परिवर्तनको जितमा हार्नेहरू हामी– विनोद त्रिपाठी

परिवर्तनको जितमा हार्नेहरू हामी– विनोद त्रिपाठी


Binod Tripathiराजतन्त्र बेकार भो । गणतन्त्र ल्याउँदा नि भएन । सङ्घीयतामा जाँदा नि भएन । हिन्दूराष्ट्र पनि हुन्न । धर्मनिरपेक्ष वा धार्मिक स्वतन्त्रतामा पनि नहुने । पाँच विकास क्षेत्रले विकासमा तगारो हाल्यो । ६ प्रदेशमा हुँदै भएन । सात प्रदेशमा पनि नहुने रे । पुरानो संविधान काम लागेन रे । नयाँ संविधान ल्याउँदा नि हुँदैहुन्न । यस्तै–यस्तै प्रकारका विषय उठानको राजनीतिले नेपालको आधुनिक समाजलाई अल्झाउँदै ल्यायो । यो बिन्दुसम्म आइपुग्दा बाबुराम भट्टराईजस्ताको असन्तुष्टि अझै छल्किँदै छ भने अरूको वर्णन गर्न आवश्यकता रहेन । यो असन्तुष्टि परिवर्तनको रफ्तार यत्रतत्र फैलिएर देशभरि गन्जागोल पारिदिएको छ । यी तिनै गोर्खाली बाबुराम हुन् जसले मन्त्री हुँदै प्रधानमन्त्री बन्ने अवसर पाइसके । अवसर र अधिकारको हिसाबले कमल थापा वा लोकेन्द्रबहादुर चन्द र बाबुराममा एक रौँको भिन्नता बाँकी रहेन । जनताको नजरमा सरकारको वागडोर सम्हालिसकेका यी सबै एउटै समूहमा परे । प्रगतिशील वा के–के अग्रगामी कथित विशेषण भिराइएका यी गोर्खाली भट्टराईको मनोगत महत्वाकाङ्क्षाबाहेक जनताले केही पाएनन् । पहिलेदेखिको निरन्तरताबाहेक विकास र शान्तिमा बाबुरामको कार्यकालले क्रमभङ्गता गर्न सकेको उदाहरण भेटिँदैन । तर, पनि अवसर र मौकाको खोजीमा अझै भौँतारिएका बाबुरामको यो छुद्रता त यसरी लाज पचाउने गरी बाहिरियो । बिचरा निरीह जनता किन मौकाको खोजीमा सधैँभर परिवर्तन मात्र नखोजुन् ।
काठमाडौं सहरको स्थापना गर्न गुणकामदेव र लक्ष्मी कामदेवले सुरु गरे । ललितपुर वीरदेव र भक्तपुर आनन्ददेवले परिकल्पना गरे । भूपतिन्द्र मल्लले भक्तपुरको ५५ झ्याले दरबार बनाए । वि.सं. १०२० मा प्रताप मल्लले रानीपोखरी बनाए । चन्द्रशमशेरले सिंहदरबार बनाए । यही सिंहदरबार पनि सम्भार गर्न नसकेर वर्तमान शासकहरू पत्लु बनेका छन् । उनकै पालामा रोपवे सुरु भो । जनकपुर–जयनगर रेलको सुरुवात जुद्धशमशेरले गरे । वि.सं. १४४७ मा वीरशमशेरले वीर अस्पतालको स्थापना गरे ।
यी र यस्ता सयौँ विकास र संरचनाका निर्माण कुनै संविधानको धाराले निर्देशित गरेको थिएन । नेपालको पहिलो संविधान २००४ सालअघि हाम्रो शान विश्व मानचित्रमा गर्व गर्न लायक थियो । अहिलेको जस्तो खाडी र मलेसियामा हाम्रो रोजीरोटीको छटपटाहट त्यतिबेला थिएन । कामको खोजीमा मुग्लान पस्ने चलन त्यतिबेलाको वीर नेपालीको मिहिनेत र साहसको उपमाको रूपमा हेरिन्थ्यो । अहिले जस्तो जर्जर आर्थिक धरातलबाट नेपालको शासनको परिचय थिएन । राजा वा प्रजाबीचको भेदभावको खाडल विश्व परिवेशअनुरूपको थियो । जब विश्वमा विस्तारै राजाहरू हराउँदै गए, जनताको शासन सुरु भयो, हामी भने कुनै परिवर्तनलाई संस्थागत गर्न सकेनौँ । त्यसबेला निरङ्कुश वा राजतन्त्रको सक्रियतामा अहिलेको जस्तो दरिद्रता र जनताको हत्या कहालीलाग्दो भएन ।
शाहकाल अर्थात् वि.सं. १८०० तिर हामी सम्पूर्ण रूपमा स्वनिर्भर थियौँ । खाद्यान्न, लत्ताकपडा, घरेलु सामग्री हामीले पराई मुलुकबाट खरिद गर्नुपर्ने थिएन । पछि राणाकालसम्म आइपुग्दा त हामी शक्तिशाली र आर्थिक उन्नतिमा विश्वमै २३औँ स्थानमा थियौँ । हाम्रो स्वाभिमान विश्वमै उच्च थियो । साँच्ची नै हामी स्वतन्त्र मुलुकको पहिचानमा रह्यौँ । २००७ सालमा प्रजातन्त्र आइसकेपछि हाम्रो परनिर्भरता सुरु भो । पूर्वी एसिया र युरोपमा विकासले तीव्रता पाएसँगै हाम्रो आयात प्रतिशत बढ्दै गयो । वि.सं. २०१७ सालपछि फेरि, शाहीकाल अर्थात् निरङ्कुश पञ्चायती व्यवस्थाको अभ्यासमा हामीले ३० वर्ष गुजा-यौँ । यो व्यवस्थामा पनि निकै असन्तुष्ट बढ्दै गयो । राजतन्त्र नै काम नलाग्ने भएकाले यसैलाई मिल्क्याउनुपर्ने आवाज बुलन्द भो । जनताले अधिकारबाट वञ्चित भएको आवाजसँगै ०४६ सालमा प्रजातन्त्र प्राप्त गरेर एक वर्षपछि देशले नयाँ संविधान प्राप्त ग-यो । यहाँसम्म आइपुग्दा परिवर्तनको उचाइ बढ्दै गयो ।
माओवादीको सशस्त्र सङ्घर्षकै मूलबाटोको जगमा ०६३ सालमा गणतन्त्र सुरुवात भयो । अहिले यही व्यवस्थालाई संस्थागत गर्न २०७२ असोज ३ देखि नयाँ संविधान जारी गरिसक्यौँ । यसरी परिवर्तनको यात्राले हामीलाई द्रुतरूपमा पछ्याइरहेको छ । अहिले देशका विभिन्न क्षेत्र, वर्ग, जाति, सम्प्रदायमा देखिएको असन्तुष्टले यो परिवर्तन कहाँ गएर रोकिने हो अनुमान गर्न सकिँदैन । जबसम्म राजनीतिक परिवर्तनको रफ्तार रोकिन्न तबसम्म विकासको यात्रा सुरु हुनेछैन । विकासलाई ठप्प पार्दै राजनीतिक परिवर्तनको सिलिसिला बेलगाम घोडाको कुदाइजस्तै हाम्रो नेपाली शान उँधो गतिमा कुदिरहेको छ ।
अब हाम्रो अभ्यास सङ्घीयतातर्फ लम्किएको छ । तीन सय वर्षपछि हाम्रा लागि यो नौलो हो । पृथ्वीनारायण शाहको पालाअघि त हामी यसैमा थियौँ । परिवर्तन गर्दै जाँदा १७औँ शताब्दीअघिकै २२ से र २४ से राज्यमा हामी फर्कियौँ । तर, नयाँ जारी भएको संविधानले हामीलाई यस्ता राज्यहरूमा धेरै अधिकार प्रदान गरेको छ । अहिलेसम्म माग उठेका सङ्घीयता, नयांँ शासकीय स्वरूप, समावेशी, आरक्षणलगायतका अधिकार जनतालाई मिलेको छ । मधेसले खोजेजस्तै अलग राज्य पनि तोकिएकै छ । धर्मनिरपेक्षका लागि त्यो पनि संविधानमा उल्लेख छ । जातजाति र वर्गका आयोग बनाउने संविधानले व्यवस्था गरेको छ । संविधान सम्पूर्ण रूपमा जनताका अधिकार सुनिश्चित गरिदिएको दस्तावेज हो । यो पार्टीहरूको मागका आधारमा तयार गरिएको दस्तावेज हो ।
ठूला राजमार्ग र पुलहरू पञ्चायतकाल अर्थात् सक्रिय राजतन्त्रकै व्यवस्थामा निर्माण भए । ५० सालसम्म निकै न्यून मात्रामा रोजगारका लागि विदेश जाने चलन थियो । अहिले दैनिक करिब १५ सय कामकै लागि बाहिरिन्छन् । बहुदल आएपछि निजी क्षेत्रले जसरी निकै फड्को मा-यो सरकारको तर्फबाट केही हुन सकेन । कुनै ठूला संरचना निर्माण भएको उदाहरण भेटिँदैन । अझ गणतन्त्र आएपछि बितेका १० वर्षमा भएका संरचना पनि बिग्रेर र भत्किएर गए । त्यसैले, परिवर्तनलाई आत्मसात् गर्न सिकेका हामीले विकासलाई आफ्नो जिम्मेवारबोध गरेर शासनको खाका ल्याउने हाम्रो प्रयास कहिल्यै भएन । अहिले डेढ महिनादेखि मधेसको राजनीति चर्केर गएको छ । छिमेकी मुलुक भारतले सिमानाकै कारण देखाएर नयाँ संविधानप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । जातजाति र मधेसको राजनीतिले संविधानले अपनत्वको परिचय दिन सकेन । भलै संविधानमा हालसम्मका माग समेट्ने प्रयास भए पनि यसलाई सर्वस्वीकार्य बनाइएन । यसले नेपालको राजनीतिक परिवर्तनको रफ्तार रोक्ने सङ्केत फेरि देखिएन । अझै कुनै न कुनै आन्दोलनका नाममा हुने अराजकताले सिङ्गो मुलुकलाई असर पार्ने निश्चित छ ।
नयाँ संविधान निर्माणमा मुलुकले खर्चेको व्ययभारलाई मनन सबैले गर्न सक्नुपर्छ । संविधान परिमार्जन गर्न सक्ने आधार मुख्य दलहरूले दिइसकेका छन् । यो परिमार्जन भनेको जुनसुकै मागलाई पनि भोलि संविधानमा लिपिबद्ध गर्न सकिने आधार हो । हिन्दूराष्ट्र कायम गर्न सक्ने पनि यसले मार्गप्रशस्त गरेको नजरअन्दाज गर्न मिल्दैन । यसले हालसम्मको परिवर्तनलाई आत्मसात् गर्दे नयाँ सविधानकै धारामा टेकेर अधिकार खोज्ने परिपाटीको सुरुवात हुनुपर्छ । यसले, हाम्रो ७० वर्षदेखि अर्थात् २००२ सालबाट उठेको संविधानसभामार्फत संविधान बनाउनुपर्ने मागप्रति सङ्कल्प र जिम्मेवारपन साकार भएको देखाउनेछ । अतः नयां संविधानको कार्यान्वयनमा सम्पूर्ण नेपालीको भूमिका प्रभावकारी बन्यो भने राजनीतिक परिवर्तनको पुरानो अध्याय समाप्त हुनेछ । यदि यो कार्यान्वयनमा सफलता प्राप्त नगरे हामी सधैँ परिवर्तनमा जितेर पनि हारिरहनेछौँ ।