एक हजार चार सय व्यवसायमा अनुगमन

एक हजार चार सय व्यवसायमा अनुगमन


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आर्थिक बर्षमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ ।

साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताए । उनका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्वलगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु समयमा समेत नियमितरूपमा अनुगमन गरिँदै आएको उनले बताए । ‘हामीले कति जना र कस्ता/कस्ता व्यक्तिको टोली बनाएर अनुगमन गर्ने भन्ने भित्रीरूपमा छलफल गर्छौँ’, उनले भने, ‘समय र व्यवसायको गर्ने भन्ने सूचना दिँदा व्यवसायी सजग बन्न सक्छन् ।’

नेपालको संविधान, २०७२ ले तीन तहलाई नै बजार अनुगमनको अधिकार दिएको निर्देशक महतले बताए । उनका अनुसार गत असोजमा जारी भएको उपभोक्ता संरक्षण ऐनले भने ‘अनुगमन अधिकृत’ ले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले ‘उपभोक्ता संरक्षण नियमावली’ मस्यौदा बनाइरहेको छ । यो नियमावली बनेपछि त्यसले नै तीन तहले कसरी अनुगमन गर्ने भन्ने टुङ्ग्याउने उनले बताए ।

उनले भने, ‘नियमावलीकै आधारमा सबै स्थानीय तहले अनुगमन, निरीक्षण र कमजोरी पाइएमा जरिवाना सजाय गर्न सक्नेछन् ।’ नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारवाहीसमेत गरिसकेको छ ।