डा. अनशन के.सी. अर्थात् गोविन्द के.सी.– डा. बालकृष्ण थापा, न्युरोसर्जन

डा. अनशन के.सी. अर्थात् गोविन्द के.सी.– डा. बालकृष्ण थापा, न्युरोसर्जन


bicharहामी सबै आफूलाई सभ्य भन्न भनाउन रुचाउँछौँ । तर, सभ्यता भनेको अरूलाई सम्मान गर्न, अरूलाई अगाडि र आफूलाई पछाडि राख्न जाने पछि सुरु हुन्छ । त्यसैले सभ्य समाजमा ‘क्षमा पाउँ’ र ‘धन्यवाद’ शब्दको प्रयोग अत्यधिक हुने गर्छ । जब मै हुँ सबै, म सबभन्दा ठूलो, मलाई पहिला र मलाई मात्र भन्ने चिज अगाडि आउँछ त्यो समाज अचेत समाज हो त्यसका नेतृत्वदायीहरू मूर्ख हुन् । असल समाज त्यो हो जहाँबाट खराब पनि असल बनेर निस्कन्छ ।
सवाल अनशन केसी अर्थात् डा. गोविन्द केसीको हो । भारतमा भ्र्रष्टाचारविरुद्धमा अन्ना हजारेले एकपटक अनशन बसे । समग्र भारतमा यसको प्रभाव प-यो । प्रत्येक पार्टी र सरकारहरू तत्काल परिचालित भए, प्रण गरे, उनको अनशन रोकियो, जति हुनुपर्ने भएन, तर प्रक्रिया अघि बढ्यो उनले फेरि अनहन बस्न परेन । भारत उच्च विकसित देश त होइन । हाम्रैजस्तो अवस्था भएको देश हो ।
गोविन्द केसी पहिलोपटक अनशन बसे । यो देशमा राम्रो थिति भएन । मेडिकल शिक्षा प्रणाली बनेन, व्यापारीपन बढ्यो, सेवा भन्ने रहेन, यस्तो तरिकाले उत्पादित जनशक्तिले स्वास्थ्य प्रवद्र्धन गर्दैन यसलाई राज्यले छाडा छोड्न भएन भनेर । देशमा कतिवटा मेडिकल कलेज चाहिने हो तय गर्नुप-यो जथाभावी खोल्न भएन, पुरानो मेडिकल कलेज महाराजगञ्जलाई मेडिकल विश्वविद्यालय बनाउनुप-यो भने । तत्कालीन सरकारले उनको माग सम्बोधन गर्छु भन्यो उनले अनशन तोडे । पछौटे र पिछलग्गु संस्कारको सिकार भएका हाम्रा नेतृत्वहरूले यसप्रति ध्यान दिएनन्, उनी पुनः अनशन बसे । मेडिकल एसोसिएसनको समर्थनमा फेरि सरकार वार्ता गर्न, माग पूरा गर्न राजी भयो । उनले थपे विश्व विद्यालय, कलेज सङ्घसंस्थामा राजनीतिक कार्यकर्तालाई भीसी, रजिस्ट्रार, रेक्टर, डिन, क्याम्पसचिफ बनाउन भएन । भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुप-यो । सरकार राजी भयो केसीले अनशन तोडे । फेरि सरकार चुपै बस्यो । केसीले भने फेरि अनशन बस्ने दोहो-याए । सदनमा र सरकारमा केसीको विरुद्ध जेहाद छेडियो । केसीलाई मार्नेसम्मको धारणा सुनियो । डनहरू लगाएर धम्क्याउने काम गरियो । उनी अनशन बसे । उनलाई भेट्न म पनि चितवनदेखि गएँ र भने– तपाईंको मागप्रति मेरो पनि समर्थन छ, मेचीको माटो र पानी म महाकालीमा लगेर मिसाउन जाँदै छु, तपाईंको माग अवश्य पूरा हुन्छ किनकि तपाईंले आफ्ना लागि केही माग्नुभएको छैन, योग्य मान्छेलाई चिफ बनाऊ, कार्यकर्तालाई होइन भन्नु कदापि गलत होइन । नभन्दै हामीले मेची र कालीको माटो र पानी मिसाएको तेस्रो दिन सरकारले आयोग बनाउने, माग पूरा गर्ने सहमति ग-यो, अनशन तोडियो । फेरि केसी अनशनमा छन् । उनको अहिलेको प्रमुख माग भनेको केदारभक्त माथेमाको प्रतिवेदन कार्यान्वयन गर भन्ने हो । तर, आफ्ना केही स्वार्थ र केही रकम प्राप्तिका लागि जनस्वास्थ्य र राष्ट्रलाई धरौटी राख्ने प्रकृतिका विधायकहरूसमेत रहेको यो देशमा दीर्घकालीन सोच, स्वस्थ प्रतिस्पर्धा र असल कामको आश त के नै गर्न सकिएला र । तै पनि कोही पनि नबोलेको मनका कुरा नखोलेको वर्तमान अवस्थामा स्वच्छ बहस र छलफल प्रक्रिया अगाडि बढोस् भनेर मैले मुख खोलेको हुँ । कम्तीमा केसीले गरे जति योगदान गरौँ अनि बल्ल केसीको विरोध गर्न लायकको भइन्छ ।
देशमा बेथितिको स्थिति सर्वत्र थियो, जग्गालाई धुजाधुजा पारेर अर्बौं कमाउनेहरूले बैंकहरू डुबाएका थिए । राष्ट्रबैंकले नीतिमा कडाइ ग-यो, आज जग्गा व्यापार घटेको छ, बैँकहरू मर्जरको स्थितिमा पुगेका छन्, तर देशको धरासाशी अर्थनीतिले अलिकति कोल्टे सास फेरेको छ । राज्य कमजोर हुँदा रजाइँ गर्ने थलो बन्छ, राज्य बलियो हुँदा यी सबै घुन पिसिएझैँ पिसिन्छन् । इतिहास साक्षी छ । गर्न चाहे सकिन्छ भन्ने हो ।
माथेमा आयोग सरकारले बनाएको हो । सरकारले म्यान्डेट पनि दिएको हो । प्रतिवेदन तयार गर्ने क्रममा सरकारले आफ्ना केही अप्ठ्याराहरू भएको भए भनेको भए पनि हुन्थ्यो । चिकित्सा शिक्षा क्षेत्रका मूर्धन्यहरू भएको टिमले कतिपय कुरालाई पुनर्विचार पनि गथ्र्यो होला । तर, सार्वजनिक गरिसकेको प्रतिवेदनलाई कार्यान्वयन नगर्नु सरकारको पनि कमजोरी हुन्छ जसको परिणाम सोचेजस्तो नहुन पनि सक्छ । सायद मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन गरिदिएको भए आजको दुर्दशा हामीले भोग्न नपर्ने पनि हुन सक्थ्यो ।
यसै सन्दर्भमा मेरा मित्र डा. हरिश न्यौपानेको लेख र मित्र डा. मधुर बस्नेतको प्रतिक्रिया पनि हेरियो । खाइपाइ आएका सेवा–सुविधामा कटौती होस् भनेर कसैले पनि नचाहनु अनौठो हुँदै होइन । हुन सक्छ आयोगले सरोकारवालाहरूसँग यथेष्ट परामर्श गरेन होला । तर, त्यसको पछाडि जानुभन्दा पनि चिकित्सा शिक्षालाई गुणस्तरीय र सेवामुखी बनाउनुपर्ने कुरामा स्वयम् डा. हरिश न्यौपानेहरू पनि चिन्तित रहेको अवस्था हो । वास्तवमा डा. हरिशको लेखको सार भनेको हिजोको समग्र परिस्थिति, नीति र निर्णयहरूको कारणले आजको विषम परिस्थिति उब्जेको हो र यसकोे निराकरण गर्न कठिन छ, तर गर्नुपर्छ भन्ने हो । यसमा सरकारलाई सरोकारवालाहरूको तर्पmबाट सहयोगी भावना नै उद्धृत गरिएको छ । यही कुरा घुमाएर डा. केसीलाई नराम्रो बनाउन खोज्नेहरू पनि छन् । त्यसो हुन दिनुहुँदैन । डा. केसी अब व्यक्ति होइन, संवाहक प्रवृत्ति भइसके, स्वार्थ होइन सिद्धान्त भइसके ।
डा. केसी र म ०५४–५५ सालतिर बैतडी, दार्चुला, डोटीबाट टनकपुर हुँदै महाकाली ब्यारेजमा पुगेर सँगै आँसु झारेका चिकित्सकहरू हौँ । अझ महाकालीको पानीको बारेमा कुरा गर्दा टनकपुरको होटेलवालाले त्यसको सट्टा हामीलाई धरानमा मेडिकल कलेज दिएको कुरा सुनाउँदा हाम्रा आँसु धेरै झरेका थिए । आमजनसमुदायमा डा. केसीको बारेमा केही गलत फहमीहरू पनि रहेको पाइएको छ । उनीले आजसम्म आप्mना लागि राज्यसँग के–के मागे ? कुनै पद ? कुनै सुविधा ? आलिशान घर ? वा प्राडो पजेरो ? मलाई लाग्छ आज हामी सबै यो भन्न सक्छौँ केही पनि मागेनन् । उनले त केवल राज्य बलियो होस्, मेडिकल शिक्षा नीति आओस्, स्वास्थ्य क्षेत्रको विकृति अन्त्य होस्, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सबैको समान पहुँच पुगोस्, पैसाले होइन बुद्धिले चिकित्सक बन्ने हाम्रो पुरानो संस्कारको पुनरावृत्ति होस् मात्रै भनेका छन् । भ्रष्टाचारीलाई कारबाही होस् भनेर भन्नु के अपराध हो ? काठमाडांैमा मात्र मेडिकल कलेज खोल्नुहुँदैन भन्नु के अन्याय हो ? त्यसो त ०४४ सालमा हामीले जयन्द्र सरस्वती मेडिकल ट्रस्टले पोखरामा खोल्न लागेको पहिलो प्राइभेट मेडिकल कलेजविरुद्ध आन्दोलन छेड्दा आजका गोविन्द केसीलाई सत्तोसराप गर्ने महानुभावहरूले नै हामीलाई साथ दिनुभएको थियो । हामीले तत्कालीन भीसीलाई बौद्धिक रूपमा बुझाएका थियौँ । हामीलाई अर्को आउँछ भन्ने कति पनि डर नभएको पनि सुझाएका हाँै । आज यदि यस्तो गर्नु थियो भने हामीलाई त्यतिखेर किन उरालेको ? मैले अहिले पनि नया मेडिकल कलेज खोल्नुहुँदैन भनेको छैन न त गोविन्द केसीले नै भनेका छन् । कहाँ खोल्ने र किन खोल्ने ? भन्ने प्रश्नहरू पहिले हल हुनुप-यो । एकचोटि खोलिसकेपछि विद्यार्थी फाइनलमा पुगुन्जेलसम्म टिचर नहुने, अध्ययन सामग्री नहुने, अत्यावश्यक सुविधा देख्नै नपाउने स्थिति कतिपय मेडिकल कलेजमा आजसम्म विद्यमान छ भनिन्छ । तर त्यसैको मारमा पूर्वाधार पुगेका राम्रा मेडिकल कलेजहरूलाई .मुछ्न पनि हुँदैन । र पनि यो पक्का हो हामीलाई थप कति डाक्टर चाहिन्छन्, कतिवटा मेडिकल कलेज चाहिन्छ ? बोर्डिङ स्कुल खुल्न नदिए धेरै विद्यार्थी विदेश जाने, रकम बाहिरिने चर्चा चल्थ्यो २०४५–२०४६ तिर । आज सहरगाउँका करिबकरिब घरघरै बोर्डिङ स्कुल चलेका छन् । तैपनि कति विद्यार्थी विदेश पढ्न गएका छन् हामीलाई थाहा छ । एउटा हलो अड्काउने कुरा गरेर राज्य र असल कुरालाई ओझेलमा पार्नुहुँदैन । चिकित्सा शिक्षालाई भन्सार र पैसा कमाउने थलो बनाउनु महापाप हो । यसलाई सेवा गरेर मेवा खाने क्षेत्र बनाउनुपर्छ । मलाई मेरा गुरुहरूले यही सिकाउनुभएको थियो ।
वर्तमान राष्ट्रपति महोदय स्वास्थ्यमन्त्री हुनुभएको बेला मेरो पाँच विकास क्षेत्रमा पाँचवटा मेडिकल कलेज सरकारले खोल्ने र आईओएमलाई विश्वविद्यालय बनाउने लिखित प्रस्तावलाई स्वीकार गरी धेरैपटक सो गर्न उनले कोसिस गरेको कुरा जगजाहेरै छ । र, डा. शशांक कोइरालाको कान्तिपुर लेखको उत्तर आजसम्म कसैले पनि दिएका छैनन् । यो देशलाई कति डाक्टर चाहिने हो । डाक्टर मात्रै भएर पुग्ने हो कि अरू स्वास्थ्यकर्मी पनि चाहिने हो । आईओएमले पारामेडिकलहरू उत्पादन गर्न छोडेपछिका स्वास्थ्यकर्मीको गुणस्तरबारे आजसम्म कसले कतिसम्म अनुगमन नियमन गरेका छन् ? के तिनको स्तरीयता राम्रो छ भनेर भन्ने कुनै निकाय छ ? आफैँले उत्पादन गरेका स्वास्थ्यकर्मीसँग आप्mना आमाबुबा वा परिवार र स्वयम् आफँैलाई उपचार गराउने गण्यमान्य विधायकहरू यो देशमा कति छन् ? छैनन् भने आफू र आप्mनालाई नहुने अरूलाई हुने जातका स्वास्थ्यकर्मी उत्पादन के न्यायोचित हो ? तपाईं–हामीले वर्षौंदेखि उठाउँदै आएका र आफ्नो जीवन उत्सर्ग गरेका लोककल्याणकारी राज्यप्रणाली, सामाजिक न्याय र समुन्नत र सभ्य समाजका अग्रगामी नाराहरू कहाँ पुगे ? गम्भीर भएर सोचिदिनुहुन विनम्र अनुरोध छ ।
सरकारमा रहनेहरूको दीर्घकालीन र राष्ट्रिय सोच नभएकाले कतिपय मेडिकल कलेजलाई पूर्वअनुमति दिएको छ । तिनीहरूको वास्तवमा ठूलो रकम लगानी पनि भएको छ । कतिपयको आधारभूत संरचनाहरू पनि राम्रा छन् । तिनीहरूलाई सरकारले उचित व्यवस्था गरिदिनुपर्छ । सरकारले पूर्वअनुमति किनिदिनुपर्छ । जुन मेडिकल कलेजहरू राजधानी र केही सहरकेन्द्रित ठाउँहरूमा छन् त्यहाँबाट दूरदराजमा सरकारले सुविधासमेत दिएर पठाउनुपर्छ । राज्यले उनीहरूलाई केन्द्रबिन्दुमा राखेर राज्य र जनतालाई अन्याय गर्नुहुँदैन । गोविन्द केसीले उठाउनुभएको माग यहीनेर अड्केको छ । आप्mनो स्वार्थका लागि गोविन्द केसीको अपमान र गलत प्रचार नगराँै । एउटा मान्छे सरकारले गर्नुपर्ने कामका लागि आप्mनो ज्यानको आहुती पटकपटक दिइराखेको छ, हामीसँग अलिकति पनि बुद्धि, विवेक, मानवीय गुण र धर्म केही बाँकी छ र लाज र इमान पनि अलिकति बचेको छ भने अबउप्रान्त गोविन्द केसीहरूले कहिल्यै अनशन बस्नुनपर्ने स्थिति सिर्जना गरौँ । नाजायज स्वार्थ त्यागे त्यो सम्भव पनि छ । एकचोटि घोत्लिएर सोचौँ मरेर जाँदा लाने खालि कात्रो हो त्यसमा कही कतै पनि खल्ती हुँदैन । समयमै ध्यान पुगोस् ।
मानवलाई तह लगाउन मान्छे भए पुग्छ, मान्छेलाई तह लगाउन जनावर चाहिन्छ अनि जनावरलाई तह लगाउन निर्जीव चाहिन्छ । उदाहरणका लागि महात्मा गान्धीले सत्याग्रह गरे, बेलायतीहरूले त्यसको मर्म बुझे, भाव र भावना बुझे, उनीहरूले सम्बोधन गरे । कुनै पनि मान्छेका अगाडि सर्प वा बाघ आओस् त ऊ आफँै किनारा लाग्छ । अनि बाघ वा सर्पलाई आगो देखाउनुस् त ती आफँै किनारा लागेर जान्छन् वा तह लाग्छन् । यदि कानले सुनेर र आँखाले देखेर पनि कोही चेत्दैन, तह लाग्दैन भने उसलाई निर्जीव वस्तु वा चिज लगाउनुप-यो, बुझाउन वा चेताउन भने तपाईं आफैँ सोच्नुस्, ऊ को हो ? के हो ?