बाबुरामका खतराहरू -देवप्रकाश त्रिपाठी

बाबुरामका खतराहरू -देवप्रकाश त्रिपाठी


सङ्क्रमणकालको मौका पारेर विभिन्न आकार-प्रकारका मानिसलाई मन्त्री र प्रधानमन्त्री बनाउने खेल चलिरहँदा जनस्तरले पत्याएका नेता डा. बाबुराम भट्टराईको नाम सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चाको उत्कर्षमा छ । बाबुराममा देश चलाउन सक्ने योग्यता र क्षमता वास्तवमै कति छ त्यसको अहिले अनुमान र आशा मात्र गर्न सकिन्छ, तर बाबुराममाथि धेरैले आस्था राखेका छन् । आफ्नो पार्टीभित्र कमजोर र दुर्बल मानिने उहाँका समर्थक र शुभचिन्तकहरू बाहिर बढी देखिन्छन् । नेपालका अधिकांश राजनीतिकर्मीहरू आफ्नो दलभित्रका मात्र नेता हुनसकेका छन्, औंलामा गणना गर्न सकिने सीमित नेताका कोटिमा बाबुराम अग्रपङ्क्तिमा रहनुभएको बेलाबखतमा सञ्चारमाध्यमहरूले गर्ने र्सर्भेक्षणले देखाएको छ । धेरैजसो नेताहरू दलको भन्दा दलभित्र पनि गुटको अगुवाका रूपमा मात्र सङ्कुचित हुँदै गएका बेला एउटा पार्टी-विशेषका नेता बाबुरामप्रति देशका सबै विधा र विचारका मानिसले आस्था, विश्वास र भरोसा राख्नु सानो कुरा होइन । सबैथरी या धेरैथरीको विश्वास जित्न सक्ने राजनेताको अभाव खटि्कएको यो समयमा बाबुरामले आर्जन गरेको ख्यातिलाई राजनीतिक वृत्तकै पुँजीको रूपमा वर्णन गर्न सकिन्छ । यस अर्थमा विश्वासयोग्य नेता पाउनु देशका लागि पनि उपलब्धि नै हो र माओवादी पार्टीका निम्ति त यो गौरव र खुसीकै विषय हुनुपर्ने हो । तर, बाबुराम देशमा जति प्रिय हुनुहुन्छ, आफ्नो पार्टीमा त्यति नै अप्रिय । प्रचण्डको तानाशाही र अधिनायकवादी कार्यशैलीका विरुद्ध लड्न विपरीत विचारका मोहन वैद्य किरणसँग मोर्चाबन्दी गर्न विवश हुनुले पनि पार्टीभित्र बाबुरामको स्थितिको मापन गरेको छ । माओवादी पार्टीले औपचारिक निर्णय गरेर भावी प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईको नाम सार्वजनिक गरिसकेको छ र प्रचण्ड स्वयम्ले पनि पटक-पटक उहाँलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता प्रकट गरिरहनुभएको छ । तथापि मानिसहरू प्रचण्डले उहाँलाई प्रधानमन्त्री बन्न मनैदेखि सघाउनुहुनेछ भन्नेमा विश्वास गर्दैनन् । प्राविधिक रूपले कमजोर भएका कारण प्रचण्डले रोक्न सक्नुभएन र बाबुराम प्रधानमन्त्री भइहाल्नुभएछ भने पनि उहाँलाई सफल हुन दिनेमा चाहिँ किञ्चित विश्वास गरिँदैन । सकेसम्म रूखमा चढ्नै नदिने, चढिहाल्नुभएछ बाबुराम भने फेदै ढालिदिने चाल प्रचण्डले चल्नुहुनेछ भन्ने आमविश्वास रहेको छ । बाबुरामका निम्ति पहिलो खतरा यही नै हो भन्न सकिन्छ ।
बाबुराम भट्टराईको दोस्रो खतरा पनि कम्ती गम्भीर छैन । उहाँको छवि एक विद्वान्, ज्ञानी, इमानदार, देशभक्त, प्रजातान्त्रिक, दूरदर्शी र सात्विक व्यक्तिका रूपमा बनेको छ । यही कारण जनताले बाबुरामबाट धेरै ठूलो अपेक्षा राखेका छन् । यति अपेक्षा राखेका छन् कि बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभयो भने देशका सबैखाले समस्या जादुगरी शैलीमा समाधान हुने विश्वास जनस्तरको छ । जब कि दशकौंदेखि जमेर रहेको समस्याको समाधान केही महिनाका निम्ति बाबुराम होइन साक्षात् राम नै सरकारको नेतृत्वमा प्रकट भए पनि असम्भव छ । तर, जनताको आशा र मानसिकता यति ‘तेज’ छ कि कुनै पनि कारण या बहानालाई आधार बनाएर कसैलाई क्षमा गर्ने स्थिति देखिँदैन । जसमाथि धेरै अपेक्षा राखिएको हुन्छ उसले केही गरे पनि कम देखिन्छ । गोकर्ण विष्टबाट पहिले जनताले कुनै ठोस अपेक्षा राखेका थिएनन्, तर मन्त्री भएपछि उनले केही गरे, जनताले धेरै नै गरेको ठानेर उनको उच्च मूल्याङ्कन गरेका छन् । तर, बाबुराम भट्टराईको सवालमा विष्टको भन्दा स्थिति ठीक उल्टो छ, कति गर्न सकिन्छ या कति गर्न सक्नुहुन्छ भन्ने थाहा छैन, धेरै नै गर्नुहुन्छ भन्ने विश्वास सबैले गरेका छन् । यसप्रकारको विश्वास र भरोसाका बीच काम गर्नु बाबुरामका निम्ति धेरै ठूलो चुनौतीको विषय हो, त्यसकारण उहाँका निम्ति यही जनआशा नै अर्को खतरा बन्न सक्ने देखिएको छ ।
उल्लिखित दुईबाहेक अर्को एउटा गम्भीर चुनौती बाबुरामका अघिल्तिर छ । माओवादी पार्टीको संस्थापन क्रान्ति-प्रक्रियामा छ र आफ्ना कार्यकर्तालाई आफूहरू अझै क्रान्ति-प्रक्रियामा रहेको विश्वास नेतृत्वले दिलाएको पनि छ । जब कि माओवादीबाहिरको विश्वले बाबुराम प्रधानमन्त्री भएमा शान्तिप्रक्रियाले पूर्णता पाउने र देश समृद्धिको शिखरतर्फ बढ्ने आशा राखेको छ । बाबुरामको भूमिका शान्तिप्रक्रियालाई पूर्णता दिने किसिमको भयो भने उहाँको पार्टी नै सबभन्दा ठूलो अड्चन बनेर प्रकट हुने सम्भावना छ । यदि उहाँ पनि ‘अरूहरू’झैं क्रान्ति-प्रक्रियामै केन्द्रित हुन थाल्नुभयो भने माओवादीबाहिरको विश्वले उहाँलाई स्वीकार गर्न कदापि सम्भव छैन । प्रचण्डले झैं आधी शान्तिको र आधी क्रान्तिको कुरा गरेर मान्छेलाई भ्रम र अलमलमा राख्न सक्ने क्षमता बाबुराममा देखिँदैन, कदाचित उहाँले प्रचण्डलाई नै पछ्याउनुभयो भने उहाँ क्रान्ति र शान्तिको दुवै मोर्चामा सफल हुनुहुने विश्वास गर्न सकिँदैन । प्रचण्डजस्तै एक असफल नेताको रूपमा उहाँको नयाँ पहिचान स्थापित हुनेछ । बाबुरामका निम्ति सर्वाधिक ठूलो खतराको विषय सम्भवतः यो नै बन्नेछ ।
पहिले अर्थमन्त्री बन्नुहुँदा बाबुराम भट्टराई आफ्नो विभागीय काममा पूर्णरूपेण केन्द्रित रहनुभयो । अरू मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका समस्या र समाधानका काम गर्न छोडेर फाल्तु विषयमा भाषणबाजी गर्दै समय काटिरहेका बेला बाबुरामले आफूलाई मन्त्रालयको काममा केन्द्रित गर्नुलाई सबैले प्रशंसनीय ठाने । अर्थजस्तो मन्त्रालयमा नौ महिनासम्म रहँदा पनि कुनै दाग लाग्ने काम उहाँबाट नहुनु र बाहिरिँदा ‘निर्मल-कञ्चन’ निस्कन सक्नुले उहाँको इमानदारी अब्बल दर्जाको रहेको प्रमाणित गर्यो । राजस्व वृद्धिमा उहाँले पुर्याउनुभएको योगदानलाई पनि जनताले अत्यन्त महत्त्वपूर्ण माने । तर, मन्त्रीका रूपमा एउटा योग्य, इमानदार र सक्षम मानिसलाई सफल हुन जति सजिलो हुनसक्छ प्रधानमन्त्रीका रूपमा त्यति नै कठिन । कुनै एउटा मात्र विधामा ध्यान केन्द्रित गरेर कुनै पनि प्रधानमन्त्री सफल हुन सक्दैन । हरेक क्षेत्र समस्याग्रस्त बनेको यस मुलुकमा दशवटा काम राम्रो भयो र दुईवटा मात्र बिग्रियो या सुधार हुन सकेन भने मानिसको ध्यान सुध्रिएको दश कामले भन्दा बिग्रिएको दुईवटाले आकरि्षत गर्छ । हाम्रोजस्तो नकारात्मक सोच र प्रवृत्ति हावी भएको मुलुकमा यसप्रकारको समस्या झनै बढी देखिन्छ । अर्थ मन्त्रालयमा राजस्व वृद्धि गर्न सक्नु मात्रलाई एउटा ठूलो उपलब्धि मान्न सकिन्थ्यो भने प्रधानमन्त्री कार्यालयको दायित्व राजस्व उठाउने मात्र होइन उद्यमी-व्यवसायीहरूलाई राजस्व बुझाउन सक्ने हैसियतमा पुर्याउनु पनि हो । शान्तिप्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्याउनु, लडाकु व्यवस्थापन गर्नु, संविधान निर्माणको निम्ति उपयुक्त वातावरण बनाउनु, समाजमा पन्पिएको अराजकतालाई नियन्त्रण गरी अनुशासनको दायरामा ल्याउनु, आपराधिक गतिविधिलाई नियन्त्रित गनर्ुर्ुुविकास निर्माणको काममा गति पैदा गर्नु, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउनु, आर्थिक गतिविधि बर्ढाई रोजगारी सिर्जना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु र दैनिक जनजीवन सहज र सरल तुल्याउनु नेपालमा प्रधानमन्त्री बन्ने व्यक्तिका चुनौती हुन्, त्यर्सथ प्रधानमन्त्री बन्न सकेको अवस्थामा डा. बाबुराम भट्टराईले पनि उपरोक्त चुनौतीको सामना गर्नुपर्नेछ । यसप्रकारका बग्रेल्ती समस्याको समाधानमा बाबुराम भट्टराई कहीँ चुक्नुभयो या असफल हुनुभयो भने उहाँको छविमा त धक्का लाग्ने नै छ, जनतामा निराशा पनि त्यत्तिकै बढ्ने निश्चित छ । सबैभन्दा आशा गरिएका व्यक्ति नै असफल भएको अवस्थामा उत्पन्न हुने निराशाले मानिसको लोकतन्त्रप्रतिको आस्था नै समाप्त गर्न सक्दछ- बाबुराम भट्टराईका निम्ति अर्को एउटा, तर मुख्य खतरा यो पनि हो । त्यसैले प्रधानमन्त्रीको दौडमा सरिक हुनुअघि उल्लिखित विषयहरूमा विचार-विमर्श गर्नुपर्ने पो हो कि ? बाबुरामजीलाई यही सुझाव गरिन्छ ।