खेलकुदमा झोलेहरूको बिगबिगी-श्रीविक्रम भण्डारी

खेलकुदमा झोलेहरूको बिगबिगी-श्रीविक्रम भण्डारी


खेलकुदको अस्मिता खुद्रा भाउमा लिलाम
प्रजातन्त्रको उदयपश्चात् खेलकुदको कायापलट हुने कुरामा विश्वास राख्नेहरू अहिले धुरुधुरु रोएर बस्नुपरेको छ । आफ्नो मानसपटलमा खेलकुदको सुन्दर तस्बिर सजाउनेहरू अहिले आफैंलाई धिक्कार्न थालेका छन् । खेलाडी, प्रशिक्षक, कर्मचारीहरूमा नैराश्यता छाएको छ । खेलकुदको यस्तो दुर्दशा देखेर कतिपयले पलायनको बाटो आत्मसात् गरिसकेका छन् भने कति यही बाटोमा हिँडने प्रयास गरिरहेका छन् । आखिर किन त ? यो वास्तविकतालाई कसैले बुझ्ने प्रयास गरेन ? अहिले यो प्रश्नको जवाफ लाखौँ खेलप्रेमीले मागेका छन् । तर, विडम्बना ! जवाफ अनुत्तरित र भविष्यकै गर्भमा छ । सायद कहिल्यै आउँदैन होला पनि । वीरबलको खिचडीजस्तै बनेको नेपालको खेलकुद अब कहिले पाक्ला र खेलाडीले त्यसको स्वाद चाख्न पाउलान् त्यो निकै विडम्बना बनेको छ ।
प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा हुने ठाउँमा राजनीतिक दलहरूको प्रतिस्पर्धा हुन थालेपछि खेलकुद अहिले नराम्रोसँग नाङ्गिन पुगेको छ । खेलकुदमा राष्ट्रिय झन्डा नभई पार्टीको झन्डा गाडिन थालेको छ । एकले अर्कामाथि शक्ति पर््रदर्शन गर्ने थलोको रूपमा खेलकुदको आबरुमाथि खेलिन थालेको छ । खेलाडीको सट्टा मुन्द्रे, चुल्ठे र राजनीतिक कार्यकर्ताको भीडभाड देखिन थालेको छ । खेलकुदमा दिनप्रतिदिन यस्तो विकृति र अराजकता बढेपछि खेलाडीको मनमा कुठाराघात भएको छ । उनीहरूको अनुहार मलिन देखिएको छ । आफ्नो भविष्य र गन्तव्यमा राजनीतिक हस्तक्षेपको पराकाष्ठा देखेर उनीहरू आफूलाई खेलाडी भन्नसमेत हिचकिचाइरहेका छन् । पवित्र अनि रचनात्मक ठाउँमा दलका कार्यकर्ताहरूले परेड खेल्दा र राजनीतिक गफ चुट्दा आफू खेलकुदमा नभई अन्यत्रै ठाउँमा आएको खेलाडीहरूले महसुस गर्न थालेका छन् । वास्तवमै खेलकुद केही सातायतादेखि खेलकुद नभई राजनीतिक पार्टीको कार्यालयजस्तै बनेको छ ।
राज्य र राजनीतिक दलहरूले खेलकुदप्रति सौतेलो व्यवहार गरेेको अहिले दुई दशकभन्दा बढी भइसकेको छ । यो समयमा खेलकुदमा विभिन्न दलका कार्यकर्ताले खेलकुदलाई हाँक्ने प्रयास गरे पनि उनीहरूले अन्त्यमा खेलकुदको चहर्‍याइरहेको घाउमा नुन-खुर्सानी दल्ने काम मात्रै गरेका थिए भन्दा अतिशयोक्ति नहोला । समग्र खेलकुदको विकासको नाममा आफ्ना कर्याकर्तालाई पोस्ने काम गरेका थिए । काङ्ग्रेस, एमाले, राप्रपा र मधेसवादी दलहरूले खेलकुदलाई युवाशक्ति परिचालन गर्ने निहुँमा पार्टीका झोेलेहरूलाई नियुक्ति गरेर खेलकुदको अस्मितालाई थोक र खुद्राबजारमा हचुवाको भाउमा बिक्री र लिलामी गरेका थिए । तसर्थ अहिले खेलकुदको संवेदशीलताको गन्ध राष्ट्रिय खेलकुद परिषद्बाट आउन छोडेर तिनै बेचिएका गल्ली र चोकबाट आउन थालेको छ । नामले खेलकुदको सर्वोच्च निकायको रूपमा राखेप आसीन भए पनि नामै उसका लागि सबथोक बन्न पुगेको छ । देखावटी र आवरणमा मात्रै । र पनि राज्यको खेलकुदप्रतिको धारणा र छोपिएको कालो पट्टी खुल्ने कुनै सङ्केत देखिएको छैन । कहिले खुल्छ त्यसको अत्तोपत्तो पनि छैन ।
आजसम्म खेलकुदले राज्यसँग केही मागेको छैन । भएका सीमित साधन-स्रोतहरूको परिचालन गरेर समग्र खेलकुदको विकासमा लागेको छ । यही स्रोत र साधनबाट पनि अन्तराष्ट्रमा मुलुकको मान सम्मान र प्रतिष्ठा बढाउने कार्य गरेको छ । मुलुकको झन्डालाई अन्तराष्ट्रमा फहर्‍याएर नेपाल सगरमाथा र बुद्धको मात्र देश नभई खेलाडीहरूको देशको रूपमा पनि चिनाएको छ । तर, अफसोच, यसको बदलामा राज्यले खेलकुदको ‘खे’समेत नजानेका र नबुझेका विशुद्ध राजनीतिक कार्यकर्तालाई खेलकुदमा होमेर खेलकुदको हर्ुमत लिनेे कार्य मात्रै गरेको छ । परिणामस्वरूप २१औँ शताब्दीमा पनि नेपाल एउटै दशरथ रंगशालामा सीमित हुन पुगेको छ । खेलकुददेखि सांस्कृतिक र राजनीतिक कार्यक्रम उद्गमस्थल मानिएको दशरथ रंगशाला हरेक दृष्टिकोणले पहिलो रोजाइमा परे पनि यसको जीर्णताबारे भने सबै पक्षले अनसुनी र अनदेखी गरेका छन् । राज्यबाट खेलकुद सधैं यसरी नै उपेक्षित रहने हो भने एक दिन पुन: दशरथ रंगशाला काण्ड नदोहोरिएला भन्न सकिँदैन ।
खेलकुदलाई राजनीतिक दलले हाँक्दा कस्तो प्रदूषण छोडेर गए सायदै भनिरहनुपर्ला । उनीहरूले छोडेर गएको प्रदूषणको प्रभावले अहिले पनि खेलकुद निसास्सिरहेको छ, गन्हाइरहेको छ । यो बेलामा खेलकुदको लगाम समाउने जिम्मेवारी एमाओवादीलाई प्राप्त भएको छ । जसको निर्देशनमा युवराज लामाले खेलकुदलाई हाँक्ने अवसर पाएका छन् । खेलकुदमा आमूल परिवर्तनको खाँचोलाई आत्मसात् गरेका लामाले छोटो समयमा पनि सकारात्मक छनक देखाउन सफल भएका छन् । आफ्नो उद्देश्य र प्रतिबद्धता स्वच्छ र स्वस्थ खेलकुद रहेको कुरालाई सार्वजनिक गर्ने क्रममा लामाले खेलकुदका फोहोरमैला बढार्नेपट्ट िलागिसकेका छन् । लामाको यो प्रयासले खेलकुदमा सुधारका सङ्केत देखिए पनि जसले खेलकुदलाई फोहोरको डङ्गुरको रूपमा परिणत गरे तिनीहरूलाई भने यो कुरा पाच्य भएको छैन । अर्थात् उनीहरूलाई लामाको कदमले पोल्न पुगेको छ । उनीहरूले यो कुरालाई ठूलो बखेडाको रूपमा प्रस्तुत गरेका छन् । जुन आफैंमा हाँस्यास्पद छ । तसर्थ एउटा सकारात्मक सोच भएको व्यक्तिले नकारात्मक सोच भएका व्यक्तिहरूसँग सम्झौता गर्न बाध्य हुनुपरेको छ । जुन भविष्यमा खेलकुदका लागि दुर्भाग्य पनि हुनसक्छ । सतीले सरापेको देशमा राम्रो काम गर्ने मान्छेको खुट्टा तानिएन भने त्यसलाई अनौठो मान्नु स्वाभाविकै हो ।
कुनै पनि परिवर्तनका लागि उथलपुथल हुनु स्वाभाविकै हो । त्यो हुनुपर्छ पनि । अहिले खेलकुदमा जे भएको छ, ठीक भएको छ । यसका लागि सदस्यसचिव लामालाई धन्यवाद दिनुपर्छ । काम गर्नेभन्दा पनि विवाद मात्रै गर्ने र गराउनेलाई घोक्रेठ्याक लगाउनु न्यायसङ्गत हो । यसलाई सबैले स्वीकार गर्नुपर्छ । यसमा कसैले विवाद गर्छ भने बरु त्यो न्यायसङ्गत हुँदैन । त्यो खेलकुदको विकासको विरोधी भनेर बुझे हुन्छ । आजभन्दा दुई दशकअगाडि गर्नुपर्ने कार्य ढिलै भए पनि अहिले शुभारम्भ भएको छ । यसले खेलकुदमा सकारात्मक सन्देश पनि दिएको छ । अहिले जुन उथलपुथलका घटना भएका छन् त्यो समय सान्दरि्भक र स्वागतयोग्य छन् । बिनास्वार्थ कसैले खेलकुद विकासका लागि लामो समयपछि दूरदर्शी भएर कदम उठाएको छ । सङ्घ गठन विघटन मात्रै नभएर खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका निभाउन सक्ने व्यक्तित्वको छनोट भएको छ । खेलकुदको विकास र अराजकताविरुद्ध लड्ने एजेन्डा बनाएर ऐन, कानुनले दिएको र पाएको अधिकार प्रयोग गर्नुलाई कदापी तानाशाही भन्न मिल्दैन । अझ राजनीतिले गाँजेको खेलकुदलाई राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रबाट मुक्ति दिलाउन प्रतिबद्धता साथ अगाडि बढ्नु त्योभन्दा सकारात्मक पक्ष अरू हुनै सक्तैन । वर्तमान अवस्थामा खेलकुदमा नाङ्गो नाच नाच्न सकिने भए पनि नाङ्गो नाच हेर्ने कति छन् त्यसमा सबै जिम्मेवार राजनीतिक दलहरूले आँखाले देख्न नसके दूरबिन लगाएर हर्ेदा उपयुक्त हुनेछ । तसर्थ खेलकुदलाई कसैको पेवा र बपौतीभन्दा पनि हाम्रो हो भनेर सम्झिनु सबैका लागि कल्याण हुनेछ । पशुपतिनाथले सबैलाई सद्बुद्धि देऊन् ।

ग्यालेक्सी कप खुला पौडीको तयारी
नेपाल पौडी सङ्घको आयोजना तथा ग्यालेक्सी पब्लिक स्कुलको प्रायोजनमा ११औँ ग्यालेक्सी कप उमेर समूह तथा खुला पौडी प्रतियोगिता साउन ३० गतेदेखि हुने भएको छ । दुईदिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडीपोखरीमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उमेर समूहतर्फ ३२ तथा खुलामा १८ स्पर्धा समावेश गरिएको छ । जम्मा दुई सय ५० प्रतिस्पर्धीको सहभागिता रहनेछ । त्यसमा खुलातर्फ ७५ तथा उमेर समूहमा २५ विद्यालयका एक सय ७५ जना सहभागी हुनेछन् । ग्यालेक्सी कपकै दौरान मास्टर्स पौडी प्रतियोगिता पनि हुने भएको छ । मास्टर्समा स्वदेशी तथा विदेशी गरी सयजनाको सहभागिता रहनेछ । पौडी सङ्घका अनुसार मास्टर्सको प्रतियोगिता नेपालमा हुन लागेको यो पहिलो अवसर हो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पौडी सङ्घकी उपाध्यक्ष एवम् ग्यालेक्सीकी प्रिन्सिपल गीता राणाको अध्यक्षतामा मूल आयोजक कमिटी गठन गरिएको छ । विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

पत्रकारमाथि दुर्व्यवहार हुँदा एन्फा मौन
नेपाल र श्रीलङ्काबीच भएको यू-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको रिपोरि्टङका लागि रंगशाला पुगेका राजधानी दैनिकका खेल पत्रकार मनोज घिमिरेलाई प्रहरीले दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलनका लागि रंगशाला पुगेका पत्रकार घिमिरेलाई प्रहरी निरीक्षक हरि बस्यालले रंगशाला छिर्न रोक लगाउँदै हातपात गर्ने प्रयास गरेका थिए । आफू सञ्चारकर्मी भएको बताउँदा पनि निरीक्षक बस्यालले रंगशाला छिर्न नपाइने भन्दै हातपात गरेका थिए । एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले वास्तविकता बुझ्दाबुझ्दै पनि गैरजिम्मेवारीपूर्ण ढङ्गले अभिव्यक्ति दिँदै आएकोमा घिमिरेले आपत्ति जनाएका छन् । गेटमा टिकट र पास निरीक्षणका लागि एन्फाले नै स्वयम्सेवकको व्यवस्था गरेको छ । पास जाँच गर्ने अख्तियारी सुरक्षाकर्मीलाई नभएको एन्फाले बताएको छ । पत्रकार घिमिरेमाथि भएको दुर्व्यवहारको नेपाल पत्रकार महासङ्घ राजधानी दैनिक प्रतिष्ठान शाखा र नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार सङ्घले विज्ञप्तिमार्फत भत्र्सना गरेका छन् । छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उनीहरूले दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई तत्काल कारबाही गरी भयबिना समाचार सङ्कलनको वातावरण बनाउन एन्फा र सरोकारवालासँग मागसमेत गरेका छन् । यो विषयमा अखिल नेपाल फुटबल सङ्घले कुनै चासो नराख्नु र प्रतिक्रिया नजनाउनुमा नियोजित षड्यन्त्रको राग आएको छ । एन्फाको यो मौनताले पत्रकारमाथि भएको दुर्व्यवहारप्रति उसको समर्थन रहेको देखिन्छ ।

युवराज र सिजरिन च्याम्पियन
दोस्रो भेट्रान्स पुरुष तथा महिला टेबुलटेनिस प्रतियोगिता हालै सम्पन्न भएको छ । पुरुष एकलतर्फ ५० वर्षमाथि युवराज खाती पहिलो भएका छन् भने महिला एकलको ४५ वर्षमाथि सिजरिन शाहले बाजी मारिन् । लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा युवराजले प्रकाश श्रेष्ठ र सिजरिनले रेश्मा शाह श्रेष्ठलाई पराजित गरेका थिए । नेपाल एमेच्योर भेट्रान्स एथलेटिक कमिटी तथा अनुप स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुष एकलको ४५ वर्षमाथि मनोहरि थापा, ५५ वर्षमाथि आनन्द ध्वाख्वा र ६० वर्षमाथि इटो मासानोपु पहिलो भएका थिए । विजेतालाई पूर्वटेबुलटेनिस खेलाडी जीपी लोहनीलगायतले पुरस्कार वितरण गरेेका थिए । उक्त अवसरमा महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई नगद पाँच हजार नगदसहित सम्मान गरिएको थियो । त्यस्तै, पूर्वखेलाडी गंगाबहादुर श्रेष्ठ र नीनु शाहलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा करिब ६० जना सहभागी थिए ।

गोरखशमशेरको परेवा उडान
नेपाल परेवापालक सङ्घद्वारा आयोजित प्रतियोगितामा गोरखशमशेर जबराले पहिलो स्थान हासिल गरेका छन् । उनले कुल पाँचवटा परेवा २६ घन्टा ३३ मिनेट आकाशमा उडाएका थिए । २६ घन्टा १६ मिनेट परेवा उडाएका सानुराजा रञ्जित दोस्रो तथा २१ घन्टा १३ मिनेट परेवा उडाएका हरिशकोजु श्रेष्ठ तेस्रो भए । शीर्ष तीन स्थान हासिल गर्नेले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । उपाधि विजेता गोरखको नौकडा परेवा उत्कृष्ट ठहरियो । नौकडा ९ घन्टा ३८ मिनेट आकाशमा उड्दै उत्कृष्ट भएको थियो । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सोल्टीमोडस्थित दरबार बैंक्वेटमा आयोजित एक कार्यक्रमबीच नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि आयोजक सङ्घका पदाधिकारी, कलाकार श्रेष्ठलगायतले देशमा स्थायी शान्तिको कामना गर्दै शान्तिको प्रतीक परेवा उडाएका थिए । उक्त प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका २१ जना परेवा पालक सहभागी थिए ।