जनमतको पहिलो प्रदर्शन

जनमतको पहिलो प्रदर्शन


हाल खेलकुद परिषद्ले १९९१/९२ सालताका, मे.ज. नरशमशेरको तत्वावधानमा भकुण्डोको खेल व्यवस्थित ढङ्गबाट विकास गर्ने आयोजना काठमाडौंमा बन्यो । जेएफसी (जाउलाखेल फुटबल क्लब) ‘ए’ र ‘बी’ दुई टिम, एनएफसी (नेपाल फुटबल क्लब), शिक्षा विभाग, महावीर, ठमेलले फुटबल टिमहरूलाई जमाई, ६ टिमले तुरुन्तै फुटबलको टुर्नामेन्टमा भाग लिए । त्यसबेला फुटबलको खेल निकै लोकप्रिय भइसकेको थियो । काठमाडौं र पाटन शहरमा जताततै साना–ठूला चौर भएकाले, टोलटोलमै जस्तो साना–ठूला फुटबलका टिम हुन्थे । खेल्न इच्छुक लडकाको लागि खेल्ने चौरको खाँचो थिएन ।

त्यसबेला मे.ज. नरशमशेरले उठाएको कदम चानचुने हुँदैनथ्यो । श्री ३ जुद्धशमशेरका जेठा नाति, हजुरिया जर्नेल बहादुरशमशेरका जेठा छोरा र पुलिसका तालुकवाला भएकाले उनको हाँक–धाक त्यसबेला ठूलो थियो । प्रधानमन्त्रीको पनि उनी निकै मन परेका थिए । छोरा, नातिहरूमध्ये प्रधानमन्त्रीको बढी को मनपरेको छ भन्ने सच्चा तथ्यको मापदण्ड त्यसबेला हुन्थ्यो उनीहरूको पछि लाग्ने चाकरीदारको ताँती ।

नरशमशेरको अघिपछि ग्वारग्वार्ती चाकरीदार दगुर्दथे– पैदल, साइकल र घोडा चढेर । त्यसैले नरशमशेरले जमाएको फुटबल टिममा राम्रो खेल खेलेर नरशमशेरलाई रिझाउने मौका छोप्न उनका चाकरीदारको होडबाजी चल्यो । जुन हालतमा पनि चाकरी गर्न तयार त्यसबेलाका नेपालीलाई खेल देखाएर चाकरी गर्न पाउनु त एक किसिमले इज्जतको कुरा र सौभाग्य थियो ।

पहिला महायुद्धपछि काठमाडौंमा चलेको फुटबलको खेललाई त्यसपटक नयाँ मोड दिने ज. नरशमशेरको प्रयासको सबैले स्वागत गरे । उनले खेलकुदमा त्यसबखत त्यसरी विशेष चाख नलिइदिएको भए, फुटबल खेलको स्तर आजभन्दा बाउन्न वर्षअघि नेपालमा त्यसरी फस्टाउने थिएन । श्री ३ जुद्धशमशेर त्यसबखत जाउलाखेल दरबारमा बसेकाले टुर्नामेन्ट पाटन, टुँडिखेलमा हुने निधो भयो । टुर्नामेन्टको कार्यक्रमअनुरूप शिक्षा विभागको शुरुमा एनएफसी र जीएफसी ‘बी’सँग खेल्न पर्ने भयो– फाइनलमा पुग्नलाई ।

यस्तो खेल चलाउन कसैले कसैसँग चार पैसा मागेनन्– खेलकुदलाई भनी ठेकेदार लगाएर लाखन रूपैयाँको तायदादमा चन्दा उठाउने त कुरा त्यसबखत पर जाओस् । चन्दा उठाउने चलन पनि थिएन । जाउलाखेलका ‘ए’ र ‘बी’ टिमलाई अजोड बनाउने धुनमा मे.ज. नरशमशेर लाग्नु स्वाभाविकै हो । ती टिमको टक्करमा ल्याउन एनएफसी (शारदाशमशेरको टिम) र शिक्षा विभागका टिमहरू (मे.ज. मृगेन्द्रशमशेर) तम्से । अर्थात् अब ‘ए’ क्लासका रोलवाला चन्द्रशमशेर र जुद्धशमशेरका परिवारमा बिस्तारै फुटबलको खेलद्वारा हानथाप शुरु हुन थाल्यो, जस्तो अघि झर्रा ‘ए’ र ठिमाहा ‘सी’ क्लास रोलवाला राणाले जमाएको फुटबलको टिम हुन्थ्यो ।

१९९१ सालको शुरुदेखि नै त्रिचन्द्र कलेज, दरबार स्कुल र पाटन स्कुलका लडकालाई लैनचौरमा जम्मा गराएर उनीहरूको खेल हेर्दै छनोट गर्ने क्रम चल्यो– रोमको एम्पिथिएटरमा विभिन्न राष्ट्रबाट जम्मा गरिएका कैदीको लडाक हेरी उनीहरूको लड्ने राष्ट्रिय तरिका र सीप रोमनले सिक्न र बुझ्न खोजेझैँ गरी । लैनचौर, छाउनी, सानो टुँडिखेल, सानोगौचर, जाउलाखेल, लगनखेल र पाटन टुँडिखेलमा त्यसताका राम्रा फुटबल खेल्ने मैदान थिए (त्यसपछि काठमाडौंमा जति जनसङ्ख्या, शिक्षा स्वास्थ्यको विकास गर्ने चर्चा बढ्यो उति चौर र पार्कहरू मासिन थाले) ।

काठमाडौंमा ठूलो रमझमका साथ फुटबलको खेल हुने भएको छ भन्ने हल्ला शहर–बजारमा फैलिएको, टुर्नामेन्टमा भाग लिन पाइन्छ कि भनेर सबै स्कुल र कलेजका विद्यार्थीले आफ्ना फुटबल खेल्ने खुबी र सीपको प्रदर्शन गरे । धेरै परीक्षणको वाद, सर्वश्री नजरमानसिंह प्रधान, मे.ज. अर्जुनशमशेर जबरा, रामनारायण शुक्ला, गोपालदास वैद्य, कृष्णप्रसाद श्रेष्ठ, सूर्यप्रकाशशमशेर जबरा, भीमबहादुर पाँडे त्रिचन्द्र कलेजबाट, राजेन्द्रबहादुर शाह, शमशेर गुरुङ, गोविन्दमान सिंह दरबार स्कुलबाट, केशरमान, गोपालमान श्रेष्ठहरू पाटन स्कुलबाट र बिजुलीमान सिंह प्रधान स्कुल गोश्वाराबाट टुर्नामेन्टमा भाग लिनका निमित्त छानिए । यसरी शिक्षा विभागको टिम खडा भयो र नयाँ ढाँचाबाट फुटबल खेलाइने अरे भन्ने खबरले पनि जनतालाई निकै आकर्षित पा¥यो ।

फुटबलको टुर्नामेन्ट पाटन, टुँडिखेलमा ठूलो सजधजले १९९१ सालको असारमा शुरु भयो । ठूला–साना गरेर ६ टिम खेल्न तम्सिए । अधिकांश टिम राणाजी र उनीहरूका चाकरीदारले भरिएका र शिक्षा विभागको टिममा एकाध राणाजी र बाँकी स्कुल, कलेजमा पढ्ने दुनियाँदारका छोराहरू भएकाले जनताको सहानुभूति र अभिरुचि स्वभावतः शिक्षा विभागको टिमतिर ढल्क्यो । चन्द्रशमशेरको देहान्तपछि राणाजीहरू आपसमा बाझिँदै र गल्दै गएका छन् भन्ने लख काट्न थालेका काठमाडौंका जनतालाई १९९० सालको राणा–राणाबीचको छैटौँ पारिवारिक घच्चीले खुराक दिएको थियो ।

काठमाडौंबाट धपिएका केही वीरशमशेर र भीमशमशेरका खलकका पुराना चाकरीवाद र उनका नातेदारले त चन्द्रशमशेर र जुद्धशमशेरका सन्तानलाई उस्तो मन पराउँदैनथे । अरू बेला यी मानिसले उनीहरूमाथि पोख्न नपाएको पुरानो रिस यही फुटबलको खेलमा फेर्न थालेका थिए । शिक्षा विभागको टिम त्यसै त जनप्रिय, उसमाथि पनि शुरुमा एकपछि अर्को टिमलाई उसले जित्न थालेकोले, काठमाडौं र पाटनका जनताले शिक्षा विभागको टिमलाई वाफ ! वाफ ! गर्न थाले– त्यसलाई आफ्नै टिमजस्तो गरी । जिताहाको पछि सबै लाग्छन् । त्यसमाथि स्कुल, कलेज, सार्वजनिक संस्था भएकाले त्यस टिमलाई सबैले आफ्नोजस्तो ठान्नु स्वाभाविकै थियो– कतिका नातागोता कलेजमा पढेका हुँदा ।

शिक्षा विभागको टिमले पाटन टुँडिखेलमा भकुण्डो खेल्ने दिन, पुलिसलाई फुटबल ग्राउन्डवरिपरिको भिड नियन्त्रण गर्न कठिन हुन्थ्यो– खास गरेर खेल जेएफसी ‘ए’ अथवा ‘बी’सँग शिक्षा विभागको घमासान पर्दा । जेएफसीका दुवै टिमका खेलाडी पनि तगडा थिए । मे.ज. नरशमशेर, क.प. रंगविक्रम शाह, क.प. लोकविक्रम शाह, पद्मबहादुर खत्री, बुच्चे कान्छा, चक्रबहादुर विष्ट, जुद्धे, जेएफसी ‘ए’ टिममा खेल्दथे । यस्तै तगडा थिए जेएफसी ‘बी’ टिमका खेलाडी– सर्वश्री कर्णेल नीरशमशेर, क. सुरेन्द्रशमशेर, क. इन्दुशमशेर, क. महेश्वरशमशेर, केदार र अरू चाकरीदारहरू ।

(त्यसबखतको नेपाल, भीमबहादुर पाँडे)