हतार छैन बिहेको -राजन घिमिरे

हतार छैन बिहेको -राजन घिमिरे


यतिबेला मोडलिङ क्षेत्रमा रमाइरहेकी छिन सुष्मा अधिकारी । करिब दुई दर्जन म्युजिक भिडियो र त्यत्तिकै हाराहारीमा टेलिविज्ञापनतिर आफ्नो उपस्थिति जनाइसकेकी सुष्माको लक्ष्य अब सिनेमाको हिरोइन बन्ने छ ।
० हिरोइन नै किन बन्नुपर्ने नि ?
– सिनेमाकी हिरोइन भएपछि विकल्पहरू धेरै फराकिलो हुने विश्वासका कारण ।
० किन मोडलिङ राम्रो छैन र ?
– राम्रो छ । तर, सिनेमाको क्षेत्र विस्तृत र फराकिलो छ ।
० फोटो सेसन पनि गरिएछ नि ?
– यो त अहिले अनिवार्य नै भइसकेको नि । फोटोबाटै स्क्रिनमा कस्तो अनुसार आउँछ भन्ने थाहा हुन्छ । अनि मिडियामा प्रचारप्रसारका लागि पनि फोटो सेसन आवश्यक रहेछ ।
० स्कुटी पनि किनिएछ नि । कमाएरै किनिएको हो ?
– पूरै त होइन, परिवारबाट पनि सपोर्ट भयो अनि किनेको ।
० कत्तिको सजिलो छ स्कुटी हुँदा ?
– पहिला ट्याक्सी चढ्दा पैसा खर्च धेरै हुने र टेम्पो चढ्ला समय नहुने । त्यसको अनुपातमा त पैसा र समय दुवैको बचाउ भएको छ ।
० कत्तिको र्याक गर्छन् नि बाटोमा ?
– बाइक चढ्ने केटाहरूका कारण धेरै ठाउँमा लडिने डर हुन्छ । उनीहरूले अव्यवस्थित तरिकाले बाइक हाँक्दा त्यसको असर स्कुटी चढ्ने लेडिजलाई पर्ने गरेको छ ।
० कलाकारितामा जमिन्छ होला त ?
– प्रयास गर्ने हो । हेरौँ प्रयास कत्तिको सफल हुन्छ ।
० फिल्म खेलाइदिन्छ भन्ने आश्वासनचाहिँ कत्तिको आउने गर्छ ?
– फिल्मबाट त अहिलेसम्म आश्वासन मात्रै आएको छ । काम भएको छैन । एक दिन राम्रो अवसर पाइने विश्वास भने छ ।
० धेरै हन्डर खाँदा यो क्षेत्र छोडिदिऊँ जस्तो लाग्दैन ?
– अहिले नै हार खान्नँ । म यो क्षेत्रमा लागेको धेरै पनि भएको छैन नि ।
० नायिका नै बन्नुपर्ने के छ र ? अब त विवाह गरेर घरजमतिर लागे पनि हुन्न र ?
– त्यसको पनि समय आइहाल्छ नि । किन हतार गर्नु बिहेका लागि ।

आर्यनलाई सुष्मा चाहिएपछि…
कहलिएको र राम्रो कलाकारसँग के-के गुण हुनुपर्छ ? सहजै जवाफ आउँछ- आफ्नो क्षेत्र र पेसाप्रति इमानदारिता अनि सहकर्मीहरूसँगको व्यवहारमा स्पष्टता र आफ्नोपन । हुनुपर्ने त यही हो । तर, कहलिएकै कलाकारहरूबाट माथिको नभएर अन्य गलत व्यवहार हुन्छ भने त्यस्ता कलाकारलाई के भन्ने ? पेसाप्रति इमानदार नभएको अनि आफ्नो क्षेत्रप्रति माया र सम्मान गर्न नसक्ने त्यस्ता कलाकारको यात्रा पनि लामो नहुने निश्चित छ ।
नाम र दामको उचाइसम्म पुग्दा पनि आफ्नो व्यवहार र आचरण नसुर्धादा यतिबेला नायक आर्यन सिग्देल निकै आलोचित बन्न पुगेका छन् । पीडित चलचित्र निर्माताका अनुसार आर्यन सियो भएर छिर्दा रहेछन् र हात्ती भएर निस्कन खोज्दा रहेछन् । यो कुराको ज्वलन्त उदाहरण पेस गरेका चलचित्र ‘ब्ल्याकमेल’का निर्माता शरद अधिकारीले यसरी लगाए बेलिबिस्तार-
नायक आर्यल सिग्देलको क्रेज र बजार बुझेर नै हामीले उसलाई चलचित्र ‘ब्ल्याकमेल’मा उसले भनेकै रकम ६ लाखमा सम्झौता गर्यौँ । तीन लाख सुरुमा नै दिइयो । उसले शिवम अधिकारीको स्क्रिप्ट दुईपटक पढेर सम्झौता गरेको थियो । हरेक सिटिङमा बस्दा उसलाई एक बोटल ब्ल्याकलेवल चाहिने रहेछ । १०-१५ दिनसम्म बस्दा उसको लागि मात्र २० हजारभन्दा बढी खर्च गरियो होला ।
जब-जब सुटिङको समय आउन लाग्यो तबतब आर्यनले सर्तमाथि सर्त राख्न थाले । चलचित्र लेखक शिवम अधिकारीको कथा दुईपटक पढेर सम्झौता गरेका आर्यनले लेखक हटाउनुपर्यो भने । मैले सम्झौता गरिसकेकी नायिका निशा अधिकारीलाई पनि उसले भनेर हटाएँ । सम्झौता गरिसकेपछि आर्यनले रेखा थापा, जीवन लुइँटेल, आयुष रिजाल र विराज भट्ट हुनुहुन्न भन्न थाले । हुँदाहुँदा त पछि मेरो निर्देशक मधुसूदन भट्टराईलाई पनि हटाएर सुदर्शन थापा राख्न पो दबाब दिए । नायिकामा अरूलाई हटाएर सुष्मा कार्की उनको रोजाइ थियो । प्रोडक्सनमा सुरज आचार्य राख्ने भए फिल्म खेल्छु नत्र खेल्दिनँ भनेर मजस्तो नयाँ निर्मातालाई मुर्गा ठान्ने आर्यनलाई उल्टै मैले ‘ब्ल्याकमेल’बाट निकालेँ । सर्तमाथि सर्त राख्न थालेपछि आर्यनको सबै कुरा मान्न थाल्यो भने यसले डुबाउँछ भन्ने सोचेर मैले उसलाई निकालेर जीवन लुइँटेललाई नायकको रूपमा अनुबन्धित गरेँ । असोज महिनादेखि ब्ल्याकमेलको सुटिङ सुरु हुन्छ ।
म निर्माता साथीहरूलाई के भन्छु भने आर्यन सिग्देल भन्ने हिरो नाम मात्रको हिरो रहेछ । काम र व्यवहार त जिरो नै रहेछ । उसलाई निकालेर मैले ठीकै गरेँ । यदि उसको सर्त मान्दै गएको भए म डुब्ने रहेछु । उदाहरण हेर्ने हो भने अहिलेसम्म आर्यन कुनै पनि ब्यानरमा दोहोरिएको छैन र उसको फिल्मले लगानीसमेत उठाउन सकेको छैन । उसले खेलेको फिल्मको लगानी किन एक करोडभन्दा माथि पुग्छ भन्ने कुरा र्छलङ्ग भएको छ । सिनेमा उद्योगलाई माथि उठाउन होइन निर्माता डुबाउन आएका हुन् आर्यन । यो कुरा सबैलाई चेतना भया । उसका लागि हरेक दिन एउटा ब्ल्याकलेवल र छुट्टै होटलको पनि व्यवस्था गर्नुपर्नेजस्ता गलत संस्कारबाट अब अरू निर्माता पनि जोगिनुपर्छ । म के भन्छु भने आर्यन सिग्देललाई लिनुभयो भने तपाईंहरू डुब्नुहुन्छ । त्यसैले उसको पछि लागेर हिँड्नु भनेको आर्थिक रूपमा डुब्नु हो ।

महानायक प्रचारमा
कलाकारिता क्षेत्रमा प्रवेश गरेको करिब दुई दशकभन्दा लामो समयपछि आएर मात्र अहिले नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमालको नाममाथि सिनेमा निर्माण भएको छ । हमालको नाममाथि निर्माण भएको सिनेमा मेरो राजेश दाइ भदौ १६ देखि काठमाडौंबाहिरबाट प्रदर्शनमा आउने भएको छ । सन्देश बराइली र अर्जुन केसीको निर्माण रहेको चलचित्र मेरो राजेश दाइलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।
सयौँ चलचित्रमा अभिनय गरिसकेका नायक राजेश हमाल पनि चलचित्र मेरो राजेश दाइबाट निकै उत्साहित रहेका छन् । ‘यो मेरो नाममाथि जोडिएको चलचित्र हो, अन्य चलचित्रको अनुपातमा यो चलचित्रप्रति मेरो जिम्मेवारी अलि बढी नै छ,’ यसै चलचित्रको क्यासेट विमोचनमा नायक हमालले भने । आफूले निर्माण गरेको चलचित्रप्रति आफ्नो नायकले प्रचारप्रसारका लागि रामै्रसँग समय दिएकाले पनि यसको निर्माण पक्ष नायक हमालप्रति आभार व्यक्त गर्दछ । ‘उहाँको साथ पाएपछि हामीमा झनै जोस थपिएको छ । पहिले त उहाँले आफ्नो नाममाथि सिनेमा बनाउन हामीलाई स्वीकृति दिनु नै हाम्रा लागि गोल्डेन अफर थियो,’ निर्माण अर्जुन केसीको भनाइ थियो ।
चलचित्र मेरो राजेश दाइको प्रचारप्रसारमा निकै लागिपरेका नायक राजेश हमालको यो व्यवहार देखेर अन्य निर्माताहरू पनि छक्क परेका छन् । ‘आफ्नो सिनेमाको मुहूर्तसम्ममा पनि नआउने हमाल प्रचारप्रसारमै हिँड्नु गजबको कुरा हो,’ उनीहरूको भनाइ छ ।

साताका दुवै फ्लप
गतिलो प्रचारप्रसारको अभावमा यतिबेला केही चलचित्रहरू प्रदर्शनमा आए तापनि आर्थिक मारमा परेका छन् । गत हप्ता प्रदर्शनमा आएको एउटा चलचित्र ‘हात लाग्यो शून्य’ नामजस्तै हात लाग्यो शून्य नै भएको छ ।
काठमाडौंबाहिरबाट प्रदर्शनमा ल्याइएको यो चलचित्रमा राजेश हमाललाई कमेडी भूमिकामा प्रस्तुत गरिएको थियो तर राजेशलाई त्यो भूमिकामा दर्शकहरूले रुचाएनन् । उता अर्को चलचित्र ‘द मोस्ट वान्टेड’को हालत पनि त्यस्तै भइदियो । चलचित्र कहिलेदेखि लाग्यो अनि कहिले उत्रियो ? कसैले पनि पत्तो पाउनै सकेनन् । निखिलको फिल्म नचलिरहेको अवस्थामा आएको मोस्ट वान्टेडले खासै करामत देखाउन सकेन । यसरी एकै हप्ता दुईवटा चलचित्र व्यावसायिक रूपमा असफल भएपछि कलाकारको भीड राखेर मात्र चलचित्र चल्दैन भन्ने कुरा प्रमाणित भएको छ ।

थिरजको कलियुग बजारमा
सङ्गीतकार थिरज राईद्वारा सङ्गीतबद्ध आधुनिक गीतहरूको सङ्ग्रह कलियुग गीति एल्बमको सोमबार राजधानीको प्रज्ञा-प्रतिष्ठानमा विमोचन गरिएको छ ।
सङ्गीतकार राई र गायिका सुनिता राईको संयुक्त स्वरमा समेटिएको सो एल्बमको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले विमोचन गरे । विमोचनपछि बोल्दै गुरुङले नेपाली धर्म, संस्कृति र भाषाको संरक्षणका लागि गीत-सङ्गीत र कलाको माध्यम आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गीतकार तथा साहित्यकार प्रकाश सायमीले गीति एल्बमबारे समीक्षा गरेका थिए भने सेलरोटी डटकमका दीपेन्द्र शाक्य, एल्बमको उत्पादक परिसिने म्युजिक सेन्टरका प्रोप्राइटर भुवन सुप्तिहाङ, सङ्गीतकार चन्द्रकुमार दोङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इलामको लक्ष्मीपुरमा जन्मिएका गायक तथा सङ्गीतकार थिरजको यो दोस्रो गीति एल्बम हो । यसअघि उनले ०६४ मा अघिपछि बजारमा ल्याएका थिए । १२ वर्षदेखि सङ्गीतमा साधनारत राईले दुई सयवटा भजन, करिब ८० वटा आधुनिक गीतमा सङ्गीत दिएका छन् । कार्यक्रममा दुईवटा गीतको म्युजिक भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता गीतकार बुद्धवीर लामाले गरेका थिए ।
-फणीन्द्र संगम

वैज्ञानिक आख्यानको प्रयोग जिरो कटेज
नेपाली साहित्यका क्षेत्रमा हालका दिनमा थुप्रै प्रयोग भइरहेको देख्न सकिन्छ । र, विडम्बना पनि कस्तो भने प्रायः प्रयोग पहिलो ? नेपालका लागि) भइदिन्छन् । साइबर संसार तथा विज्ञानको सम्मिश्रण रहेको आख्यानात्मक कृति ‘जिरो कटेज’ यस्तै रूपमा पहिलो बन्दै देखापरेको छ ।
नेपाली आख्यानहरूमा एकदमै कम स्रष्टाहरूले रोज्ने विषय हो- विज्ञान । त्यसमा पनि साइबरसँग सम्बन्धित उत्तरआधुनिक वैज्ञानिक चिन्तन बोकेको साहित्य त छँदै छैन भन्दा पनि हुन्छ । यस परिस्थितिमा ‘जिरो कटेज’ केही सम्भावना बोक्दै उदाएको छ । यसका स्रष्टा हुन् टंक चौलागार्इं ।
‘जिरो कटेज’ विकास र प्रविधिको गलत प्रयोगका कारण पृथ्वीमा देखिएको प्रदूषणको पराकाष्ठाको कल्पना हो । औद्योगिकीरणको आडमा उत्सरि्जत तथा विश्व वातावरणलाई बन्दी बनाउने उत्कण्ठा बोकेका भाइरसको सञ्जाल एकातिर छ भने अर्कोतिर प्रदूषणमुक्त पृथ्वीको सपना बोकेका डा. डिक्स तथा उनका सहयोगी छन् । डा. डिक्स ‘जिरो कटेज’ स्थापना गर्छन् जुन विश्वभरिका वैज्ञानिक कार्यहरूको केन्द्रबिन्दु हो । यो अति सुरक्षित तथा अत्यन्तै गोप्य ढङ्गले तयार पारिएको वैज्ञानिक कार्यशाला हो जहाँ विभिन्न मानपयोगी ‘हार्डवेयर’ तथा ‘सफ्टवेयर’को निर्माण गरिन्छ । यसै कटेजले विश्व-वातावरणको सुरक्षाको जिम्मा लिएको छ । साथै यस कटेजलाई विश्वका प्रायः देशहरूले सहयोग गरिरहेका छन् । संसारकै सबैभन्दा सुरक्षित मानिएको ‘जिरो कटेज’को सुरक्षा प्रणाली पनि प्रदूषणयुक्त भाइरसको आक्रमणबाट बच्न सक्दैन । र, अन्तमा आख्यान वर्तमानमा देखिएको नकारात्मक विकासको दृष्टान्त प्रस्तुत गर्दै समाप्त हुन्छ ।
विज्ञान विधा र विषय दुवैका रूपमा जटिल हुन्छ । यसलाई छुने हिम्मत जोकोहीले गर्न सक्दैन । यसका लागि चौलागाइंको प्रयास बधाईयोग्य छ । यस कृतिको उपस्थितिले नेपाली साहित्यलाई अलिकति धनी पक्कै बनाउला । तर, गाह्रो विषय छान्दा हुनुपर्ने गृहकार्यको अभाव यस उपन्यासमा प्रचुर मात्रामा देखिएको छ । यसले विज्ञान विधामा रुचि राख्ने पाठकमा नैराश्य प्रदान गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । अझ अनगिन्ती रूपमा देखिएका भाषगत त्रुटि हेर्दा सम्पादकद्वयले पाण्डुलिपि पढिदिएकै भरमा सम्पादक हुने मौका पाएका हुन् कि भन्ने भान हुन्छ ।
आख्यानको बुनोटमा पर्याप्त योजनाको कमी देखिए तापनि यस पुस्तकको प्रकाशन भने योजनासम्मत ढङ्गले भएको हो । लेखक टंक चौलागाईं बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने कार्यमा उद्यत् छन् । कखरा प्रकाशनबाट प्रकाशित यस पुस्तकको सम्पूर्ण लाभांश बालबालिकाको छात्रवृत्तिमा लगाइने बताइएको छ । लेखकको यो कदम असाध्यै स्वागतयोग्य रहेको छ ।
सामाजिक कार्यले पे्ररित हुँदै आख्यान लेख्नु राम्रो कार्य त हुँदै हो । आख्यान पनि त्यस्तो विषय समेटेर जुन प्रायः कमैले समेट्छन् त्यो झन् उत्साहप्रद कुरा हो । तर, नयाँ काम हो भन्दैमा योजनाविहीन काम गर्दा भोकलागेका बेलामा पेट भर्ने त हो नि भन्दै भुसको खाजा खाएको जस्तो देखिनु भने हुँदैन । अन्यथा लेखक तथा प्रकाशकलाई नवीन कार्यका लागि बधाई ।-कृष्णदीप सिग्देल

झाँकी प्रदर्शन
नेपालमा प्रत्येक वर्ष मनाउने जीवन्त सांस्कृतिक ‘गाईजात्रा पर्व’ काठमाडौं उपत्यकाका तीन सहर र मोफसलका धनकुटा, धरान, भोजपुर, टक्सार, दाबाँबजार तथा पोखरा र डोटीमा समेत ठूलो उत्साह र उमङ्गका साथ सम्पन्न भएको छ । हाम्रा स्तम्भकार माधवप्रसाद श्रेष्ठले आफ्ना जीवनसाथी स्वर्गीय लक्ष्मी श्रेष्ठको स्मृतिमा दिवङ्गत आत्माको मुक्ति एवम् चिरशान्तिको कामना साथ करिव तीन सय वर्षअगाडि तत्कालीन भादगाउँ हालको भक्तपुरको नास्मना टोलबाट उहाँका पुर्खाहरू भोजपुर जिल्लास्थित ऐतिहासिक दाबाँबजारमा स्थापित हुनुभएको हुँदा भक्तपुरसँग भावनात्मक सम्बन्धका कारण नयाँबानेश्वरस्थित नीराजनविक्रम मार्गबाट सांस्कृतिक सहर भक्तपुरमा गई गाईजात्रा पर्वमा र्सार्थकता थप्नुभएको देखियो ।
अग्रपङ्क्तिमा भोजपुरको प्रतिनिधित्व गर्ने लाखे समूह, त्यसैगरी मोफसलमा ‘ठाकठुके’ भनिने विशेष पहिरनमा सजिएको नवयुवकको जत्था अनि स्वर्गीय लक्ष्मी श्रेष्ठका तस्बिरहरूले सजाइएको ‘साँपाह-तम्हाचा’सहितको भद्र महिला तथा पुरुषको ठूलो समूहले भक्तपुर सहरमा करिब पाँच घन्टा झाँकी प्रदर्शन गरेको थियो । दावाँली मिलन क्लबका सल्लाहकार तथा संरक्षक सदस्य एवम् दावाँली समाज काठमाडौंका पूर्वअध्यक्ष श्रेष्ठले उक्त पुनीत कार्यलाई सम्पन्न गर्न सहयोग पुर्याउने आफ्ना परिवारजन, नातागोता, मित्रवर्ग, यातायातका साधन उपलब्ध गराउने ‘नोवल एकेडेमी’, दावाँली समाज तथा दावाँली मिलन क्लब काठमाडौंका पदाधिकारीहरू, झाँकी बनाउन र प्रदर्शनको समयमा निरन्तर साथ रही सहयोग गर्नुहुने पुत्र रोशन श्रेष्ठका मित्रजन भक्तपुरका होनहार युवाहरू रवीन्द्र खरबुजा, राजेन्द्र कपाली, विनोदचरण दास र गौतम लासिवाप्रति समेत हार्दिक आभार व्यक्त गरेका छन् ।