मनका वनफूल र साढे दुई रुपैयाँको देवदास

मनका वनफूल र साढे दुई रुपैयाँको देवदास


-दीपकमणी दाजुभाइ
वि.सं. ०१९-२० सालतिरको कुरा हो यो । ऊ ६-७ कक्षामा पढ्थ्यो । पिताजीले नयाँ किताब किन्न दिएको पैसा लिएर ऊ किताब पसल त पुग्थ्यो तर कोर्सबाहिरको किताब किन्न हतारिन्थ्यो । पटवारी बुक स्टलमा गएको सम्झना त उसलाई अहिले पनि झलझली आउँछ ।
ऊ भन्छ, ‘केही किताब रोजिसकेपछि मेरा आँखा शरतचन्द्र चटोपाध्यायको देवदासमा पर्‍यो ।’ उसलाई थाहा पनि थिएन ऊ किन त्यो किताब किन्न खोजिरहेछ । पसले पटवारीले उसलाई त्यो किताब कोर्समा नभएको जानकारी दियो । तर, उसको मन मानेन । कोर्सबाहिरकै भएर पनि उसले त्यो किताब किनिछाड्यो । साढे दुई रुपैयाँमा किनेको देवदासबाट उसको अध्ययन यात्रा सुरु भयो । उसले कोर्सबाहिरको किताब पढेको यो नै पहिलो थियो । ऊ सम्झिन्छ, ‘देवदास पढेपछि म अर्कै भइसकेको थिएँ ।’
साढे दुई रुपैयाँको देवदासबाट उसको पहिलो अध्ययन यात्रा मात्र सुरु भएन मानवीय व्यवहारलाई संवेदनाको सतहबाट हर्ेर्ने बानीको विकास पनि भयो । हो, त्यही साढे दुई रुपैयाँको देवदासबाट नै उसको साहित्यिक लगाव बढेको हो । बीस सालमा कोर्सबाहिरको किताब पढेर साहित्यिक क्षेत्रमा उत्रिएको उसको पहिलो रचना वि.सं. ०२५ सालमा बनारसबाट प्रकाशित भानुउदयमा प्रकाशित भयो ।
बलिरहेको दियोले मलाई भन्छ
म उज्यालो छु, म जल्छु, प्रकाश फिजाउँछु
तर मेरो सलेदोको ठूलो दोष….?
कालो धुवाँले रेखा बनाउँछ
सरल रेखा ।
(लाँकुरीको पात पेज नं. १)
प्रसङ्ग हो प्राध्यापक डाक्टर हरि शर्माको । पाँच वर्षको उमेरमा भारतको आसाम, गुवाहिटी पुगेको उसले प्रारम्भिक शिक्षा पनि भारतबाटै सुरु गर्‍यो । पिताजीको जागिरसँगै बाल्यकालमा विभिन्न स्थान र परिवेशको अनुभव संगाल्न पाएको हरिले नेपाली कविताको क्षेत्रमा आफ्नो लगावलाई उपलब्धिपूर्ण क्षेत्रमा गर्‍यो । जसको कारण ऊ मात्रै होइन उसको सक्रियताले नेपाली कविता पनि सम्मानित बन्यो । आजको यो लेखोट डाक्टरले गरेको त्यही सम्मानित कामका लागि सानो सम्मान र आदर हो ।
डा. हरि शर्मालाई सम्झिनासाथ हामी नवकवितालाई सम्झिन्छौँ । उसले कवितालेखनको आफ्नो मोहलाई कविता विस्तार र कविलाई फोरम दिने काममा प्रयोग गर्‍यो । जसले नेपाली कवितामा ठूलै उपलब्धि हात पर्‍यो । नवकवितामा कविता छापेर कविता-यात्रा सुरु गरेका धेरै कवि अहिले मुलुकका प्रतिनिधि कवि बनेका छन् । वि.सं. ०४२-४३ को समय कविहरूलाई कविता छाप्न नै धौ-धौ थियो । कविता लेख्यो तर छाप्ने ठाउँ थिएन । एकाध पत्रिका थिए । ती सब नयाँ र सम्भावना बोकेका कविहरूका लागि थिएन । नयाँ कविहरू स-सानो मण्डली बनाउँथे र आफू-आफूमा सुनाउँथे । त्यस्तो बेला डा. शर्माले नवकविताको प्रकाशन सुरु गरे । जुन नेपाली कविहरूका लागि ठूलो फोरम नै सावित भयो । जसले निकै कविहरूलाई मूलधारमा लिएर आयो । यस सन्दर्भमा डा. शर्माको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।
आजको सन्दर्भ भने अलि बेग्लै छ । नवकविताको प्रकाशन र नेपाली कविताको उपलब्धिका बारेमा फेरि लेख्नैपर्छ । तर, आज चर्चा गरौँ मनका वनफूलको । डा. हरि शर्माको नयाँ कवितासङ्ग्रह मनका वनफूलको । यो उसको पहिलो कवितासङ्ग्रह पनि हो । कविता-यात्राको ४० वर्षपछि प्रकाशित यस कृतिमा ६२ वटा कविताहरू सङ्कलित छन् । छोटा मीठा यी कविताले कविता पारखीहरूलाई आनन्द दिन्छन् । कवितामा छोटा र सहज शब्दावलीको प्रयोग गरिएको छ । मन र प्रकृतिका कुराहरूमा कविताको भावभूमि तयार पारिएको छ । अझ प्रत्येक कवितामा कविको इमानदारी प्रस्ट हुन्छ । छलछाम र वाद र सिद्धान्तका ठूलाठूला परिभाषाबाट मुक्त यी कविताले सरल कविताको शक्तिलाई एकचोटि फेरि सावित गरिदिएको छ ।
मनका वनफूल मूल्यवत्ता र सम्प्रेषणीयताका दृष्टिले महत्त्वपूर्ण छ । कविताले भावव्यञ्जनालाई पनि आत्मसात् गरेको छ । मितव्ययी भाषामा चामत्कारिकपूर्ण भावव्यञ्जना गर्ने क्षमताका कारण पनि डा. शर्माका कविता पढनीय बनेका छन् । हरिका कविताहरू पढ्न थालेपछि पढिरहन मन लाग्छ । हरिको कविताको अर्को सुन्दर पक्ष भनेको सरल शब्दहरूमा उसले कवितामा दर्शनलाई लिएर आएका छन् । मानिसको जीवन जति सहज छ त्यति नै जटिल पनि । त्यही जटिलताबाट पार पाउन सरल जीवनशैली एक मात्र उपाय भन्ने दर्शन हरिका कवितामा पाइन्छ ।
सेतो पाना कोरिएको कालो
अमूर्त अनुहार खोजेर बस्नुबाहेक
जिन्दगी, तिमीले मलाई के दियौ र ?
(मौसम बदलिएर क्यारे । पेज नं. ५६)
डा. हरि मनको कवि हो । ऊ मनको कुरा गर्छ । प्रकृतिको कुरा गर्छ । समयको कुरा गर्छ । असन्तुष्टिभन्दा पनि सन्तुष्ट हुन सक्ने उपायहरूका बारेमा कुरा गर्छ । उसलाई थाहा छ खराब छ भनेर मात्र हुँदैन । असल गर्न पहल नगरी खराबी हट्दैन । उसको कविताकर्म यही असल गर्ने प्रयास पनि हो । खराबीको विरोधमात्र केही होइन । असलको सुरुवात नै महत्त्वपूर्ण हुन्छ । यो कुरामा हरि विश्वस्त छ । ऊ जीवनलाई सुखद सुरुवातका लागि व्यस्त राख्न रुचाउँछ ।
मनका वनफूलका केही सीमाहरू पनि छन् । जस्तो कि कवितासङ्ग्रहका सबै कविता राम्रा छैनन् । केही कविता उत्कृष्ट छन् । सरल शब्दमा विशाल क्षमता र अर्थहरू राख्छन् । तर, केही कविता नराखेको भए पनि हुन्थ्यो । सुन्दर छपाइ र साजसज्जा रहेको मनका वनफूलमा केही प्राविधिक गल्तीहरू पनि छन् । पेज नं. ९ र १४ मा एउटै कविता छापिएका छन् । दुई फरक-फरक शीर्षकमा । दुवै एकै कविता भए पनि शीर्षक फरक छ ।
समग्रमा डा. हरि शर्माको कविताप्रतिको लगाव र त्यो लगावले नेपाली कवितालाई मिलेको उपलब्धि सानो छैन । ४२ सालदेखि अनवरत नवकविताको प्रकाशन होस् या ४० वर्षपछिको पहिलो कवितासङ्ग्रह दुवैमा हरि प्रिय छ । उनको मिहिनेत सम्मानयोग्य छ ।