तलब विवादले सुडानमा बजेट रोकियो

तलब विवादले सुडानमा बजेट रोकियो


कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरूले सेना र कर्मचारीको बक्यौता तलब भुक्तानी नहुँदासम्म नयाँ बजेट ल्याउन नदिने बताएपछि बैठक स्थगित भएको हो ।

सभामुख एन्थोनी लिनो मकानाले सांसदहरूले उठाएका मागबारे सुनिसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।

दक्षिण सुडानका अर्थमन्त्री साल्भाटोर गाराङ माबियोर्डिटले बिहीबार आगामी आर्थिक वर्ष सन् २०१९–२० का लागि संसदमा करिब एक अर्ब ३० करोड अमेरिकी डलरको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो ।

दक्षिण सुडानमा विगत ६ महिनादेखि निजामती र सैनिकले तलब पाउन सकेका छैनन् ।

दक्षिण सुडानमा राजस्वको मुख्य स्रोत तेल उत्पादन र बिक्री हो । सन् २०१८ मा सुडानले दैनिक करिब १ लाख ७५ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्दछ ।