कृति–समीक्षा
‘नेपाल प्रकृतिको सर्वोत्तम सृष्टि हो । त्यसैले यो सुन्दर छ । संसारको सबभन्दा उँचो शिर सगरमाथादेखि पूर्व–पश्चिम हिमशृङ्खला अर्थात् हिमाली माला छ । हरिया–परिया महाभारत पहाड पर्वतहरू छन् । हिमनदी, महानदी, नदीनाला, झर्ना, खोला, खोल्साहरू छन् । अविरल गतिमा झर्नाहरू झरेर, महानदी–नदीहरू बहेर मानव जातिलाई नै लोभ्याउने, जगाउने गर्दछन् । पहाडबीचबीच समथर भूमिहरू, भित्री मधेस तथा तराई–मधेसजस्ता फाँटहरूले दाना, माना, खाना दिएर नेपालीलाई शक्ति प्रदान गरिरहेका छन् ।
यो सबै शक्ति छँदाछँदै पनि नेपाली जनमानसमा आमजनता गरिब छन् । उनीहरूले गरिबी भोग्नुपरिरहेको छ । समाजका ठूलाठाला सामन्त, भूमिपति, धनपति, राजनीतिक पार्टीहरू, नेताहरू, सत्ताधारीहरू, ठूला–ठूला पद, सङ्घसंस्था, सङ्गठन, निगम आदिमा बसेका जिम्मेवार पदाधिकारी, कर्मचारीहरू, स्थानीय स्तरका नेतृत्व वर्ग, ठालुहरू, सम्पन्नशाली धनीहरू आफूले नेपाल र नेपालीलाई खाएर कमाएको सम्पत्ति लुकाएर निष्क्रिय पार्छन्, दुरुपयोग गर्छन् जसमध्ये ‘क’ स्तरकाहरूले त देशभित्र नराखेर नेपालका आँखा छल्न विदेश लगिराख्छन् । यीमध्ये धेरैजसो उद्योगपति, व्यापार–व्यवसायीहरू (जनसमाजलाई चुसी करसम्म नतिरी भ्याटका नक्कली बिल बनाएर राष्ट्रलाई नै ठगी गर्नेहरू)ले पनि यहाँको धन–पैसा विदेशमै लगी राख्दछन् । विदेशमा उद्योगधन्दा खोली बस्छन् । यसो हुँदा नेपाल राष्ट्रको प्राकृतिक तथा मानवीय साधन, स्रोत, सम्पत्ति यी दुवैस्तरका धनीवर्गको लागि उपयोग भइरहेको छ– नेपाली जनसमाजलाई होइन ।
माथिका पङ्क्ति हुन् सुब सेनका । सुब सेन अर्थात् सूर्यबहादुर सेन ओली, जो आफ्नो अलग शैलीयुक्त प्रभावशाली प्रशासकीय भूमिकाका लागि मात्र कहलिएका नभई एक समाजसेवी व्यक्तित्वका साथै सिद्धहस्त लेखकका रूपमा समेत त्यत्तिकै ख्यातिप्राप्त छन् । देशभक्तिलाई मन–मुटुमा राखेर लेख, रचना तथा साहित्य सिर्जना गर्न पोख्त र आफ्ना लेखनीमार्फत राष्ट्रप्रेमको भाव जगाउनसक्षम यिनै सर्जकको नयाँ कृति ‘नेपालवाद’ हालै प्रकाशनमा आएको छ ।
इतिहासको कालखण्डदेखि हाम्रो देशमा चलिआएको राजनीति, सरकार, सत्ताधारीहरूबाट जनतामाथि भएका शोषण, विभेद, गैरन्यायिक शासकीय प्रवृत्तिपीडित देश र जनतालाई मुक्ति, न्यायपूर्ण हक–अधिकार दिलाउनका लागि लेखकको निरन्तर प्रयत्न तथा अध्ययन, अनुभवबाट निष्कर्षको रूपमा निस्केको नेपालवादी विचारको खँदिलो पुस्तक–कृति हो ‘नेपालवाद’ । यात्रा स्मरण, उपन्यास, कथासङ्ग्रह, कवितासङ्ग्रह, काव्य, इतिहास, अनुसन्धान आदि अनेक विधामा दर्जनौँ पुस्तक प्रकाशन र अन्य सयौँ फुटकर लेख–रचनामार्फत नेपाली साहित्य फाँटमा दर्बिलो उपस्थिति जनाइसकेका सुब सेन आफूलाई राष्ट्रको रक्षा र जनताको न्यायको लागि लेख्ने, बोल्ने, बहस गर्ने देश तथा देशवासीको एक अधिवक्ताको रूपमा चिनाउन चाहन्छन् । पछिल्लो कृति ‘नेपालवाद’मार्फत साँच्चै उनी देश र देशवासीको सच्चा अधिवक्ताकै रूपमा सतिसालझैँ उभिन पुगेको आभास हुन्छ ।
इतिहासदेखि वर्तमानसम्मका राजनीतिक अवस्थाको चित्रण सङ्क्षिप्त तर सरल र प्रस्ट रूपमा गर्नुका साथै मुलुकका आर्थिक, सामाजिक, सांस्कृतिक एवम् कूटनीतिकलगायत यावत् पक्षसमेतलाई छोएर दुई सय ४२ पृष्ठको पुस्तकमा लेखक सेनले नेपाली मन–मुटुलाई राष्ट्रको पक्षमा तरङ्गित तुल्याउने विचार प्रवाह गरिदिएका छन् । नेपाली जनतालाई देशभित्र सुरक्षित, उन्नत र बलशाली बनाउनु र समयानुसार सकारात्मक परिवर्तन गर्दै गएर नेपाल राष्ट्रकै भविष्यलाई अरू बढी सुरक्षित, बढी उन्नत र बढी शक्तिशाली बनाउँदै जानुपर्छ भन्ने लेखको विचार देशभक्ति, जनमुक्ति र न्यायको पक्षमा महत्वपूर्ण रहेको छ । निजामती सेवामा रहँदा शाखा अधिकृत, भूमि प्रशासक, सहायक अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीशदेखि संविधानसभा सदस्यसम्मको यात्रामा अनेक आयामका अनुभव सँगाल्न पुगेका सुब सेनले ‘नेपालवाद’मार्फत नेपालको प्राकृतिक स्रोत, साधन, सम्पदा र मानवीय सम्पत्तिको संरक्षण एवम् तिनलाई नेपाल र नेपालीको उन्नति–प्रगतिका लागि उपयोग गर्नुपर्ने कुराको चर्को वकालत गरेका छन् । नेपालवादमार्फत सुब सेन जसरी पोखिएका छन्, यसबाट मुलुक गणतन्त्रमा गएपछि पनि राजनीतिक स्थिरता कायम हुन नसकेको, भ्रष्टाचार, व्यभिचार, अत्याचार बढेको यथार्थले लेखकको हृदय पोलेको स्पष्ट अनुभूति गर्न सकिन्छ । पछिल्ला दशकमा नेपालमा घटेका राजनीतिक घटनाक्रमलाई आफ्नो सशक्त तार्किक भावका साथ सचित्र चित्रित गर्नुका साथै यस दूरावस्थाबाट मुक्ति र समुन्नतिको यात्रामा लम्कनका लागि सुयोग्य सुझावहरूसमेत लेखकले पस्किदिएका छन् । जनतालाई शोषण, दमन र अन्यायबाट मुक्ति तथा मानवीय हक, अधिकार, न्याय र अवसरको बन्दोबस्त गरेर मजबुत तुल्याउँदै नेपाल राष्ट्रको सार्वभौमसत्ताको सुरक्षा र राष्ट्रिय एकताप्रति नागरिकलाई जिम्मेवार बनाउनुपर्ने लेखकको अवधारणा तारिफयोग्य छ । आफ्नो मुलुकको समग्र परिवेश बुझेर देशका लागि केही गर्ने अठोट बोकेका युवावर्ग तथा समस्त नेपालीजनका निम्ति ‘नेपालवाद’ एक उपयोगी कृति सावित हुनेमा सन्देह रहन्न ।
– सन्देश शर्मा
प्रतिक्रिया