बागमती आयोजनाको ‘वेट टेष्ट’ सुरु, १५ दिनपछि व्यावसायिक उत्पादन

बागमती आयोजनाको ‘वेट टेष्ट’ सुरु, १५ दिनपछि व्यावसायिक उत्पादन


जडित क्षमता २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आगामी १५ दिनपछि व्यावसायिक उत्पादन थाल्ने योजनाअनुरुप आयोजनाको संरचना तथा उपकरण परीक्षण सुरु भएको हो ।

आयोजना प्रवद्र्धक कम्पनी माण्डु हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आवासीय इन्जिनियर रत्न बम्जनका अनुसार विद्युत उत्पादन गर्न आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षणको काम सुरु भइरहेको छ । ‘सुरुङमा पानी भरेर ‘वेट टेष्ट’ थालिएको छ । उनले भने, ‘सिभिल संरचना र उपकरण परीक्षण गर्न २४ घण्टाको समय लाग्छ । आगामी १५ दिन परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिन्छौं ।’

१५ दिनको परीक्षणपछि आयोजनाले व्यवसायीक उत्पादन सुरु गर्ने आयोजनाको योजना छ । तीन वर्षमा पूरा भएको यो आयोजना २०७२ जेठबाट निर्माण सुरु भएको थियो । ‘गत असारबाटै विद्युत उत्पादन गर्ने तालिका थियो तर निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) का कारण काम आयोजना प्रभावित हुँदा उत्पादन अवधि लम्बिन पुगेको हो ।’ इन्जिनियर बम्जनले भने, ‘आयोजनाबाट उत्पादन भएको विद्युत साढे १३ किलोमिटर दुरीको कुलेखानी सबस्टेसनमा जोडिनेछ ।’

४ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यस आयोजनामा प्राइम बैंकको अगुवाईमा ११ बैंकको ऋण लगानी छ । आयोजनाका अनुसार कुल लागतको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।