विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल


रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ ।

साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।

उक्त विमान धावनमार्गबाट करिब सय मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको विमानले धावनमार्गनजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

विमानका चालक दलका दुवै सदस्यको मृत्यु भए पनि विमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।