणा राखे ।

सो अवसरमा विद्यार्थीहरुको विभिन्न कला प्रस्तुती देखाएका थिए । शैक्षिक एवम् अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो भने २०७४ का एसइइ परीक्षामा उत्कृष्ठ अंक ल्याउने नेपाल प्रथम छात्रा सिरपा महजर्नलाई सम्मान पत्र र नगद सहित पुरस्कृत गरिएको थियो ।