चालु आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत मात्रै खर्च


  • छविलाल बगाले

चालु आर्थिक बर्षको ६ महिनामा कु्ल बजेटको ३५ प्रतिशत खर्च गरिसक्ने सरकारी प्रयास सफल हुन सकेन । दुई तिहाईको सरकार हुँदा पनि अपेक्षा गरिएअनुरुपको खर्च नभएको अर्थमन्त्रालयले स्विकार गरेको छ । १३ खर्ब १५ अर्बको बजेटको आकार ल्याएको सरकारले अर्धबार्षिक समीक्षा अवधिमा २८ प्रतिशतमात्रै खर्च गर्नुले सरकारको कार्य क्षमतामा प्रश्न उठेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ को ६ महिनमा कुल बजेटको ३५ प्रतिशत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर सरकारले ६ महिनाको अवधिमा २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ । जुन लक्ष्यको ७ प्रतिशतले कम हो । गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ मात्र खर्च भएको अर्थमन्त्री यूवराज खतिवडा बताउँछन् । स्थायी सरकार, काम गर्ने सहज वातावरण र कमजोर प्रतिपक्ष रहँदा पनि सरकारले बजेट खर्च गर्न नसक्नु सरकारकै कमजोरीको विषय बनेको छ । तर सरकारले बजेट खर्चको अवस्था निराशाजनक रहे पनि आर्थिक वर्षको अन्त्यसम्म ९१ दशमलव २ प्रतिशत बजेट खर्च हुने दावी गरेको छ । यसमा पनि पुँजीगत खर्चको अवस्था भने निराशाजनक छ ।

११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान

चालु आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अर्थमन्त्रालयको अनुमान छ । जुन कुल विनियोजित बजेटकोे तुलनामा ९१ दशमलव २ प्रतिशत मात्रै हो । सरकारले चालु आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरेको थियो । जसमध्ये चालुतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड, पूँजीगततर्फ २ खर्ब ६५ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ४४ करोड खर्च हुने अनुमान छ । बजेटको मध्यावधि समिक्षा अवधिमा पूँजीगततर्फको खर्च ५५ अर्ब ५२ करोड रुपैयाँ भएको छ भने संघतर्फको राजस्व संकलन ४ खर्ब २ अर्ब ४५ करोड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि भएको हो । सरकारले चालु आर्थिक बर्षमा ७ प्रतिशतमाथि आर्थिक बृद्धिदर हुने लक्ष्य लिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलापले उच्च आर्थिक वृद्धिका लागि आधारशीला निर्माण भइरहेको अर्थमन्त्रालयको दावी पनि छ । समिक्षा अवधिमा कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको अर्थमन्त्रालयले जनाएको छ । प्रदेशहरूलाई वित्तीय हस्तान्तरणअन्तर्गत ३७ अर्ब २९ करोड रुपैयाँ निकासा भएकोमा ११ अर्ब ४६ करोड रुपैयाँ अर्थात ३०.७ प्रतिशत खर्च भएको अर्थसचिव डा. राजन खनालले जानकारी दिए ।

आर्थिक वृद्धि ७-८ प्रतिशतसम्म पुग्ने अनुमान

चालु आर्थिक वर्षको बजेट बक्तव्यमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य छ । मन्त्री खतिवडाले पनि सरकारले ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताउँदै आएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा ८८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेकोमा हालसम्म २४.९ प्रतिशत अर्थात २२ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको सो अवसरमा जानकारी दिइयो । गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय विमानस्थल, उत्तरदक्षिण कोसी लोकमार्ग, र कालिगण्डकी करिडोरको प्रगति उत्साहजनक देखिएको अर्थले जनाएको छ ।

वजेट कार्यन्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेपनि सो पुरा नहुने देखिएको हो । राष्ट्रिय योजना आयोगले ६.९ प्रतिशत हारहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।