के आशामा रुस पुगे उत्तर कोरियाली नेता किम ?

के आशामा रुस पुगे उत्तर कोरियाली नेता किम ?


उत्तर कोरियाली नेता किम जङ–अन आज (बुधबार) रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तक पुगेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा किम रुस पुगेका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

एपीएफका अनुसार राष्ट्रपति पुटिन र नेता किमबीच भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरेको थियो । क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

गत फेबु्रअरीका भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।

किम बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लागेका उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो । उनलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जनाएको छ ।

आफ्नो देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिनुभएको छ । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता दिएका थिए ।

नेता किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका इतिहास छ । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए ।

विगतमा पूर्वसोभियत सङ्घसँग निकै राम्रो मैत्रीपूर्ण सम्बन्ध रहेको भएपनि सन् १९९० को दशकमा रुसको बिघटनपश्चात रुस र उत्तर कोरियाको सम्बन्ध चिसिएको मानिन्छ । रुस आफैँ आर्थिक सङ्कटमा परेपछि उत्तर कोरियाले रुसबाट अपेक्षित सहायता प्राप्त गर्न नसकेको विश्लेषकले बताएका छन् ।

विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वीशहरमा रोजगारीका लागि पुग्ने गरेका छन् । ज्ञात रहोस्, रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वीक्षेत्र भ्लादिभोस्तक पुग्दै छन् ।

सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन् ।

विश्लेषकका अनुसार किम अमेरिकाको साथमा उभिएर व्यापक अन्तर्राष्ट्रिय सहयोगको आशामा रहेका छन् ।