भारतको १५औँ प्रधानमन्त्रीका रूपमा मोदीद्वारा शपथग्रहण

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा मोदीद्वारा शपथग्रहण


छिमेकी मित्रराष्ट्र रतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई शपथग्रहण गराउनुभएको हो ।

हालै सम्पन्न १७औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नुभएको हो । प्रधानमन्त्रीका रूपमा ६८ वर्षीय मोदीको यो दोस्रो कार्यकाल हो ।

शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

विश्वका विभिन्न देशका नेताहरूलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त शपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नुभएको थियो । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् ।

यसपटकको शपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायतलगायत देशका विभिन्न पार्टीका नेताहरूलाई पनि बोलाइएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीका साथ उहाँको मन्त्रिमण्डलका ५७ सहयोगीहरूलाई पनि शपथ दिलाइएको थियो । मोदीका सबैभन्दा विश्वासपात्र अमित शाहले पनि मन्त्रीको रूपमा शपथ लिएका छन् । शाहलाई गृह या अर्थ मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेको बताइन्छ ।

सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्योभन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।

कूल ५४३ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने नराम्रोसँग खुम्चिएको छ ।