डिलमा पुगेको राजनीति– विनोद त्रिपाठी

डिलमा पुगेको राजनीति– विनोद त्रिपाठी


Binod Tripathiएक वर्षअघि लाजिम्पाट पुगेका जनजाति महासङ्घका नेताहरूलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘तपाईंहरूले खोजेकै जातीय पहिचानका राज्य पाउनुहुनेछ ।’ दाहालको भनाइपछि जातीय राज्यको माग राख्नेहरू त्यतिबेला मत्थर भए । प्रमुख दलको अध्यक्षको आश्वासनमा जनजातिले धेरै आशा राखेका थिए । पहिलो संविधानसभाको चुनावमा निकै जोडदारले उठेको मुद्दा थियो, आत्मनिर्णय अधिकार । यो खासगरी, मधेसी दलहरूले राखेका थिए । पछि यो पहाडका जनजातिबीच फैलियो । मुख्यगरी, ठूला दलहरूले मुलुकमा लागू गर्नै नसक्ने आश्वासन देखाएर चुनावमा भोट तान्ने जुन सिलसिला अपनाए त्यो तरिका दलहरूका लागि अहिले सकस भएको छ । तर, दलहरूले देखाएको आश्वासनलाई जनताले पछ्याउने प्रक्रियाको परिणाम वर्तमान राजनीति रफ्तार हो ।
तराईको औलो खपेर नेपालको भूमि जोगाएर बसेका जाति हुन्– थारू । जसलाई तराईमा भूमिपुत्र भनेर चिनिन्छ । पश्चिमको तमु र पूर्वको राई–लिम्बू जसरी ब्रिटिस र भारतीय लाहुरे बन्ने अवसर यिनले पाएनन् । अथवा त्यो हाइफाई जीवनशैलीमा थारूको अग्रसरता देखिएन । विशुद्ध नेपालीत्व पहिचानमा बसेर आफ्नै जमिनको उपयोगलाई थारूले पछ्याए । पहिलो संविधानसभापछि थरुहट प्रदेशको नामकरणमा कसैले पनि जातीय राज्यको दोषारोपण गर्न सकेका थिएनन् । थरुहट प्रदेश कुनै जातीय राज्यको माग पनि थिएन । तर, नामकै आधारमा जातीय राज्यमा रूपान्तरणमा अहिले थरुहटलाई जेलिएको छ । यो जेलिएको विषयलाई देखाएर अन्य जातिले उस्तै प्रकारको मागलाई उछाल्दै छन् । फलस्वरूप मगरातदेखि लिम्बुवानसम्म दर्जनौँ जातीय नामका राज्यका माग उठिरहेका छन् ।
मुलुकमा निजी क्षेत्रको प्रगति उकालोलाग्दो छ । उद्योगमा नागरिकको लगानी बढिरहेको छ । प्रविधिमा नेपालले धेरै फड्को मारिसकेको छ । जनता आर्थिक रूपमा आत्मनिर्भर हुने प्रयास गरिरहेका छन् । हरेक नागरिकले आफ्नै प्रयासमा घर बनाएका छन् । विदेशमा श्रम बेचेर भए पनि परिवार पालेका छन् । तर, सरकारले शिक्षा, स्वास्थ्यमा व्यापारीकरण गरिदिएको छ । विपन्न परिवारले पढ्न र उपचार पाउन सक्ने अवस्था छैन । रोजगारको कुनै अवसर सरकारले अहिलेसम्म दिएको छैन । यो बेथितिमा पनि आफ्नै मिहिनेतले नागरिक स्वनिर्भरउन्मुख बनिरहेका छन् । सबै प्रगतिउन्मुख भइरहेको वर्तमान अवस्थामा राजनीतिक क्षेत्र मात्र डिलमा पुगिसकेको छ । कुन बेला कस्तो दुर्घटना हुने हो राजनीति गर्नेहरूलाई नै अनुमान छैन । निरीह नागरिक त झन् अन्योलमा छन् । सुरक्षित रूपमा केन्द्र भागमा पुगेको राजनीतिलाई दलहरूले घचेट्दै डिलमा पु-याइदिए । अनि भनिदिए– केन्द्रको अधिकार जनतालाई दिन सङ्घीयता लागू गर्न खोजेका हौँ । जताजता दलहरूले राजनीति डो-याए, त्यो डिलसम्म पुगेको छ । अब संविधान निर्माणपछि डिलबाट खस्नेछ । अनि खसिसकेपछि सबैलाई पछुतो लाग्नेबाहेक केही हुनेछैन । सङ्घीयता यो कारणले बेठीक छ अब भन्नै पर्दैन । सङ्घीयता लागू गर्दा के–के खराब हुन्छ भन्न आवश्यक छैन । सुरुवातमा देखाएको यो अवस्थाले सङ्घीयता लागू भएपछि हुने परिणामको गतिलो चित्रण गरिरहेको छ ।
दुई ठूला मुलुकका बीचमा हाम्रो आन्तरिक शक्ति निकै कमजोर छ । आर्थिक अवस्था जर्जर छ । आणविक र हतियारमा हामी शून्य छौँ । विकासमा पछाडि छौँ । शिक्षा, स्वास्थ्य र चेतनामा अति पुछारमा छौँ । परनिर्भरता हटेको छैन । बेरोजगारले विदेशकै शरणमा पर्नुपरेको छ । अनेक सहयोग मागेर देश चलाउनुपरेको छ । जे जति कष्ट झेल्नुपरे पनि शक्तिशाली मुलुकले कमजोर देशभित्र खेल्न र आफ्नो प्रभुत्व देखाउन खोज्दारहेछन् । हामीबीचको फुटमा उनीहरूले मौका पाउँदारहेछन् । यो एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफलको स्वतन्त्र मुलुकमा दुई ठूला देशको भूमिका हामीलाई प्रस्ट छ । हामीले हाम्रो नेपालीपन जोगाउन सकेनौँ भने कुनै लिम्बू, गुरुङ वा थारूको अस्तित्व पनि रहनेछैन । हामीले के भुल्नुहुँदैन भने हाम्रो अस्तित्व गुम्यो भने फेरि त्यो नेपाली पहिचान कहिल्यै फर्केर आउँदैन ।
कुनै पनि चुनाव आफँैमा जनमत हो । यो संविधानसभा पनि जनप्रतिनिधिहरूको घर हो । अर्थात् जनताकै बोली र चाहना अभिव्यक्ति गर्ने थलो हो । सभासद्ले बोल्ने बोली स्वयम्को होइन । त्यो बोली सुदूर जनताको अभिव्यक्ति हो । यसैलाई जनताको प्रतिनिधिको रूपमा देशले ग्रहण गरिरहेको हुन्छ । तर, अहिले दलहरूको शैली र सभासद्को बोली जनताको भावनाविपरीत छ । जनताले चाहेको विषय संसद् वा संविधानसभामा उठ्दैन । पार्टीगत विषयले प्राथमिकता पाउँछ । जनताको जनजीवन वा नीतिगत विषय ओझेलमा पर्छ । फलस्वरूप जनताले आफ्ना प्रतिनिधिप्रति विश्वास गर्न छोडिसके । केही कार्यकर्ताबाहेक सर्वसाधारण जनताले आफ्नो प्रतिनिधिको भरोसा टुट्दै गयो । यसैको कारण जनताले विषयगत आधारमा मत दिन पाउनुपर्छ भन्ने माग जोडदार उठ्न थालेको छ । त्यो हो जनमतसङ्ग्रह । हाल देखिएका मतभेदका विषयमा सोझै जनताको मत लिएर तयार गरिएको संविधान मात्र दिगो हुने सन्देश जनताले दिइरहेका छन् । फलस्वरूप जनताकै प्रतिनिधिका रूपमा पार्टीका नेताहरूविरुद्ध ठाउँठाउँमा आवाज उठिरहेका छन् । मधेसलगायतका जिल्लामा पार्टीको आदेशविपरीत आन्दोलन चलिरहेको यसैको प्रमाण हो ।
केही मझौला खालका पार्टीहरू धमाधम फुटिरहेका बेला संविधानसभाभित्रका अन्य साना दलहरू उसैगरी बाहिरिएका छन् । अब संविधानसभाभित्र एकै रंग र वर्णका प्रतिनिधि मात्र बाँकी छन् । अनेक वर्ण र जातिबाट सिर्जित नेपालको मूल कानुनमा सबैको सामूहिक समर्थन आवश्यक हुन्छ । सबै जाति वा वर्णका विषय संविधानमै उठान हुनुपर्छ भन्ने होइन । तर, सबैको एकीकृत प्रतिबद्धताबाट संविधानको कार्यान्वयन पक्ष बलियो हुन्छ । संविधान निर्माण हुने गौण विषय हो, यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हो । यसको गतिलो भोगाइ २०४७ कै संविधान गतिलो पाठ हो ।
मुलुक निर्माणका लागि परिवर्तन आवश्यक हुन्छ । परिवर्तनबाट मुलुकले समृद्धितर्फ प्रस्थान गर्छ । तर, यति छिटोछिटो हुने परिवर्तनले मुलुकलाई थिलोथिलो पार्ने रहेछ भन्ने प्रमाणित गरिदियो । अझै हामी परिवर्तन मात्र चाहिरहेका छौँ । भौगोलिक रेखाङ्कनलाई भत्काएर साँध–सिमानामा झगडा गरिरहेछौँ । मेरो यो तेरो त्यो राज्यको कुरा गरिरहेछौँ । मानौँ, हामीले चाहेको राज्य मिल्यो भने जमिनको लालपुर्जा नै घरघरमा दिने हुन जस्तो गरिरहेछौँ । अहिले केन्द्रमा भएका शासकभन्दा भोलि राज्य निर्माण हुँदा तिनै राज्यका शासक कति खतरनाक हुन्छन् भन्ने हामीलाई हेक्का छैन । केन्द्रका शासकले गाउँगाउँमा पुगेर जनतालाई सताएका थिएनन् । तर, भोलि निर्माण हुने राज्यका शासक घरघरमा पुगेर अत्याचार गर्नेछन् । हामीले खान लागेको भाग खोस्नेछन् । त्यतिबेला फेरि हामीले केन्द्र गुहार्नेछौँ । अनि अर्को परिवर्तनका लागि आन्दोलन खर्चनेछौँ । यो सत्यमा आधारित भविष्यवाणीमा कसैले नजरअन्दाज गरेर जनतालाई भ्रममा पारेर राज्यको नाममा विभाजन ल्याउन खोजिरहेछ भने त्यो ठूलो अपराधीकरण हुनेछ । यसको सिलसिला हाल मधेसमा चलिरहेको आन्दोलनमा दुई दर्जनभन्दा बढी सर्वसाधारण नागरिकको मृत्युले पुष्टि गरिरहेको छ । यसको सम्पूर्ण रूपमा पुष्टि संविधान लागू भएपछिका केही दिनभित्रै हुनेछ । बेलैमा सचेत हुन सके डिलमा पुगेको राजनीतिलाई जोगाउन सकिन्छ ।