पाठक मञ्च

पाठक मञ्च


pathakmanchघटना र विचारलाई सुझाव
लोकप्रिय घटना र विचार साप्ताहिकको विगत डेढ दशकदेखिको नियमित पाठक हुँ । सटिक राजनीतिक विचार र विश्लेषणको लागि घटना र विचारको जोडा सम्भवतः नेपाली साप्ताहिक अखबार बजारमा नहोला भन्ने मेरो बुझाई छ । यदाकदा यसले पस्केका खुराक अलिक अलिनो–धमिलो नहुने त होइन, तर निरासै हुनुपर्ने गरी घटना र विचारले सामग्री पस्केको छ भन्ने ठाउँ पनि छैन । अर्थ, मनोरञ्जन, स्वास्थ्यसम्बन्धी सामग्री पस्किन कञ्जुस्याँइँ गरिएको हो या साधन–स्रोतकै अभाव हो, बुझ्न सकिएन । यसबारे सोच्दा राम्रै हुने सुझाव दिन सकिन्छ । विशेषगरी देवप्रकाश त्रिपाठीको लेख यस अखबारको गहना हो भन्न हिच्किचाउनु पर्दैन । यसअलावा एस. शाहको लेखमा पनि भरपुर गुदी भेटिन्छ । उहाँको लेखनीलाई पनि सक्दो निरन्तरता दिइयोस् । पछिल्लो चरणमा नियमित देखापरेका स्वयम्भूनाथ कार्कीका तर्कसङ्गत लेखनी पनि पठनीय छ । राजनीतिक पृष्ठभूमि बोकेका व्यक्तिका लेखरचनालाई पनि यथासक्य स्थान दिइए उपयुक्त हुन्थ्यो कि ?
– दीर्घप्रसाद भट्टराई, काठमाडौं

आशा र आस्था
०६३ सालमा कसैको पाप पखाल्न, चोख्याउन वा वैतरिणी नदी तार्नका लागि हो वा किन हो रहस्यमय तरिकाले कसैको पनि एजेन्डा नरहेको धर्मनिरपेक्षता लाद्ने काम गरियो । दश वर्षसम्म विद्रोही र राज्य पक्षबाट भइरहेको आतङ्क, हत्याबाट आजित भएको मुलुक र मुलुकवासीले १७ हजार मानिसको रगतको खोलो बगाएर ल्याइएका एजेन्डालाई चाहेर वा नचाहेर शिरोधार्य गर्ने वा मौन बस्नेभन्दा अरू विकल्प नै थिएन । रक्तपातभन्दा धर्मनिरेक्षता बेस होला भन्ने सोचाइको साथै डरले पनि विरोध भएन होला किनकि त्यतिबेलासम्म विद्रोहीहरूमा बारुदको गन्ध, बन्दुकको धङधङी र ताकतको फुर्ती थियो ।
जसरी धर्मनिरपेक्षता घोषणा गर्दा सामान्य सोचाइ रहेको थियो, तर गत वैशाख १२ को महाभूकम्पपछिका दिनहरू धर्मनिरपेक्षताको प्रयोगात्मक समय बने भने भूकम्पबाट प्रभावित क्षेत्रहरू प्रयोगात्मक स्थल बने जहाँ राहत सामग्रीभन्दा पहिले सबैका हातमा बाइबल थमाइयो । बाइबल नलिने मान्छेलाई राहत सामग्री नै दिइएन । त्यतिबेलै देखियो धर्मनिरपेक्षताभित्र लुकेको वास्तविक नियत ! यो घटनाले हिन्दू र केही मुसलमानलाई झस्काइदियो ।
लगभग ८५ प्रतिशत हिन्दूहरूको बाहुल्य रहेको मुलुकमा धर्मसापेक्षताको मुद्दा उठाइनु कुनै अचम्मको कुरा होइन तापनि अब धर्मनिरपेक्षतालाई नै अघि बढाइएको छ । करिब एक दशक समय बितेको छ । धर्मनिरपेक्षताको विरोध गर्नु अब बेलाको राग कुबेलाको बैरागजस्तो बनेको छ । धर्मनिरपेक्षता आफूमा नराम्रो पक्कै होइन, तर पाश्चात्य मुलुकहरूले धर्मनिरपेक्षतामा उदयमान नेपालमा कसरी आफ्नो सक्रियता कसरी देखाउँछन्, नेपालका गैरहिन्दूहरूको गतिविधि र व्यवहारमा भर पर्नेछ । कोर्राको भरमा अफगानिस्तान र पाकिस्तानलाई इस्लामिक मुलुक बनाइएजस्तो धर्मनिरपेक्षताको आडमा नेपाललाई अफगानिस्तान र पाकिस्तानमा जस्तै बाध्यात्मक धर्म परिवर्तन गराएर हिन्दूहरूको नाम र निशान नै मेट्ने काम पो हुने हो कि भन्ने विश्वभरका हिन्दूहरूको चिन्ता हो । यदि हिन्दूहरूमा जस्तो धार्मिक सहिष्णुता नेपालका अन्य धर्मावलम्बीहरूमा रह्यो भने धर्मनिरपेक्षता कुनै टाउको दुखाइको विषय बन्ने छैन । हिन्दूहरूको बाहुल्य रहेको मुलुकमा पशुपतिनाथको मन्दिर पाँच किलोमिटर पर राखेर काठमाडौंको मुटुमा नै जामे र कस्मिरी मस्जिद राख्नेसम्म हिन्दूहरूको धार्मिक सहिष्णुता एउटा सर्वोच्च स्थानमा छ र रहिरहने पनि छ । एवम् प्रकारले सम्पूर्ण धर्मावलम्बीहरूले धार्मिक सहिष्णुता देखाउन र राख्न सक्यौँ भने मात्र हाम्रो परापूर्व कालदेखिको भाइचारा, सम्बन्ध र एकतामा कुनै प्रकारको आँच आउने छैन अन्यथा धर्मनिरपेक्षताको र विदेशी चलखेलको आडमा बहुसङ्ख्यक हिन्दूहरू र आफ्नो धर्ममा सदैव आस्थावान र अडिग रहने इस्लाम समुदायमाथि हस्तक्षेप, धर्म परिवर्तनसम्बन्धी दबाब वा कुनै पनि बाध्यात्मक क्रियाकलाप गरेमा वा खुला रूपमै गाईको बध गरेमा यो देशको धार्मिक द्वन्द्व कस्तो होला भन्ने कुराको अनुमान कुनै ज्ञाताले पनि गर्न सक्तैन । धर्मको काम समाजलाई बाँध्ने र सङ्गठित गर्ने हो, धार्मिक युद्ध फैलाउने होइन ।
अर्कोतिर सस्तो लोकप्रियताका लागि बाँडिएको जातीय र क्षेत्रीय राज्यको नाराले देश दन्किरहेको छ । पेट्रोल छर्केर जिउँदै जलाउने र दुई वर्षको दूधेबालकलाई गोली हान्नेजस्ता अमानवीय घटना सामान्य बनिसकेका छन् । आफूलाई तराई–मधेसका नेता भनाउँदाहरू तराई–मधेसलाई नेपालबाट अलग गरी छुट्टै मुलुक बनाउने दुस्प्रयाससम्म गर्दै छन्, तर त्यही तराई–मधेस जहाँ रामवरण यादव, लालबाबु पण्डितलगायतका राष्ट्रवादी नेताहरू पनि छन् । तराई–मधेसमा बस्ने सच्चा नेपाली जनताले यी भुस्याहाहरूलाई छिटोभन्दा छिटो सिमाना कटाउनेछन् । खबरदार विखण्डनवादीहरू हो, तराई–मधेस तिमीहरूको बाउको पैतृक सम्पत्ति, आमाको पेवा वा तिमीहरू गोजीको रुमाल होइन जुन तिमीहरूको मात्र इच्छाले भनेजस्तो हुन्छ ।
म संसारका सम्पूर्ण धर्मलाई सम्मान गर्दछु । हुन त मलाई कुनै धर्मको ठेक्का छैन तापनि म मन्दिर जान पाउनु मेरो मौलिक अधिकार सम्झन्छु । म अहिलेसम्म ६ पटक मस्जिद, पाँचपटक गिर्जाघर र कैयाँैपटक गुरुद्वारा पुगेर नतमस्तक भएको छु । मलाई कुनै धर्मप्रति वितृष्णा छैन । सबै धर्मावलम्बीहरूले सबै धर्मलाई सम्मान गर्न सिके मात्र धार्मिक सद्भाव सधैँ कायम रहनेछ । अरूलाई सम्मान गरे मात्र आफूले सम्मान पाउन सकिनेछ ।
अन्त्यमा, धर्मनिरपेक्षताको आडमा नेपालीलाई जबर्जस्ती धर्म परिवर्तनको सिकार नबनाइयोस्, धार्मिक र जातीय कारणले देश सुडान नबनोस्, कुशासनको कारणले देश सोमालिया नबनोस् र सङ्घीयता र धर्मनिरपेक्षता लागू गर्न एक ठाउँमा उभिएका राजनीतिक दलका टाउकेहरू यी एजेन्डाहरू कार्यान्वयन गर्दा पनि एकै ठाउँमा रहिरहून् । सबैले सङ्कल्प र मनन गरौँ ।
– नरेन्द्रबहादुर अर्याल