सडक-पूजा गर्दै प्रधानमन्त्रीले भने- ‘वितण्डा र अशान्तिको युग समाप्त भयो’

सडक-पूजा गर्दै प्रधानमन्त्रीले भने- ‘वितण्डा र अशान्तिको युग समाप्त भयो’


प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको दाबी गरेका छन् । पूर्व–पश्चिम राजमार्ग नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको शुक्रबार बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्यसले देशलाई आधुनिकतामा लैजाने उल्लेख गर्दै सबैतिर सन्तुलन मिलाएर विकास निर्माणको काम तीव्र बनाइने धारणा अघिसारे ।

विकासका कुरामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिसम्बन्धी सन्दर्भ जोड्दै उनले भने– ‘कसैलाई बम पड्काउने, मान्छे मार्ने, अशान्ति मच्चाउने काम गर्ने सोचेको छ भने बन्द गर्नुपर्छ, त्यसैले बम पड्काउनेलाई निषेध गरिएको छ । कसैले यस्ता गलत काम गर्छ भने कानूनअनुसार कारवाही हुन्छ ।’

rss

प्रधानमन्त्री ओलीले लुम्बिनीको बृहत्तर हितलाई ध्यान राखेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको जानकारी दिँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुनुपर्ने छैन भन्नुभयो । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरू आउने विश्वास व्यक्त गरे ।

लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताउँदै उनले भैरहवा–लुम्बिनी–तिलौराकोटसम्मको सडक विस्तारका लागि काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने– ‘राजमार्गदेखि लुम्बिनी पुग्ने सडक पनि फराकिला बनाउन आवश्यक छ काम थाल्नुस् ।’

उनले शिलान्यास गरिएको पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड मात्र नभएर अब सबैतिर नै विस्तार र स्तरोन्नतिको काम अघि बढाइने बताउँदै भन्नुभयो, ‘सबै सडकलाई विस्तार र स्तरीय बनाइन्छ, विसं २०८० सम्मको वर्ष निर्माणकै वर्ष हुनेछ ।’

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पनि वर्तमान सरकार स्थापनापछि मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक रूपमा वृद्धि भएकाले यो विकास र समृद्धिको सम्भावना देखिएको दाबी गरेका थिए ।

बुटवल नारायणगढ सडकखण्डमा मर्मतसम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने सम्झौता गरिएको छ । उक्त सडकखण्ड हाल दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइनेछ । सडकको दुई-दुई लेनको बीचको भागमा हरियाली बनाउने गरी योजना नक्साङ्कन गरिएको छ । सडकको मानव बस्ती भएको क्षेत्रमा भने सर्भिस लेनसहित ६ लेनको र जङ्गल क्षेत्रमा चार लेनको हुने बताइएको छ ।