भावी चुनावका लागि आईजीपी तय !

भावी चुनावका लागि आईजीपी तय !


साढे तीन वर्षपछि हुने निर्वाचनको समयमा आफ्नो मानिसलाई प्रहरी महानिरीक्षक बनाउने गरी भएको एक निर्णयले प्रहरी सङ्गठनभित्र निकै ठूलो तरङ्ग पैदा गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेलले कनिष्ट भए पनि नातेदार भएका कारण एक एसएसपीलाई डीआईजीपीमा एक्लै पदोन्नति गराएपछि प्रहरीमा तरङ्ग पैदा भएको हो ।

करिब तीन वर्ष सिनियर वीरेन्द्र श्रेष्ठ तथा अन्य सिनियर एसएसपीहरू घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पन्छाएर एसएसपी विश्व पोखरेललाई डीआईजीपीमा एक्लै बढुवा गरिएको छ । कुनै आकस्मिक व्यवधान पैदा भएन भने ०७९ को संसदीय चुनावभन्दा अगाडि विश्व पोखरेल आईजीपी हुनेछन् र उनको प्रतिस्पर्धामा कोही पनि हुनेछैन ।

अन्य एसएसपीहरूलाई पनि सँगै बढुवा दिँदा आईजीपी बन्न प्रतिस्पर्धा हुने भएकोले प्रतिस्पर्धारहित किसिमबाट आईजीपी बन्ने बाटो खुला गर्न पोखरेललाई मन्त्री पोखरेलले एकल बढुवा गराएको बताइन्छ । यसप्रकारको घटना नेपाल प्रहरीको इतिहासमा पहिलोपटक भएको हो ।

यसअघि सक्षम प्रहरी अधिकृतहरूको टोलीलाई एकसाथ बढुवा गराउँदै लैजाने र योग्यहरूमध्ये एकलाई आईजीपी चयन गरेर अरूलाई एआईजीका रूपमा राख्ने परम्परा थियो । ‘अन्ठानब्बे ब्याच’का नीरज शाही, सैलेश थापा, हरि पाल र प्रद्मुम्न कार्कीलाई सँगसँगै बढुवा गरी अहिले डीआईजीपी तहमा पु¥याइएको छ ।

त्यस्तै ‘नब्बे टोली’का सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेल, ‘पचहत्तर टोलीका’का नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी, ‘उनान्सत्तरी टोली’का उपेन्द्रकान्त अर्याल, विज्ञानराज शर्मा, सुरेन्द्रबहादुर शाह र राजेन्द्रसिंह भण्डारी तथा ‘साठी टोली’का कुवेरसिंह राना, नवराज ढकाल र भीष्म प्रसार्इंलाई एकसाथ बढुवा गरी एआईजीपीसम्म पुऱ्याएपछि तीमध्येबाट एकलाई आईजीपी बनाउने गरिएको यियो । तर, विश्व पोखरेल भने बिनाप्रतिपस्र्धा आईजीपी बन्न पाउने भाग्यमानीमा परेका छन् । सिनियरहरूलाई पन्छाएर यसरी एकजनालाई मात्र बढुवा गरिएपछि प्रहरीभित्र निराशा र चरम असन्तुष्टि बढेको पाइएको छ ।