सेयरमा सात अंकको गिरावट

सेयरमा सात अंकको गिरावट


पछिल्ला दिनमा ओरालो लाग्दै आएको सेयर बजार बिहीबार पनि करिब सात अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.८६ बिन्दुले घटेर एक हजार १४०.६० बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.४७ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कुल १७१ कम्पनीको नौ लाख ४७ हजार ७२६ कित्ता सेयर २७ करोड २४ लाख ९४ हजार ५६५ रुपैयाँमा खरिद–बिक्री भएका छन् ।

कारोबार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर घटेको छ । होटेल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बिमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बिमा ६१.७६ बिन्दुले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड चार लाख ४२ हजार ९७० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर एक करोड ८२ लाख ९० हजार ८८०, सिटिजन बैंकको ९६ लाख ८७ हजार ६०३, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडको ९३ लाख ६५ हजार ४३१, एनआईसी एसिया बैंकको ८८ लाख सात हजार ८७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, सांग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।

यसैगरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् ।