शारडा ग्रुपद्वारा यसरी ठगिइन् रजनी

शारडा ग्रुपद्वारा यसरी ठगिइन् रजनी


आफ्नो पतिले भनिसकेपछि नेपाली नारीहरू त्यसको अवज्ञा गर्न सक्दैनन्, त्यसैले रजनी पनेरुले पनि पतिले ल्याएको कागजमा भनेबमोजिम दस्तखत र ल्याप्चे सहिछाप गरिदिइन् । पति भीमप्रसाद पोखरेल सन्दीपकुमार शारडाको कम्पनी पायनियर कार्पेट इण्डष्ट्रिजमा काम गर्थे । शारडा ग्रुपअन्तर्गतको उक्त इण्डष्ट्री महाराजगञ्जमा रहेको थियो । पोखरेलले मार्केटिङ र सेल्सको काम हेर्ने गर्दथे ।

दन्दीपकुमार शारडा र श्रवणकुमार गोयलले बालुवाटारस्थित सरकारी जमिन खरिद गर्ने प्रयोजनका लागि खोलेको कम्पनी डीएफएल डेभलपर्स प्रा.लि. (थापाथली काठमाडौं)ले एउटै प्लटको २४ कित्ता जमिन (सय रोपनी जति) खरिद गरेको र सय रोपनीभन्दा बढी जमिनमा हदबन्दी लाग्ने भएकोले सन्दीपकुमार शारडाले आफ्नो कम्पनीमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा विश्वासप्राप्त भीमप्रसाद पोखरेलकी पत्नी रजनी पनेरुको नाममा कित्ता नं. ३९ र ४२ को ६ आना जग्गा राखेका थिए । त्यसरी रजनीको नाममा जमिन राखिएको केही वर्षपछि भीम पोखरेलले शारडा ग्रुपको जागिर छोडिदिए । पोखरेलले कम्पनीमा काम छोडेपछि रजनीको नाममा राखिएको जग्गा शारडा ग्रुपका सन्दीपकुमार शारडाको साझेदार कैलाशचन्द्र गोयलकी श्रीमती निर्मलादेवी गोयलको नाममा रजिष्ट्रेसन पास गरेर फिर्ता लिइएको थियो ।

रजनी आफ्नै नाममा आएको र आफूबाट गएको जमिनका बारेमा पूर्ण अनभिज्ञ थिइन् । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जमिन घोटाला प्रकरणमा संलग्न ठानिएका व्यक्तिहरूलाई ‘केही बुझ्नुपर्ने भएकोले सात दिनभित्र उपस्थित हुन’ भन्दै असार ११ गते सातदिने समय–सीमासहित सार्वजनिक गरिएको सूचनामा रजनीको पनि नाम आएको छ । यसरी आफ्नो नाम गोरखापत्रमा सार्वजनिक भएको जानकारी साथीहरूले टेलिफोन गरेपछि मात्र थाहा पाएकी रजनी अब के गर्ने भन्दै बिलखबन्दमा परेकी छिन् ।

शारडा ग्रुपका मालिकहरू आफ्नै बचाउ कसरी गर्ने भन्नेमा लागेको पाइएको छ र उनीहरूले भीम पोखरेल र रजनीसँग भेट गर्न पनि चाहिरहेका छैनन् । शिवम् सिमेन्ट, रमपम चाउचाउ, निसान मोटरलगायतको मालिक रहेका शिवरतन शारडा (जो जर्जियाका लागि वाणिज्यदूत पनि छन्) का जेठा छोरा सन्दिपकुमार शारडा हुन् ।

मारवाडी समुदायभित्र प्रतिष्ठित मानिने शारडा ग्रुप सरकारी जमिन खरिद प्रकरणमा मुछिएपछि उनीहरूको सक्कली रूप सार्वजनिक हुन पुगेको छ ।