यसरी जन्माइन्छ ‘बोक्सी’

यसरी जन्माइन्छ ‘बोक्सी’


उनलाई गाउँघरमा ‘स्याउबूढी’ भन्छन् । तर, त्योभन्दा बढीचाहिँ गाउँहरूले उनलाई ‘बोक्सीबूढी’ भन्छन् । गाउँघरमा छिरिक्कै केही भइहाल्यो कि बोक्सीबूढीले बोक्सी लगायो भनेर गाउँमा सर्वत्र चर्चा गरिन्छ । अनि धामीझाँक्री लगाएर ती ‘स्याउबूढी’लाई मानसिक, नैतिक, सामाजिक र शारीरिक यातनासमेत दिन पछि पर्दैनन् गाउँले !

दन्त्यकथा सुनाएजस्तो महसुस लाग्ने उल्लेखित विवरण वास्तवमै मोरङको केरौन गाविसअन्तर्गतको एउटा गाउँमा विगत लामो समयदेखि चल्दै र हुँदै आएको सत्य घटना हो । ‘स्याउबूढी’ सम्पन्न एवम् शिक्षित ब्राह्मण परिवारकी एक वृद्ध महिला हुन् । आफू बसेको त्यस गाउँ र समाजमा उनका प्रशस्त नातेदारहरू पनि सँगै छन् । तर, ‘स्याउबूढी’का लागि आफ्नै नातेदारहरू नै अभिशापसिद्ध भएका छन् । घरायसी एवम् आन्तरिक चर्चा–परिचर्चा, आग्रह–पूर्वाग्रहसँगै आरोप–प्रत्यारोप शुरु भएपछि आखिर सर्वत्र गाउँमै ‘स्याउबूढी’ ‘बोक्सीबूढी’का रूपमा परिणत भई । यहाँसम्म कि गाउँघरमा मान्छेदेखि जनावरसम्मलाई सञ्चो–बिसञ्चो केही भयो कि गाउँलेको पहिलो कुदृष्टि तिनै स्याउबूढीमाथि पुग्छ ।

२१औँ शताब्दीको पूर्वसङ्घारसँगै विश्व वैज्ञानिक युग र प्रणालीको चरम सीमातिर उन्मुख छ । चिन्तन र सभ्यता, खोज र अनुसन्धानका क्रममा विश्व सदैव नयाँ चमत्कार पस्किन आतुर छ । तर, नेपाल भने जङ्गली युगबाट अनगिन्ती अन्ध र रुढी परम्परा एवम् कुसंस्कारको चिन्तन तथा मानसिकता बोकेर एउटा सभ्य समाजको रुमलिँदो खोज र चाहमा रुमल्लिइरहेको छ ।

परिणामतः अनेकौँ रुढी परम्परा र संस्कारसँगै नेपाली समाज बोक्सी प्रथाजस्तो घृणित दलदलमा नराम्रोसँग भासिन पुगेको छ । नेपाली जनमानसमा ‘बोक्सी’ प्रथाको त्रासदीपूर्ण मानसिकता बोकेर ‘मुर्दा शान्ति’सँग आफ्नोपनको विशेषता काखी च्यापेर बाँचेको छ । वास्तवमा बोक्सी प्रथा विकृति मात्रै कि यथार्थ पनि हो ? युवा चिन्तक एवम् कलाकार नारदमणि हार्तम्छाली भन्नुहुन्छ, ‘बोक्सी प्रथा एउटा मनोवैज्ञानिक रहस्य लुकेको जडविकृति हो । वास्तवमा विगतमा भए÷गरेका नराम्रा पक्षहरू नै भूत, पिसाच र बोक्सीका रूप हुन् ।’ उहाँका अनुसार तर हाम्रो देशमा चाहिँ स्थापित बोक्सी प्रचलन निर्धा, निमुखा–निःसहाय स्त्री जातिहरूमाथि मात्र थोपर्ने गरिएको छ ।

वर्गीय दृष्टिकोण र आर्थिक अवस्थाले बोक्सी प्रथाको विकृति बढाउनमा सशक्त भूमिका खेलेको हुन्छ । नत्र सुशिक्षित, धनाढ्य एवम् सभ्य समाजका कोही पनि बोक्सी कहलिँदैन– हार्तम्छालीको तर्क छ । उनका अनुसार वर्गचरित्र, वर्गशत्रु एवम् आर्थिक दुर्बलताको बोलवाला रहेको समाज, संस्कार र परिवारमा बोक्सीजस्ता जड विकृतिजन्य प्रथाको पनि बिगबिगी रहेको हुन्छ । यसअनुसार के अवधारणामा सहमति दर्शाउनुपर्छ भने समाजमा जहिले पनि शोषित एवम् पीडित वर्ग मात्र हरेक लाञ्छना र व्यवधानको सिकार बनिरहेको हुन्छ ।

विद्यमान बोक्सी प्रचलनको प्रमुख जिम्मेदार हामै्र समाज नै रहेको औँल्याउँदै इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रमेशकुमार भट्टराई भन्नुहुन्छ, ‘समाजमा प्रायः ‘बोक्सी’को नाममा धामीझाँक्रीको रूप धारण गरेर पीडित पक्षलाई झनै पीडा पु¥याउने गरिएको हुन्छ । तर, त्यतिबेला समाजचाहिँ सधैँ मौन बसिदिन्छ । बोक्सीको आरोप लगाएर बोक्सी झार्न भनी पीडित पक्षलाई धामीझाँक्रीबाट सिस्नोपानीले हिर्काउने, तातो फलाम, डाडु वा पन्युले डाम्ने र अम्रिसोको कुचोहरूले हिर्काउनेजस्ता जघन्य अपराध हुँदा पनि समाज मौन बस्न या उल्टै पीडित पक्षमाथि नै जाइलाग्ने गरेको तीतो अनुभव पनि प्रनाउ भट्टराई सुनाउनुहुन्छ । प्रनाउ भट्टराई भन्नुहुन्छ, ‘समाजमा बोक्सी झारिदिन्छ या लगाइदिन्छु भन्नेजस्ता भ्रामक त्रास एवम् डर देखाएर शारीरिक, मानसिक, आर्थिक र नैतिक शोषण गर्ने गरिएको पनि पाइन्छ । विविध डर र त्रासकै कारण शोषित वर्ग शोषक वर्गको विरुद्धमा कानुनी एवम् सामाजिक सहयोगार्थ अगाडि प्रस्तुत हुन सक्तैनन् र त्यहाँ अपराध लुक्ने र बढ्न भइरहेको हुन्छ ।’

‘कानुन छ अपराध छैन, अपराध छ कानुन छैन’को अवस्थाबाट गुज्रिरहेको हाम्रो देशको कानुनी प्रणालीले बोक्सीप्रथाजस्तो जघन्य अपराधका विरुद्धमा स्पष्ट एवम् उपयुक्त कानुनी निकासा निर्दिष्ट गर्न सकेको छैन । तर, कानुनी सहयोग माग्न आएसम्म पीडित पक्षलाई केही न केही, कुनै न कुनै सहयोगचाहिँ जुटाइन्छ । प्रनाउ भट्टराईका अनुसार घटनाको प्रकृति हेरेर अपराधीमाथि सार्वजनिक मुद्दा, ज्यान मार्ने उद्योग गरेको वा ज्यान मारेको मुद्दा लगाइन्छ ।

बोक्सी प्रथा आजको समाजमा घट्नुको सट्टा बढ्दो रहेको यथार्थलाई नकार्न सकिँदैन । नैतिक, चारित्रिक, सामाजिक, जैविक, आर्थिक एवम् वर्गीय दोषारोपण गरेर समाजमा पीडित पक्षलाई सदैव पीडन गरिएको हुन्छ । तथापि एकातिर स्पष्ट एवम् उपयुक्त कानुनको अभावमा अपराधीमाथि कारबाहीको कानुनी दुर्बलता त छँदै छ अर्कोतिर सामाजिक जागरणको अभावमा अपराध कानुनको कठघरासम्म आउन पाउँदैन ।

श्री ५ को सरकारले संवैधानिक एवम् सामाजिक मूल्य र मान्यताबाट सामाजिक संस्कारमा परिवर्तन ल्याउनेखालका कार्यक्रमहरू अगाडि सार्नुपर्ने विचार प्रस्तुत गर्दै युवा चिन्तक एवम् कलाकार हार्तम्छाली भन्नुहुन्छ, ‘सामाजिक पुनर्जागरण नै बोक्सी प्रथाको पतन हो ।’

महिला हक, हित र स्वतन्त्रताको चर्को विगुल फुक्ने सङ्घसंस्था एवम् नेतृत्वकर्ताहरूले सिंहदरबारमा मात्रै अनशन, जुलुस एव विरोध प्रदर्शन गर्ने विद्यमान प्रचलनभन्दामाथि उठेर सामाजिक पुनर्जागरणको पहल गरेर महिलामाथिको चारित्रिक, शारीरिक, मानसिक, आर्थिक, नैतिक र सामाजिक शोषण, उत्पीडन एवम् हिंसाको अन्त्य गर्नु आवश्यक देखिएको छ । – सुयर्मा राई

(२०५७ वैशाख ४ गते बुधबार, घटना र विचार साप्ताहिक)