राजधानीबाट ‘यौन धन्दा’मा संलग्न १२५ पक्राउ

राजधानीबाट ‘यौन धन्दा’मा संलग्न १२५ पक्राउ


राजधानीमा हुने अनैतिक यौन क्रियाकलाप रोक्न प्रहरी विशेष रूपले सक्रिय भएको छ । राजधानीका विभिन्न क्षेत्रमा बसेर महिलालाई फकाएर विभिन्न होटेल तथा रेस्टुरेन्टमा लगी अनैतिक क्रियाकलापमा संलग्न गराउने एक सय २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राजधानीका नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चाबहिललगायतका क्षेत्रबाट महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई पक्राउ गरेको हो ।

यसका लागि महिला प्रहरीलाई सादा पोसाकमा ती क्षेत्रहरूमा परिचालन गरिएको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले त्यस्ता अनैतिक क्रियाकलाप हुने ठाउँलाई विशेष ध्यान दिएर ती क्षेत्रमा छापा मारेको जानकारी दिए । उनले भने, ‘काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्न प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।’