साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान


अमेरिकी सांसदहरूले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घन्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग करिब ८ अर्ब १० करोड अमेरिकी डलरबराबरको हातहतियार बिक्रीमा सहमति जनाइसकेका छन् । अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लिकन र डेमोक्र्याट्स पार्टीका सांसदहरूले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए । उक्त विधेयक ५३–४५ ले पारित भएको थियो ।

मध्यपूर्वका मुलुकमा तनाव उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो । अमेरिकाले अत्याधुनिक लडाकु विमान, लडाकु विमानको मर्मत तथा अरू उच्च क्षमताका हातहतियार बिक्री गर्न चाहेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कंग्र्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिएका छन् ।

कंग्रे्रेसले यमन संकटका सन्दर्भमा साउदी अरेबियालाई हतियार बिक्री गर्न नहुने भन्दै एक विधेयक पारित गरिसकेको छ । तर, उक्त विधेयकलाई राष्ट्रपति ट्रम्पले गत अप्रिलमा विशेषाधिकार (भिटो) प्रयोग गरी अस्वीकार गरेका थिए । संयुक्त राष्ट्रसंघले यमनमाथि भएको साउदी गठबन्धनको आक्रमणबाट यमनमा मानवीय संकट उत्पन्न भएको जनाएको छ । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले बताए । बेलायती एक अदालतले सरकारमाथि हतियार बिक्रीका सन्दर्भमा पुनर्विचार गर्न केही दिनअघि आदेश दिएको पनि मन्त्री फक्सले जानकारी दिए ।

‘हो, हामीलाई अदालतको आदेश चित्त बुझेको छैन र उच्च अदालतमा हामी अपिल गर्ने तयारीमा छौँ,’ मन्त्री फक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, उनले साउदी अरेबिया र उसका साझेदार मुलुकलाई यमनी द्वन्द्वमा प्रयोग हुने गरी हातहतियार बिक्री स्थगित गरिएको बताए ।

बेलायतले यमनी द्वन्द्व शुरु भएको सन् २०१५ यतामात्र करिब ६ अर्ब ४० करोड अमेरिकी डलरबराबरका हातहतियार साउदी अरेबियालाई बिक्री गरेको छ । जर्मनीले पत्रकार जमाल खसोग्जीको हत्यापछि सन् २०१८ देखि नै साउदी अरेबियालाई हातहतियार बिक्री गर्न छाडेको छ । जर्मनीले युरोपेली युनियनमा आबद्ध मुलुकहरूलाई पनि साउदी र यसको गठबन्धनका मुलुकलाई हतियार बिक्री रोक्न आह्वान गरिरहेको छ ।