कोरियामा डढेलोबाट १३ सयभन्दा बढी घरगोठ खरानी

कोरियामा डढेलोबाट १३ सयभन्दा बढी घरगोठ खरानी


दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गत साता फैलिएको डढेलोबाट चार सयभन्दा बढी घर र नौ सय २० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रिय संकटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए ।

कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो । हावाहुरी र सुक्खाका कारण तीब्र गतिमा विस्तार भएको आगो नजिकका अरू नगर इलाकामा फैलिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौँ हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकोप्टर परिचालन गर्ने आदेश दिएका थिए । हाल आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपत् निकायका अनुसार आगलागीबाट अरू व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन, तर धनसम्पत्तिको ठूलो क्षति भएको छ ।
अधिकारीहरूले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।