–छविलाल बगाले
मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको ८० प्रतिशत योगदान छ । तर, घरेलु उद्योगलाई राज्यले कम महत्वमा राखेको गुनासो उत्तिकै छ । मुलुकभर संचालनमा आएका साढे ३ लाख उद्योगले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्ने हो भने बाह्य मुलुकसँगको १२ खर्ब बराबरको व्यापार घाटा कम हुनेछ ।
भृकुटीमण्डपमा जारी १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा भोजपुरका पूर्णबहादुर विश्वकर्मा, दाङकी प्रेमकुमारी पुन, ललितपुरका अस्तमान महर्जन र काठमाडौं नयाँ बजारका मिलनविर मालाकार आफ्ना घरेलु उत्पादनको प्रचारमा छन् ।

लोप हुँदै गएको भोजपुरे खुकुरीको प्रचारमा रहेका भोजपुरका युवा उद्यमी पूर्णबहादुर विश्वकर्मा आफ्ना बाजेको बिरासतलाई जोगाउन चहान्छन् । सबैको रोजाईमा परेको अल्लोको कपडामै जीवन देखेकी दाङकी महिला उद्यमी प्रेमकुमारी पुनलाई पनि मेलामा भ्याईनभ्याई छ । अवलोकनका लागि आएका दर्शकहरुको रोजाईमा पनि अल्लोबाट बनेका कपडा नै पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामै बसेर एलोभेरा खेती गरी ‘वाइन’ उत्पादन गर्दै आएका गोदावरीका अष्टमान महर्जन सस्तो र अन्यभन्दा फरक अर्गानिक उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने बताउँछन् ।
काठमाडौं नयाँबजारमा नेपाली कपडा उत्पादन गर्दै आएका युवा उद्यमी मिलनबिर मालाकारले औद्योगिक व्यापार मेलामा वास्तविक नेपालीपनको पहिचान दिएका छन् । यि त केही प्रतिनिधि पात्रमात्रै हुन् । मेलामा भएका २ सय १० स्टलमा स्वदेशी उद्यमीले तयार पारेका नयाँ–नयाँ वस्तुलाई सजाइएको छ । राज्यले लघु उद्यमको क्षेत्रलाई बेवास्ता गरेपनि नेपालको अर्थतन्त्रमा ८० प्रतिशत योगदान घरेलु तथा साना उद्योगको छ । अहिले पनि २ लाख ६३ हजार साना तथा घरेलु उद्योगहरु संचालनमा छन् । मेलामा उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगका उत्पादन, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल छन् । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा हस्तकलाका सामान, नेपालमै उत्पादन भएका तयारी पोशाक, विभिन्न महिला उद्यमीले उत्पादनका गरेका खाद्य सामाग्री राखिएका छन् । बंगलादेशमा बनेको साडी र तयारी पोशाक छन् । चीनमा उत्पादन भएको भाँडाकुडा र चकलेट राखिएका छन् ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योग मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न थालिएको बताउँछन् ।
मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । यही घाटालाई न्युनिकरण गर्न पनि सरकारले अर्थतन्त्रमा योगदान दिने घरेलु उद्योगलाई संरक्षण गर्नु आवश्यक छ ।
प्रतिक्रिया