को डन, को नेता ?

को डन, को नेता ?


nisedhकतिपय भारतीय सिनेमामा अपराधी र राजनीतिकर्मीहरूबीचको गोप्य साँठगाँठ देखिरहेका नेपाली सर्वसाधारण त्यतिबेला छक्क परे जब गत वर्ष ‘चरी’ उपनाम गरेका ‘डन’ मारिँदा एमालेको सभासद्समेत रहेका पूर्वमन्त्री राजेन्द्र पाण्डेले गाउँ, टोल, सडक या जस्तोतस्तो ठाउँमा होइन संसद्मै तिनलाई मार्नेप्रति आक्रोश व्यक्त गरे । सभासद् पाण्डेको माग चरीलाई इन्काउन्टर गर्ने प्रहरीलाई तत्काल कारबाही गरियोस् भन्ने त थियो नै, आक्रोश हेर्दा यस्तो लाग्थ्यो मानौँ नेकपा एमालेका सङ्घर्षशील, जुझारू र कर्मशील युवाको हत्या भएको छ । जसका कारणले नेताज्यू शोकाकूल र आक्रोसित भएका छन् र उक्त मृत्युले नेकपा एमालेलाई धेरै ठूलो क्षति पु-याएको छ । त्यसअघि एमालेसम्बद्ध कति युवाहरूलाई अनेक कारणले दुःख थियो होला, कतिको ज्यानै गएको पनि थियो होला, तर उनको संवेदनशीलता त्यसरी छचल्किएको देखिएको थिएन ।
हालसालै केही सञ्चारमाध्यमका शीर्षकले मानिसलाई झसङ्ग बनायो जहाँ लेखिएको थियो, ‘कुमार श्रेष्ठ ‘घैँटे’को हत्याको छानबिनको माग गर्दै सभासद् गगन थापा मानवअधिकार आयोगमा ।’ मिडियाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै कतिले भने– होइन होला, गगन थापाजस्तो मान्छे के अघि बढ्थे होला यस्तो कुरामा । गगन थापाको बदनाम गर्नका लागि लेखिएको कुरा हो यो । यसअघि सभासद् तथा नेता जगदीश्वरनरसिंह केसीका भनाइहरू त टेलिभिजनमै हेरिएकाले उहाँका निकट मानिस लाई एकप्रकारको सकस भएकै थियो । त्यतिबेला यो पङ्क्तिकार गोरखामा थिएँ । होटेलको लबीमा टेलिभिजनमा सभासद् जगदीश्वरनरसिंहलाई हेर्दै गरेका एक काङ्ग्रेस युवाले भनेका थिए– हे भगवान्, चुप लागेर बस्नु नि, यिनलाई किन बोल्नुपरेको होला ? हिजो राजेन्द्र पाण्डेलाई यही विषयमा त्यत्रो गाली गरियो, अब आफ्नैले यसो गरेपछि के गरी मुख देखाउने ? चरी मारिएपछि नेता पाण्डेले दिएको अभिव्यक्तिलाई लिएर उनले एउटा कार्यक्रममा सार्वजनिक रूपमै ‘एमाले कोबाट संरक्षित र सञ्चालित रहेछ त्यो त थाहा भइहालियो’ भन्ने टिप्पणी गरेका रहेछन् । केन्द्रीय नेताका क्रियाकलाप र अभिव्यक्तिले जिल्लामा नेता–कार्यकर्तालाई कति असर पारिरहेको हुन्छ भन्ने कुराको उदाहरण पनि हो यो ।
‘गगन थापा घैँटेका लागि मानवअधिकार आयोग गए र नानी ?’ सभासद् थापालाई गगनमै पुगेको हेर्न चाहने एक नातेदारले यसरी नसोधेका भए शायद यो लेखको जन्म हुने थिएन । आफूले ठूलो भरोसा गरेकाहरूको बारेमा विश्वास टुट्ने कुरा सुन्नुपर्दा मानिसलाई कति पीडा हुँदोरहेछ भन्ने कुराको उदाहरण हो यो । गगन थापा अहिलेको पुस्ताका लागि मात्र नभएर पुरानो र भावी पुस्ताका लागि समेत आसलाग्दो नेता हुन् । तर, घैँटे प्रकरणले उनीप्रतिको मानिसको विश्वासमाथि नराम्ररी प्रहार गरेको देखिन्छ । नन्दप्रसाद अधिकारीको मृत्यु हुँदा एक शब्द नबोलेका गगनले घैँटेको मृत्युमा न्यायको लडाइँ लड्नका लागि त्यसरी कोसिस गर्लान् भनेर शायद सोचिएको पनि थिएन । त्यसैले धेरैले अहिले उनीमाथि ‘आखिर किन त ?’ भन्ने प्रश्न तेस्र्याएका छन् ।
कुनै पनि मानिसको गैरन्यायिक हत्या हुन्छ भने राजनीतिकर्मी मात्र होइन सर्वसाधारणले पनि आवाज उठाउनुपर्छ । कानुनी शासन भएको मुलुकमा डन हुन् या अन्य अपराधी, हत्या त हत्याराको पनि गर्न पाइँदैन । तर, यी दुवै मुद्दामा प्रहरीले इन्काउन्टर भनिरहेको, सम्बन्धितहरूले दुःख दिँदादिँदा हैरान बनाएका र नबनाएकाहरूले प्रहरीलाई स्याबासी दिइरहेका बेला सुरक्षा क्षेत्रलाई यस्ता होनहार नेताहरूबाट पनि धन्यवाद आउला कि भन्ने आस हुँदो हो । हुनत, नेताहरूको सरसङ्गतबारे सुरक्षा क्षेत्रलाई प्रायः जानकारी हुन्छ नै । तर पनि विगत केही वर्षयता अपराध र राजनीतिलाई छुट्याउनै नसक्ने गरी कतिपय घटनाहरू अघि बढेका छन् । अपराध गर्नेहरू राजनीतिमा छन् भने राजनीतिमा भएकाहरूले अपराधीहरूको संरक्षण गर्दै हिँड्ने गरेका छन् । नेपालको राजनीतिमा सक्रिय मात्र होइन, मन्त्री नै भएका श्यामसुन्दर गुप्ता अपहरणको गम्भीर मुद्दामा जेलजीवन बिताएर छुट्दा उनलाई गरिएको फूलमाला र अबिरको स्वागत देखेर यो मुलुकमा अपराध गर्नेको बढी इज्जत हुन्छ कि राजनीति गर्नेको ? छुट्याउनै गाह्रो परेको थियो । सभासद्समेत भइसकेका केही व्यक्तिहरू आपराधिक कार्यमा लागेको प्रमाणित भएपछि अहिले जेलमा छन् । उनीहरू छुट्दा पनि अबिर–मालाले स्वागत गरिनेछ र ती फेरि राजनीतिमै फर्कनेछन् भनेर अनुमान गर्न सकिन्छ ।
अपराधको राजनीतीकरण र राजनीतिमा अपराधीकरण अहिले मुलुकका लागि ठूलो चुनौती हो । अपराध गर्नेहरूलाई राजनीतिको खोल ओढाइन्छ, राजनीति गर्नेहरू अपराधीका सारथीझैं बन्छन्, बनेका छन् । सबै उस्तै छन, भन्ने होइन, तर नसोचेका राजनीतिकर्मीहरूको नाम पनि जब अपराध र अपराधीहरूसँग जोडिन्छ त्यसपछि हामीलाई थाहा नभएको मात्रै सबै उस्तै रहेछन् भन्ने महसुस हुन्छ । छिटफुट घटनाबाहेक संस्थागत रूपमै हेर्ने हो भने राजनीतिमा अपराधीकरण माआवादी हिंसात्मक युद्धबाट सुरु भएको हो । आफ्नो अभीष्ट पूरा गर्न हिंसाको सहारा लिने, विपक्षीलाई सफाया गर्ने र आफ्नो झन्डा गाड्ने काम गरेर अपराधलाई संस्थागत गर्ने काम माओवादीबाट भएको थियो । त्यतिबेला माओवादीको कार्यशैली डनगिरीभन्दा कम ठानिएको थिएन । माओवादीकै शैलीबाट प्रभावित भएर हुनुपर्छ, प्रजातन्त्रमा आस्था र विश्वास राख्ने भनिएका दलका कतिपय नेताले पनि डनहरूलाई प्रयोग गरेर आफ्नो इच्छापूर्ति गर्न थालेका थिए, छन् । राजनीतिक संरक्षण पाएपछि पछिल्लो दशकमा डनगिरी नेपालमा एउटा संस्कृतिझैँ बन्दै छ । जसले सङ्गठित अपराधको जग बसाउन मलजल पुग्नेछ । यसक्रममा नेपाल प्रहरीले जुन दायित्व निर्वाह ग-यो त्यसलाई जनताको दृष्टिमा प्रशंसनीय ठानिएको छ । यसका निम्ति एआईजी विज्ञानराज शर्मा र एसएसपी सर्वेन्द्र खनाल धन्यवादका पात्र छन् । आपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरूलाई राजनीतिक संरक्षण रहेको पुष्टि स्वयम् राजनीतिकर्मीहरूबाट हुँदा सम्बन्धित राजनीतिकर्मीको मात्र होइन राजनीतिकै बदनाम भइरहेको छ । राजनीति र डनगिरीबीचको भिन्नता छुट्याउन प्रहरीको कारबाहीले महŒवपूर्ण भूमिका खेल्ने स्पष्ट छ । जबसम्म राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण जारी रहन्छ तबसम्म यो देशका नागरिकले सुरक्षित भएको महसुस गर्न सक्ने छैनन् । त्यसैले यी दुईलाई छुट्याउन राजनीतिमा भएका असल मानिसले प्रयास गर्नु आवश्यक छ ।