कौशलटारको एक फर्निचर उद्योगमा भीषण आगलागी

कौशलटारको एक फर्निचर उद्योगमा भीषण आगलागी


मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा रहेको एक फर्निचर तथा काष्ठ उद्योगमा भीषण आगलागी भएको छ । स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई आगो लागेको जनाइएको छ ।

गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे बल्ल नियन्त्रणमा ल्याइएको छ । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचरमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार फर्निचर उद्योगमा करिब रु ६ करोड बराबरको क्षति भएको छ । उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएका छन् । सो आगलागीबाट फर्नचर शो(रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडालगायत सबै सामग्री जलेका छन् ।

आगलागीबाट श्रेष्ठ बस्दै आएको घरमा तथा सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालित मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा समेत केही क्षति पुगेको पुगेको जनाइएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी ६ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे मात्र आगो नियन्त्रणमा लिन सकिएको थियो ।