वार्ताको प्रस्ताव गरेको भनी अमेरिकाले झुटो बोलेको इरानको आरोप

वार्ताको प्रस्ताव गरेको भनी अमेरिकाले झुटो बोलेको इरानको आरोप


अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो रहेको उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिबन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

रौहानीले टेलिभिजनबाट गरिएको प्रत्यक्ष प्रशारणमा भने– ‘वार्ताका लागि आह्वान गरेको दाबी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वासिङ्टन वार्ता प्रस्ताव गरिएको भनेर झुटो बोलिरहेको छ ।’

अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले वासिङ्टनले इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको भन्ने भनाइप्रति लक्षित गर्दै मंगलबार रौहानीको उक्त प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दाबी पनि गरेका थिए ।

इरानी राष्ट्रपति रौहानीले प्रश्न गरे, ‘इरानी सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई कालो सूचीमा राख्ने इरानमाथि प्रतिबन्ध गर्ने अनि कसरी वार्ताको लागि ढोका खुला हुन्छ सबै सामु यो बिषय प्रष्ट हुनु जरूरी छ ।’

‘सियाको प्रार्थनागृह होसैनिया सर्वोच्च नेताको घर हो जुन सामान्य छ । हाम्रा देशका नेतासँग अन्य देशका नेतासँग जस्तो विदेशमा अर्बौको सम्पत्ति छैन । यसलाई रोकियोस्, जफत गरियोस् वा प्रतिबन्ध लगाइयोस् यसबाट इरानलाई कुनै फरक पर्दैन’ रौहानी को अभिव्यक्ति उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उनले थप प्रश्न उठाए– –विदेशमन्त्री विरूद्धको प्रतिबन्ध के का लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रो लागि राम्रो कुरा हो ।’

ज्ञातव्य छ, अमेरिकाले सोमबारदेखि लगु हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ ।