इरान अमेरिकासँग युद्ध चाहँदैन : राष्ट्रपति रौहानी

इरान अमेरिकासँग युद्ध चाहँदैन : राष्ट्रपति रौहानी


इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाहने बताएका छन् । उनले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइन्छ । ‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन,’ उनलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो ।

‘हामी कसैसँग पनि युद्ध चाहँदैनौँ, हामी अमेरिकासँग पनि चाहँदैनौँ,’ उनले भनेका छन् । उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेको फोनवार्तामा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोनवार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार गरेका छन् । उनका अभिव्यक्तिहरूबाट यी दुई देशबीच ठूलो तनाव रहेको थाहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बताउँछन् । इरानले हालै मात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ ।

आफ्नो देशको सिमानाको उल्लंघन गरी बिनाअनुमति आफ्नो भूमिमा प्रवेश गरेकाले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ । तर, इरानको यो भनाइ सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सिमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ ।

पछिल्लो समयमा अमेरिकी ट्यांकरहरूमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरूले अमेरिकी ट्यांकरहरूमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।