कसका लागि राम्रो हुने ?

कसका लागि राम्रो हुने ?


nisedhदश–एघार वर्ष अघिको कुरा हो । दक्षिण एसियामै चर्चित महिला अधिकारवादी नेतृ कमला भसिनसँग जेन्डरको तालिम लिइरहँदा प्रसङ्गवश उनले भनिन्– महिलाहरू अरू कसैले राम्रो भनि दिओस् भनेर ‘सजधज’मै कति समय खर्च गर्छन् । महिलाले सल किन ओड्नुप-यो ? कसैले हेरिदेला भनेर, अगाडिपछाडि खोलेको ब्लाउज किन लाउनुप-यो ? कसैले हेरिदेओस् भनेर । कपालका बनावट, मेकअप सबै अरूका लागि… अब आफ्ना लागि पनि केही गर्ने बेला भयो केटीहरू… (उनका शब्दले अहिले पनि बेलाबेलामा झस्काउँछन्) जागो…आगे बडो…कुछ करके देखाओ…अपने आत्मसम्मानके लिए आगे निकलो…किसिका अमानत मत बनों, कम से कम अपनेआपको संहालो…किसिको कुछ दे ने के काविल हो जाओ ले ने के लिए नही…जब हात निचे होगा, तुम्हारा आत्मसम्मान भि नीचे ही रह जाएगा…नूर गिर जाएगा…अगर हात उचे हो तो तुम्हारा आत्मसम्मान भी उँचा रहेजाएगा…उनका यी पछिल्ला शब्दहरू भाषामा तलमाथि भए होला, तर मैले सधैँ सम्झिएँ । तर, अघिल्ला पङ्क्तिहरूमा भने त्यतिबेला तालिममै प्रतिकार गर्दै भने– तपाईंका यी पछिल्ला भनाइ एक प्रशिक्षार्थीका हैसियतमा जीवनमा लागू गर्ने कोसिस गर्नेछु, तर महिला अरूका लागि राम्रा बन्छन् या बनिन्छन् भन्ने कुरामा भने मेरो सहमति छैन । मेरो भनाइपछि उनले सोधिन्– ए, हो ? त्यसो भए कसका लागि बनिन्छन् त भनन मलाई ? मैले बडो आत्मविश्वासका साथ भने, ‘आप्mनै लागि… ड्रेसअप भनेको आत्मविश्वास पनि हो नि ।’ के तिमी शनिबार या छुट्टीका दिन घर बस्दा पनि त्यत्तिकै बनिएर बस्छ्यौ ? जसरी घरबाहिर निस्कदा हुन्छ्यौ… मेकअप, लुगा, हेयर स्टायल… । उनको यो प्रश्नले झसङ्ग भएँ र आफूले घर बस्दा लाउने लुगा सम्झिएँ र सानो स्वरमा अहँ म त घर बस्दा कपाल पनि कोर्दिनँ भने । वास्तविकता पनि त्यही नै थियो । उनले मर्ममा प्रहार गर्दै भनिन्– अनि आफ्ना लागि राम्रो हुनेले त बाहिर जाँदाभन्दा घर बस्दा राम्रो भएर बस्नुपर्ने होइन र ? तर्कमा सहमत हुने र तर्क गर्न मन पराउने मेरा लागि जिन्दगीमा गर्न नसकेको तर्क थियो त्यो ।
हिजोआज भर्खरका युवा महिलाभन्दा अधबैंसे महिलाको फेसनबारे बढी चर्चा हुने गर्छ । ब्लाउजहरू त्यसै पनि छोटै हुन्छन्, त्यसमा पनि तिज र विवाहमा लगाउने ब्लाउजहरू घट्ने क्रम क्रमशः बढ्दै छ । छोटिइने क्रमसँगै दाम बढ्दै गएको रहेछ । एक गृहणी मित्रले केही दिन अघि भनिन्– तिमीहरू यस्तो लाए पो थाहा पाउँछौ, यसको दाम त सात हजार…लौन, हो र भन्या ? आश्चर्य मान्दै ओर्तिरपर्तिर हेर्न खोज्दा उनको खुल्ला शरीरमा ब्लाउजको सेप खासै देखिएन । हेर न, के भएको होला है, मलाई त हिजोआज कलरफूल कपडाहरू मात्र लाउन मन लाग्छ । हेयर स्टायल पनि चेन्ज गर्न खोजेको खासै सुहाएजस्तो लागेन…, मिडल एज क्राइसिस…मैले फ्याट्टै भनिदिएँ, आफूले पनि यो शब्द सुनेकोचाहिँ दिदी सलोनी सिंहबाट हो । एकपटक अधबैंसे महिलाले किन यति धेरै पछाडि खोलेको ब्लाउज लगाएका होलान् ? भन्ने प्रसङ्ग चल्दा उहाँले भन्नुभएको थियो– यो केही होइन, ‘मिडल एज क्राइसिस’ हो । सलोनी दिदीले भनेपछि यो भनेको के रै’छ ? भनेर गुगलमा खोज्दा स्वास्थ्यदेखि सौन्दर्यसम्म अनेकौँ भेटियो ।
राम्री या राम्रो देखिनु र देखिन खोज्नु फरक कुरा हो । देखिन खोज्दैमा राम्रै देखिइन्छ भन्ने पनि होइन । तर, जसले जतिसुकै तर्क गरे पनि राम्रो देखिने चाहना भने हरेक मानिसमा हुन्छ र त्यो राम्रोपनको रेखदेख आफ्ना लागि भन्दा अरूकै लागि हुन्छ । राम्रो बनेर हिँड्दा मानिस आफैँमा आत्मविश्वास बढ्ने हुँदा सौन्दर्य आफ्नै लागि हो भन्न पनि सकिन्छ । आफूलाई मिल्दो, सुहाउँदो र सजिलो ‘ड्रेस अप’मा हिँड्दा एकप्रकारको आत्मविश्वास हुन्छ । जुत्ता होस् या ‘मेकअप’ सबैमा यो लागू हुन्छ । सधँै आँखामा गाजल लगाएर हिँड्नेहरूले एक दिन गाजल लगाउन पाएनन् भने आँखामा आँखा जुधाएर बोल्नै नसकेझैँ हुन्छ । लुगा वा जुत्तामा कतै केही खराबी भए कसैले मतलब गरून् कि नगरून् सबैले त्यहीँ हेरिरहेका छन् जस्तो लाग्छ त्यसैले सहज पहिरन र ‘मेकअप’ले आत्मविश्वास बढाउँछ । राम्रो या सुन्दरता भन्नेबित्तिकै हामी प्रायः महिलामा केन्द्रित हुन्छौँ, तर राम्रो देखिने चाहना मानवीय प्रवृत्ति हो चाहे महिला होस् या पुरुष सबैमा यसप्रकारको चाहना हुन्छ । हिजोआज पुरुषहरू सुन्दरतामा बढी नै सचेत देखिएका छन् भन्ने कुरा उनीहरूलाई लक्षित गरेर उत्पादन गरिएका सौन्दर्य साधनहरूको बिक्रीबाट पनि थाहा हुन्छ ।
महिला हुन् या पुरुष राम्रो देखिन खोज्नुको मनोविज्ञान एउटै हो, अरूले हेरिदेओस्, राम्रो भनिदिओस् । आफूले सहज महसुस गर्ने कुरा पनि यसको अर्को पाटो हो । कस्तो ठाउँमा के लाउने ? कुन मौसममा के लाउने ? सँगै कुन उमेरमा के लाउने भन्ने कुराले पनि फरक पार्दोरहेछ । समाज र रीतिरिवाजले पनि फेसनलाई फरक पार्दोरहेछ । औपचारिक वा अनौपचारिक कस्तो ठाउँमा जाँदै छु भन्ने कुरा पनि ख्याल गर्नुपर्ने रहेछ । अमेरिकी या युरोपियन समाजमा कसैकी हजुरआमाले स्कर्ट लाउनु सामान्य हो, तर हामी त्यस्तो कल्पना गर्दैनौँ, लाउन नहुने भन्ने अवश्य होइन । त्यस्तै जाडो महिनामा पातलो कपडाको फेसनले हेर्नेको मनमा दयाबाहेक अन्य उत्साह थप्दैन । हामीकहाँ जाडो महिनामा भएका विवाहका जन्ती र पार्टीहरूमा न्यायो कपडाविहीन थरथरी काप्दै ब्लाउज र सारी मात्रै लगाएका महिला प्रसस्तै देखिन्छन् । त्यस्ता दृश्य देख्दा दुःख पनि लाग्छ, हरे बिचरा केका लागि यति धेरै कष्ट उठाइरहेका होलान् यिनीहरू ? जस्तो लाग्छ । महिला हुन या पुरुष मानिसको बाहिरी आवरण क्षणिक ‘इम्प्रेसन’ मात्रै हो । अन्ततः आवश्यक पर्ने ऊभित्रको सोच, बौद्धिकता र व्यवहार नै हो । नीति श्लोकमा भनिएको छ– ‘मूर्खोपि शोभते तावत् सभायां बस्त्रवेष्टितः । तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ।’ यसको अर्थ हो राम्रा कपडा लगाएको मूर्ख व्यक्ति पनि सभामा सुरुमा सुहाएकै हुन्छ, तर त्यतिबेलासम्म ऊ राम्रो देखिन्छ जबसम्म उ बोल्दैन ।
यद्यपि, सशक्तीकरण एउटा जटिल प्रक्रिया हो, तर यसलाई सहज बनाउने कोसिस गर्दै बाहिरी आवरणसँगै महिलाले आफूलाई सशक्त बनाउँदै लानु आवश्यक छ । आफ्नो शरीर आफ्नो अधिकारको व्याख्या गर्न हामी त्यतिबेला मात्र सक्षम हुनेछौँ जब हामीसँग सशक्तीकरणका सूचकहरू आफैँ वरिपरि प्रसस्त हुनेछन् ।