पछिल्ला बर्षहरुमा काठमाडौंमा घडेरीको मूल्य छोइनसक्नु छ । १० बर्षे माओवादी जनयुद्धको समयदेखि दिन दुगुना रात चौगुनाको दरले काठमाडौंमा जग्गाको मूल्य बढेको हो ।
सामान्य जागिर र कमाइबाट काठमाडौंमा घडेरी जोड्न सकिदैंन पनि । दिनदिनै बढ्दै गएको मूल्यका कारण उपत्यकाभित्रका जग्गाको किनबेच पनि सुस्त नै छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको महानगरपालिकाको जनाएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा महानगरले घडेरीको मूल्य सार्वजनिक भएको महागरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन् ।
महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । जुन मूल्य निकै महङ्गो छ । ५० लाखभन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको महानगरका एक कर्मचारीले बताए । उनका अनुसार न्युरोड, ठमेल, केशरमहल, हनुमानढोका, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, कमलादी, पुतलीसडक, भद्रकाली लगायतको मूल्य प्रतिआना ५० लाख निर्धारण गरेको छ । जुन सबैभन्दा महङ्गो मूल्य हो । यस्तै, नयाँबानेश्वर, विजुलीबजार थापाथली, त्रिपुरेशवर हुदै विष्णुमती पुलसम्म मूलसडकसँग जोडिएको जग्गा र बालकुमारी पुलदेखि कोटेशवर हुँदै तिनकुने मिनभवनको जग्ग प्रतिआना मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
उता, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्म, मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगलसम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको महानगरले जनाएको छ ।
यस्तै, कुनैपनि बाटोको पहुँच नपुगेको घडेरी प्रतिआना ४ लाख, गोरेटो बाटो भएको घडेरी प्रतिआना सात लाख र कच्ची मोटरबाटो भएको घडेरी १२ लाख रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको महागरपालिकाका प्रवक्ता डंगोल बताउँछन् । उनका अनुसार १३ लाख रुपैयाँ प्रतिआनामा सहायक पक्की सडकको घडेरी किनबेच गर्न सकिने महानगरको् भनाई छ । यस्तै, सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडक वरपरको घडेरी प्रतिआना १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ सिमानसम्को मुल सडकको घडेरी प्रतिआना १६ लाख, वडा नं. १५ अन्र्तगतको गोरेटोबाटोको घडेरी ९ लाख ५० हजार र सोही वडाको बाटो नभएको घडेरी सात लाख रुपैयाँ प्रतिआना निर्धारण गरिएको हो । उता, डिल्लीबजारदेखि पुतलीसडक जोड्ने ओरालो बाटो आसपासमा पनि प्रतिआना ३० लाख रुपैयाँमा किनबेच गर्न सकिने बताइएको छ । महानगरले निर्धारण गरेको मूल्याङ्कनकै आधारलाई मान्ने हो भने पनि यही मूल्य नै सामान्य परिवारका लागि असम्भव छ ।











प्रतिक्रिया