महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन


महाशिवरात्रिका अवसरमा सोमबार दिउँसो २ बजेसम्म तीन लाखभन्दा बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष विगतभन्दा दर्शनार्थीको संख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भिड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा ६ घन्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । चाबहिलचोकबाट लाम बसेको ६ घन्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको बालाजुबाट आएका लोकेश थापाले गुनासो गरे ।

कोषले ६ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ । मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भिड देखिन्छ ।

मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती संघलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन् ।

आज रातिसम्म ११ लाखभन्दा बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिंगलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ ।