मधेसमा अर्के राजनीति– विनोद त्रिपाठी

मधेसमा अर्के राजनीति– विनोद त्रिपाठी


Binod Tripathiयतिबेला मधेसमा धान रोप्नको चटारो छ । मकै लगाएको खेतमा भर्खर धान रोपाइँ चल्दै छ । आधाजसोमा रोपाइँ सकियो । बारा, पर्सा, महोत्तरी, सिराहा, सर्लाही, सप्तरी, सुनसरी, मोरङलगायत मध्य तथा पूर्वीतराईमा वर्षभरि खेतीपातीका लागि व्यस्तता चल्छ । मौसमअनुकूलको बाली लगाउन सधैंभरि यहाँका नागरिक बेफुर्सदी हुन्छन् । खासगरी, ग्रामीण क्षेत्रमा सम्पूर्ण रूपमा कृषि पेसामा आश्रित परिवार छन् । व्यावसायिक र ठूलो परिणाममा खेती गर्नेहरू बजार इलाकामा बसोबास भएको पाइन्छ ।
रिक्सा चलाउनेदेखि तरकारी बोकेर बजार ल्याउनेसम्मका लागि देशमा के भइरहेको छ, खासै पत्तो छैन । बजारिया राजनीति खेतीतर्फ उनीहरूले ध्यान पु-याउन सकेका छैनन् । भाषा, धर्म, शासनभन्दा उनीहरूको पेसाप्रतिको माया अगाध छ । राजनीति त बजारमा बस्नेले मात्र गर्ने हो भन्ने धेरैलाई लाग्दोरहेछ । अहिलेसम्म कतिपटक कैयौँ दलहरूका आन्दोलन भए, ती सबैमा यिनहरूको सहभागिता छ । तर, चेतनामा भयमिश्रित शून्यता छ । कुनै पनि पार्टीप्रति निष्ठा देखिँदैनन् । उनीहरू आफ्ने पेसामा इमानदार छन् । धेरै कालखण्डमा मधेसलाई केन्द्रित गरेर आन्दोलन र कार्यक्रम गरिए । तर पनि चेतनाको स्तर र जीवनयापन उस्तै छ । ग्रामीण क्षेत्रमा अधिकांश घरमा शौचालय भेटिँदैन । शौचालय भएका घरमा पनि बाहिरै शौच गर्ने परम्परा कायमै छ । हरेक दलले गर्ने कार्यक्रममा एउटै व्यक्ति सहभागी हुने काइदा यहाँ नौलो होइन । गाउँमा यो दल ठीक वा बेठीक भन्ने कसैले जान्दैनन् । सबै दलले केही गर्ने होइनन् भन्ने उनीहरूको अनुहारमा पढ्न सकिन्छ । शिक्षाको चेतनामा बढोत्तरी देखिँदैन । सडक र बजार क्षेत्रमा महिला र केटीको उपस्थिति शून्यप्रायः छ । सामाजिक वा मनोरञ्जन क्षेत्रमा पुरुषको मात्र पकड छ । तर पनि यहाँका क्षेत्रीयवादी दलहरूले मधेसको अधिकारका नाममा राजनीति गर्न छोडेका छैनन् । राजनीति भनेको पार्टी कार्यालयमा मात्र सीमित छ । चोक–चोकमा खेतीपाती र मौसमकै चर्चा चल्छ । कोही जान्ने बनेर राजनीतिक गफ निकाल्न थाल्यो भने चोक रित्तिहाल्छ । जानैपर्ने र अनिवार्य सहभागी हुनुपर्ने दलहरूका दबाबमूलक कार्यक्रममा बाहेक मधेसी सर्वसाधारणलाई राजनीतिप्रति मोह शून्य देखिन्छ । केही टाठाबाठाको लहलहैमा लाग्नेहरू सोझै नेताको पहुँचमा पुग्दारहेछन् । गैरकानुनी काम गर्ने परिपाटीको सूत्रपात यही सोर्सफोर्सबाट चल्दोरहेछ । पहाडीभन्दा मधेसी सुरक्षाकर्मीको उपस्थिति पछिल्ला दिनहरूमा बढेको छ । घरेलु हिंसाजन्य मुद्दामा प्रहरीलाई भ्याइनभ्याई छ । महिलाका लागि खुला समाजको परिकल्पना सपनाजस्तै छ यहाँ । सामाजिक वा राजनीतिक क्षेत्रमा एकाध घरबाट बाहिर निस्केका महिला सदरमुकाम वा राजधानीमा मात्र सीमित छन् । बाहिरबाट सर्सर्ती हेर्दा पूरै मधेसभरि पुरुषको मात्र बसोवास हो कि भन्ने लाग्छ । घरबाहिरको संसार पूरै पुरुष नियन्त्रित छ । घरभित्रको सानो संसार पनि पुरुषकै पकडमा अड्केको छ । यो मधेसको सामान्य चित्रणभित्र घुसेको मधेसको राजनीतिले झन्–झन् यहाँको सामाजिक वातावरण साँघुरो बनाइदिएको छ । राजतन्त्रका बेला राजाहरूको सवारीमा घरबाहिर निस्कने महिलाले पनि त्यो अवसर अहिले गुमाइसकेका रहेछन् । हुलदङ्गा, मारपिट चल्ने भएकाले कुनै दलको कार्यक्रममा पनि महिला सहभागिता शून्य हुँदोरहेछ । पहाडी समुदायका एकाध महिलाबाहेक मधेसी महिलाको अनुहार कुनै कार्यक्रममा देख्न पाइँदैन । पछिल्लो राजनीतिले मधेसलाई सङ्कीर्ण घेरा झन् फराकिलो बनाइदिएको रहेछ । हरेक महिनाजसो चल्ने क्षेत्रीयवादी दलहरूको आन्दोलनले मधेसका युवा घरमै बस्न छोडेको यथार्थता रहेछ । पैसाका लागि मात्र होइन, अस्थिर मधेसको सामाजिक अवस्थाप्रति हरेक परिवार हैरान रहेछन् । जसरी पैसाका लागि पहाडी युवा बिदेसिएका छन्, विद्रोह र आन्दोलन सदावहार भइरहेकाले मधेसी युवा बिदेसिने क्रम निकै बढेको रहेछ ।
स्वतन्त्रता र सुरक्षाकै चिन्ता
संविधानको प्रारम्भिक मस्यौदामा केहीले मधेसको जनजीवनको स्वतन्त्रता र सुरक्षाका विषयमा सुझाव दिएका रहेछन् । क्षेत्रीयवादी दलहरूको अवरोधका बाबजुद पनि दिइएको यस्ता सुझाव दिनेहरूमा मधेसी शिक्षित युवाहरूको जमात बढी थियो । तर, यी युवाहरू कुनै पार्टीमा आबद्ध थिएनन् । अशिक्षाबाट पिल्सिएका ग्रामीण भेगका जनतालाई जीविकोपार्जनको ठूलो समस्या छ । ०६२ देखि चुलिएको मधेस राजनीतिमा यहाँका नागरिक वाक्क भइसकेका रहेछन् । स्वतन्त्रता सामाजिक परिवेशमा आधारित छ । सुरक्षा राष्ट्रिय राजनीतिसँग जोडिएको छ । यो तर्कका आधारमा क्षेत्रीयवादी दलहरूको राजनीति चल्दोरहेछ यहाँ । यहाँको जनजीवन र नागरिकको चाहना ठूला सहर र राजधानी बसेर मधेसको राजनीतिलाई विश्लेषण गर्नेहरूको तर्कविपरीत छ ।
सबै महिला परम्परावादी सामाजिक सत्ताबाहिर निस्कन चाहन्छन् । पहाडी महिलाको जस्तै स्वतन्त्रता खोजेका छन् । सुख, दुःख, मनोरञ्जन, पेसा आदिमा पुरुषकै समदूरीमा रहन चाहन्छन् । उनीहरूको अनुहारबाट यो स्पष्ट झल्किन्छ । स्वतन्त्रता र सुरक्षा पाए भने मधेसी महिलाले यहाँको समाजलाई सुन्दर बनाउने क्षमता पनि राख्छन् । सीके राउतले पहाडी महिलाप्रति बारम्बार लगाएको घृणित आरोपमा मधेसी महिलाको आक्रोश फैलिएको रहेछ । आफ्ना महिलालाई चुलोचौकोबाहिर निस्कन नदिने र अरूको स्वतन्त्रतामा कुदृष्टि लगाउने सीके राउत मधेसको सबैभन्दा अभिशाप भएको यहाँका धेरै महिलाको बुझाइ रहेछ । यो कुरा यहाँका पुरुषले महिलाको स्वर्णीम भावनालाई बुझ्न सकेका रहेनछन् । राजनीति गर्नेहरूको दादागिरी खुवै चल्दोरहेछ । सामाजिक प्रतिष्ठामा उभिएका घरानाका छोरीहरू काठमाडौं बसेर अध्ययन गर्दारहेछन् । विपन्न घरका छोरीहरू सानैमा विवाहको सिकार हुँदारहेछन् । स्कुल वा कलेजमा निकै कम देखिन्छन् छात्रा । त्यो पनि अधिकांश पहाडी मूलका मधेसीहरूका मात्रै । मधेसी शिक्षिका शून्य नै छ । हरेक शैक्षिक संस्थामा गजबले राजनीति चल्दोरहेछ । केहीले काङ्ग्रेस र एमालेलाई काठमाडौंका पार्टी भन्दारहेछन् । फोरम, सद्भावनालगायतका कार्यकर्ताले काङ्ग्रेस, एमाले र माओवादीलाई पहाडीयाहरूको पार्टी भनेर चित्रण गर्दारहेछन् । वैद्य र विप्लव माओवादीको उपस्थिति अति न्यून छ ।
सर्वसाधारण मधेसीलाई पहाडीयासँगको घुलमिल निकै प्यारो लाग्दोरहेछ । तर, यसलाई छेक्ने काम अहिलेको राजनीतिले सुरु गरिसकेको छ । यो कित्ताकाटबाट सर्वसाधारण नै पिल्सिने खतरा देखिएको छ । एकातिर कष्टपूर्ण जनजीवन, अर्कोतिर चर्को राजनीतिक दबाबबाट मधेसी सर्वसाधारण झन्झन् पिरोलिएका छन् । सामान्त र जमिनदारी प्रथा उस्तै छ । काठमाडौंबाट मधेसको राजनीति गर्नेहरूले स्थानीय कार्यकर्तालाई अन्धभक्त बनाइदिएका रहेछन् । विरोध वा समर्थनमा आक्रोश र उत्तेजित मात्र देखिन्छ । यो कुनै मधेसमा राज्यको विभेदकारी व्यवहारले होइन मधेसकै राजनीतिको सिकाइ परिणाम हो । यस्तै राजनीति सिकाइ र भोगाइले अन्ततः मधेसी महत्वपूर्ण जनशक्ति बाहिरिने निश्चितजस्तै छ । यसले मधेसको विकास र जनजीवनको स्वतन्त्रतालाई झन् खुम्च्याउनेछ । क्षेत्रीयवादी दलहरूले राजनीतिलाई आफ्नै अनुकूल बनाउँदा सर्वसाधारणको दैनिकी झन् प्रतिकूल बन्दै गएको छ । काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा नेपाल, राप्रपालगायतका दलहरूप्रति सर्वसाधारण मौन छन् । तर, मधेसी क्षेत्रीयवादी दलका कार्यकर्ता शत्रुतापूर्ण रूपमा प्रशिक्षित बनेका रहेछन् । यसको मुख्य कारण राजधानीबाट चल्ने गरेको राजनीति र मधेसका नाममा जारी हुने गरेका बुद्धिजीवीहरूका विश्लेषणका शब्दहरू हो । विकास, समृद्धि, स्वतन्त्रता र सुरक्षालाई क्षेत्रीयवादी दलहरूले ढक्कन बन्द गरेर थन्क्याइदिएका रहेछन् । हरेक मौसममा आफ्नै अनुकूल राजनीतिक खेती गर्न क्षेत्रीयवादी दलहरूले गजबको तरिका अपनाउने गर्छन् । यो गरिबी र सामाजिक उत्पीडनमा खेल्न राजधानीको राजनीतिले ठूलो अवसर पाएको रहेछ ।