सङ्घीय, गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधान जारी गर्ने क्रममा संविधानसभा सदस्य रहेका र त्यसअघि चार वर्षसम्म संविधानसभा सदस्यको हैसियतमा रहेका कुल एक हजारभन्दा बढीलाई सरकारले राष्ट्रपतिमार्फत विशेष पदक तथा कदरपत्र उपलब्ध गराउने भएको छ ।
संविधान जारी गर्ने र नगर्ने दुई संविधानसभाका सदस्यहरूको कुल सङ्ख्या १२०२ हुने भए पनि करिब डेढ सयजना दोहोरिएर सभासद् भएका र केही व्यक्तिहरू आपराधिक क्रियाकलापमा संलग्न रहेको पुष्टि भइसकेको हुनाले एक हजारदेखि बढीमा १०५० सम्म व्यक्ति यसरी सम्मानित हुने कोटिमा परेका छन् ।
राष्ट्रपतिबाट प्रदान गरिने कदरपत्र र पदक ग्रहण गर्न जेठ १६ गते राष्ट्रपतिनिवासमा दिनभरिको कार्यक्रम राखिएको छ । बिहान आठ बजे शुरु हुने पदक वितरण कार्यक्रम दिवाभोजपछि पुनः शुरु गरिने बुझिएको छ । राष्ट्रपति विद्या भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि संविधानसभा सदस्य रहिसकेका हुन् । पूर्वराष्ट्रपतिले राष्ट्रपतिबाट पदक थाप्न मिले पनि राष्ट्रपति स्वयम्ले कसरी पदक ग्रहण गर्ने हुन् जिज्ञाशाको विषय बनेको छ ।
वर्तमान संविधान शुरुदेखि नै विवादमा परेको र मुलुकको ठूलो हिस्साले यसप्रति असहमति जनाएको भए पनि संविधान निर्माण हुनुलाई विदेशी शक्तिकेन्द्र मात्र नभई काङ्ग्रेस र कम्युनिस्ट नेताहरूले समेत ‘महान् उपलब्धि’ ठान्दै आएका छन् । यही महान् उपलब्धिमा योगदान पुऱ्याएकोमा उच्च सम्मान प्रकट गर्न जेठ १६ गते राष्ट्रपतिनिवासमा विशेष समारोहको आयोजना गरेर सभासद्हरूलाई पदक र कदरपत्र उपलब्ध गराउन लागिएको हो । तर, नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रपतिबाट दिइने उक्त पदक र कदरपत्र अस्वीकार गर्ने भएका छन् ।
संविधान निर्माणको समयमै सभासद् रहेका डा. सिंहले त्यसबेला संविधानको अन्तरवस्तुमा असहमति जनाएका थिए । केही दिन विरुद्धमा विभिन्न क्रियाकलाप गर्दै हिँडेका सांसद अमरेशकुमारले पार्टीको कडा ह्विपपछि मात्र ‘निर्माण प्रक्रिया’मा सहभागिता जनाएका थिए । संविधान निर्माणमा सहभागिता जनाएर पनि अहिले कदरपत्र र पदक लिन अस्वीकार गर्नुको कारणबारे ध्यानाकर्षण गर्दा सांसद सिंहको भनाइ छ, ‘राष्ट्रपतिबाट दिइने यस्ता पदक र प्रमाणपत्र म ग्रहण गर्न चाहन्नँ । यो मेरो अधिकारको कुरा हो । म समारोहमा सहभागी हुन पनि जान्नँ र पदक पनि लिन्नँ ।’
स्मरणीय छ, सांसद अमरेशकुमार सिंहले गत साता काङ्ग्रेस सभापतिद्वारा गठित छाया सरकारमा रहन पनि अस्वीकार गरेका छन् ।
प्रतिक्रिया