‘पान्डाल’ भत्किँदा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते

‘पान्डाल’ भत्किँदा १४ जनाको मृत्यु, २५ गम्भीर घाइते


भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा आज (आइतबार) अपरान्ह एक धार्मिक कार्यक्रम आयोजन भइरहँदा एक्कासी हावासहित परेको वर्षाका कारण ‘पन्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा परेर २५ जना घाइते भएका एएनआईले जनाएको छ ।

धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर निम्तिएको दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय एक स्कुलको मैदानमा पण्डाल टाँगेर राम पूजा लगाइँदै गर्दा अचानक हावाहुरी चलेपछि कथा सुन्न भेला भएका भक्तालुजनमा हाहाकार मच्चिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक सभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना पनि गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर पेजमा प्रधानमन्त्री मोदीले भनेका छन्, ुबार्मरमा पान्डाल भत्केर दुःखद् घटना घटेको छ । यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु ।”

यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाले आफूलाई स्तव्ध बनाएको बताएका छन् ।