मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । उनको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टि गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका थिए। पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए ।
देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए । मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ ।
अहमद शाहलाई फुटबलमा अत्यन्त धेरै रुचि रहेको र फुटबल क्षेत्रमा उनको ठूलो योगदान रहेको भन्दै मलेसियामा उनलाई उच्च सम्मान गर्ने गरिएको छ । उनी झण्डै दुई दशकसम्म फुटबल सङ्घ मलेसियाको अध्यक्ष भएका थिए भने सन् १९९४ देखि २००२ सम्म एशियन फुटबल सङ्घको अध्यक्ष रहेका थिए ।
मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा बनेका छन् । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उनी मलेसियाको १६औँ राजा बनेका हुन् । त्यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि उनलाई नयाँ राजा चयन गरिएको हो ।
मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन रहे पनि यसअघिका राजाले समय पूरा नहुँदै व्यक्तिगत कारण देखाउँदै राजगद्दी परित्याग गरेका हुन्् ।
बुधबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए । त्यसपछि उनी केन्द्रको राजा बनेका सिन्ह्वाले जनाएको छ ।
सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । उनीहरूले प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ भने अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था छ ।
प्रतिक्रिया