आप्रवासीलाई घर फर्कन एक डलरमै हवाई यात्राको अवसर

आप्रवासीलाई घर फर्कन एक डलरमै हवाई यात्राको अवसर


मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्यअमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसरको घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रवर्धनात्मक योजनाबमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रूपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिकोसिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ ।

सन् २०१८ को अन्त्यसम्ममा हजारौँ मध्यअमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् । उनीहरू आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ ।

भोलारिस विमान सेवाले बेलाबेला आप्रवासीका लागि सुविधाजनक यात्राको अवसर जुटाउने गरेको छ ।