पाँच महिनामा एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

पाँच महिनामा एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए


संयुक्त राष्ट्रसंघीय आप्रवासन निकाय (आईओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ । यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् ।

आईओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ । इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरू स्वदेश फर्किएको बताइएको छ ।

यसैबीच, पाकिस्तानबाट नौ हजार ५१९ जना तथा युरोपेली मुलुकहरूबाट ७१५ जना अफगानी स्वदेश फर्किएका हुन् ।

अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।