संविधान, सन्नाटा र दीपावली– विनोद त्रिपाठी

संविधान, सन्नाटा र दीपावली– विनोद त्रिपाठी


Binod Tripathi‘हुन्छ वा हुन्न’ आवाजसँगै अन्ततः संविधान निर्माण सकियो । अबका प्रहर नयाँ बनेको संविधान घोषणाका लागि असोज ३ गते बेलुकाको पर्खाइमा छ । सभासद्हरूको मनभित्र जे भए पनि एकमतले उनीहरूले हुन्छ वा हुन्न मत जाहेर गरे । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधानका एक–एक धारा वाचनमा सभासद्हरूको निसन्देहात्मक प्रतिउत्तर खुम्चियो । भलै जे भए पनि संविधानको एउटा दस्तावेज संविधानसभाले निर्माण गरिसकेको छ ।
बच्चा पाउने क्षण स्तब्धित हुन्छ । न यो खुसीले भरिएको हुन्छ न निराशले । पीडा त प्रसव वेदनाले छटपटाएकी महिलालाई मात्र हुन्छ । देख्नेका लागि अन्तर्मनभित्र खुसीले चम्किएको हुन्छ । भोग्नेका लागि यो वेदनाबाट छिटो उन्मुक्ति खोजिरहेको हुन्छ । यो वेदना कष्ट बच्चा पाउने आमाले भोगिरहेकी हुन्छिन् । उनी चीत्कार गर्छिन् । सपनाहरू देख्न छोड्छिन् । मात्र छिटो वेदनाबाट छुटकारा चाहन्छिन् । तर, यिनै आमा बच्चा पाउनु क्षणअघि सन्तानको सपना र आफ्नो मनकामनाको सारा योजनामा प्रफुल्लित बनेकी हुन्छिन् । सन्तान पाइसकेपछि असली आमा उसैको भविष्यसँग समर्पित हुन्छिन् ।
आज मुलुक यही प्रसव वेदनामा छ । जुन वेदना आमाले मात्र भोगिरहेकी छिन् । अरू सबैजना सौदाबाजी खेलिरहेछन् । कोही छोराको कामना गर्दै छन् । कोही छोरीको आशामा पर्खिएका छन् । कोही मृत बच्चा जन्मन्छ भन्नेहरू पनि छन् । तर, यो प्रसव क्षण एक्सरेमार्फत भ्रुण छुट्याएर कुनै लख नकाटीकन एकाङ्की रूपमा सौदाबाजीमा परिणत भएको जुवाको तमासाजस्तो भएको छ । कसैले पनि यो वेदनामा आमाको कष्टपूर्ण क्षणमा पीडा महसुस गरेका छैनन् । चिकित्सकले मिति तोकिदिएजस्तै असोज ३ गतेको पर्खाइसम्म आमाको क्षीण शरीरमाथि धावा बोल्नेहरू अपराधीको शैलीमा मैदानमा उत्रिएका छन् । भर्खर जन्मन लागेको शिशुको भविष्यलाई कामना गर्नेहरू पनि यसैमा मिसिएका छन् । यो शिशु जन्माउन हुँदैन, लुलो वा लङ्गडो हुनेछ भन्नेहरूको आवाज पनि देशभरि फैलिएकै छ । जन्माउन नदिनेहरूको जमात सानो वा ठूलो होस्, तर पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । हिमालदेखि तराईसम्म सडकभरि देखिएका छन् । प्रसव वेदनाबाट छिटो उन्मुक्ति दिनका लागि म्याद छोट्याएर चिकित्सकले तोकिदिएको असोज ३ गतेको दिन हाम्रा लागि हर्ष वा विस्मात् कसरी प्रकट हुन्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । जे भए पनि जस्तो जन्मिए पनि आमालाई प्रसव वेदनाबाट मुक्ति दिलाउन बच्चा जन्माउनैपर्छ । बच्चा अपाङ्ग हुँदै छ भन्नेहरूले गर्भाधान प्रक्रियादेखि हालसम्म सुझाएका विषय भविष्यमा सही वा गलत प्रमाणित हुने स्पष्ट हुने नै छ । तिनै विषयका आधारमा नेपाली जनताले पाउन लागेको नयाँ संविधानले मुलुकको एउटा गोरेटो फेरि कोर्नेछ । यो गोरेटोले हामीलाई ठीक गन्तव्यमा पु-याउने हो वा होइन भन्ने अधुरा विषयलाई अहिले विश्लेषण गर्न आवश्यक ठानिएको छ ।
अहिले जे–जति आन्दोलन भइरहेका छन् ती सबै सङ्घीयता र धर्मका नाममा मात्र केन्द्रित छन् । खासगरी मधेसमा चलिरहेको हिंसात्मक आन्दोलन सङ्घीयतासँग मात्र जोडिएको विषय हो । देशका अन्य क्षेत्रमा हिन्दूराष्ट्रकै मागलाई लिएर आन्दोलन भएको छ । यो विशुद्ध धर्मसँग मात्र सम्बन्धित छ । गणतन्त्र व्यवस्थालाई स्वीकार गर्नेहरू पनि यो आन्दोलनमा समाहित छन् । त्यसैले, यी दुई अतिसंवेदनशील विषयमा संवेदनहीन बनेर संविधानसभाले जुन निर्णय गरेर संविधान निर्माणको बाटो अवलम्बन ग-यो यसले अपाङ्ग संविधान जन्मनेमा स्पष्ट देखाएको छ । नेपालआमाको प्रसव वेदनामा सपाङ्ग र एउटा सम्पूर्ण संविधान जन्माउनुपर्छ भन्नेहरूलाई गलत सावित गर्न कसैले पनि सक्दैन । भलै कहिलेकाहीँ चिकित्सकीय अनुमान पनि फेल खाएझैँ असोज ३ गते स्वस्थ संविधान जन्मियोस् भन्ने सबै नेपालीले कामना गरिरहेछन् ।
आठ वर्षदेखि हामी संविधान निर्माणमै अल्झियौँ । यो अवधि संविधानमा आ–आफ्ना कुरा समावेश गर्न पार्टीगत स्वार्थ निकै जोडिए । कमै मात्र विषय आए, जुन मुलुक र जनताप्रति समर्पित थिए । ०४७ सालकै संविधानका विषयलाई गणतन्त्रात्मक व्याक्यांश जोडेर मात्र यो संविधानको खाका ल्याइयो । सङ्घीयता र धर्मका विषयलाई उल्झाएर ल्याइएको संविधानमा गर्व गर्नुपर्ने अवस्था यो प्रथम चरणमा देखिएन । झन् निराशाका सङ्केत मात्र देखापरे । समावेशीका नाममा एउटा विखण्डनको बिउ रोपियो । यो कुराको सङ्केत पछिल्लोपटक संविधान निर्माणमध्येका एक बाबुराम भट्टराईले गरिसकेका छन् । हुन त यो बिउ रोप्नेमध्येका एक हुन् बाबुराम । भदौका अन्तिम घडीमा बाबुरामले नेपालको विखण्डनबारे बोलेका शब्द त्रासदीपूर्ण अर्थ राख्छ । संवाद समितिबाट आफ्नो जिम्मेवारी सकिएपछि बाबुरामले बन्दै गरेको संविधानप्रति देखाएका सङ्केत भविष्यमा उल्झँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन ।
अहिले मधेसको जनजीवन अनुमान गरेभन्दा कहालीलाग्दो छ । कफ्र्यु र आन्दोलनका बीचमा सूर्य उदाउँछ अस्ताउँछ । गर्मीका रापले आन्दोलनको पीडामा मधेसको जीवन जलिरहेको छ । आन्दोलनका लाठीले सर्वसाधारण तर्सिएका छन् । प्रहरीको अश्रुग्यासले सबैका आँखा ओभाएका छैनन् । भोक र थकानले व्याकुल अनुहार राजमार्गमा सेल्टिएका छन् । खेतबारीमा काम असरल्ल छ । नाङ्गा र मलिन अनुहारका अबोध नानीहरू आकाशका तारा गनिरहेका छन् । आन्दोलन केका लागि चलिरहेको छ भन्ने अधिकांश अभिभावकलाई हेक्का छैन । क्षेत्रीय दलहरू र खासगरी मधेसमा मात्र केन्द्रित पार्टीको यो आन्दोलन विद्रोहको रूपजस्तो हिंसात्मक बनाउने प्रयास गरिएको छ । आन्दोलनमा सहभागी अधिकांश निरीह जनता मात्र देखिन्छन् । आक्रोषित युवाहरू कार्यकर्ताभन्दा पारिश्रमिक दिएर ल्याइएजस्ता अनुहार छन् । किन यो गतिविधि भइरहेको छ अधिकांश लाठी बोक्नेलाई थाहा छैन ।
खासगरी पछिल्लोपटक मधेसी नेताहरूले आन्दोलनमा सहभागीको मृत्यु भएमा ५० लाख दिने कुरा सार्वजनिक भएपछि आत्मघातीतर्फ उन्मुख अनुहार पनि यहाँ देख्न पाइन्छ । त्यसैले, संविधान निर्माणको यो अन्तिम बिन्दुमा एकातिर जुन प्रकारको दीपावली गरिँदै छ, अर्कोतिर, सन्नाटा उत्पन्न गराएको छ । यसले, आमनेपालीमा हर्ष वा विस्मात्को दुवै छनक दिइरहेको छ ।
संविधान निर्माणको खुसियालीमा दीपावलीको तयारी जोडतोडका साथ चलिरहेको छ । ठूला पार्टीका भ्रातृ सङ्गठनहरू दीपावली मनाउने तयारीमा जुटिसकेका छन् । सरकारले त्यही रूपमा तयारी गरिरहेको छ । जुन अपेक्षाका साथ संविधानसभाका लागि जनताले भोट दिएका थिए, त्यहीअनुरूप संविधान निर्माणसम्म देशभर उल्लासपूर्ण वातावरण निर्माण हुन सकेन । संविधान निर्माण हुँदा काठमाडांैमा मात्र दीपावली सीमित होला भन्ने कल्पना कसैले गरेका थिएनन् । तर, आठ वर्षको मिहिनेत, लगानी, व्यय र समयको बर्बादीपछि पनि सबल संविधान तयार हुन नसक्दा एकप्रकारको दीपावलीमा अर्को प्रकारको सन्नाटासमेत फैलिएको छ ।