भवनमा बिमान ठोक्किँदा दुई पाइलटको मृत्यु, ४३ जना यात्रु सकुशल

भवनमा बिमान ठोक्किँदा दुई पाइलटको मृत्यु, ४३ जना यात्रु सकुशल


रुसको साइबेरियामा अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

साइबेरियाको निझनियनगास्रक विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा आज (बिहीबार) बिमान दुर्घटनाग्रस्त भएको हो । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको र दुर्घटनामा परेपछि धावनमार्गबाट करिव सय मिटर टाढा उछिट्टिएको एएफपीले जनाएको छ। ।

आपतकालीन अवतरण गरेको विमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो । बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।